मलद्वारका रोगहरुको कारण र समाधान

डा. सतिश कुमार यादव
(बी. ए. एम. एस. पि. जि. डि. पि.)-

एनोरेक्टल रोगहरु भन्नाले व्यक्तिको गुदप्रदेश वा मलद्वार एवं यसको नजिकको स्थानमा हुनसक्ने रोगहरुलाई बुझाउँछ । यस अन्तर्गत थुप्रै रोगहरु पर्दछन् तर सामान्यजसो पाइल्स (बावासिर), फिस्टुला, फिसर , पोलिप्स , एब्सेस , प्रोक्टाल्जिया फ्युगेक्स आदी रोगहरु बढी भेटिने गर्दछन । यसका साथ–साथै गुदप्रदेशको क्यान्सर जस्तो भयावह रोग हुनसक्ने सम्भावना पनि उत्तिकै हुन्छ । यि सम्पूर्ण रोगहरु जसमा मलद्वार र यसको नजिकको स्थानमा मुख्य रुपले समस्या ल्याउछ ति सबै रोगहरुलाई एउटै शब्दमा एनोरेक्टल डिजिजेज भन्ने गरिन्छ । व्यक्तिहरुमा यि रोगहरु व्यापक रुपमा बढ्दै गैरहेको पाइन्छ, यसको प्रमुख कारण के हो र यि रोगहरुबाट कसरी बच्न सकिन्छ यसको बारेमा सबैले बुझ्नु आवश्यक छ ।

नेपालमा एनोरेक्टल रोगहरुको सही तथ्याङ्क उपलब्ध छैन । यसका धेरै कारणहरु हुन सक्छन् । मलद्वार एक गोप्य अङ्ग भएकोले लाज मान्नु र चिकित्सिय परामर्श नलिनु , क्यान्सर नै हो कि भन्ने मानसिकताले गोप्य राख्न खोज्नु तथा यसका साथ–साथै गरिब अर्थतन्त्र भएको देश हुनु आदि प्रमुख कारणहरु हुनसक्छन् । समग्र मा हेर्ने हो भने चिकित्सा लिन आउने बिमारीहरु मध्ये करिब ६०५ बिमारीहरु पेट सम्वन्धी समस्याहरु लिएर आउने गर्छन् र यसको करीब ६०५ बिरामीहरु एनोरेक्टल रोगहरुले ग्रसित भएको पाइन्छ । अर्थात कूल बिरामीको करिब ४०५ रोगी एनोरेक्टल रोगले ग्रसित छन् र यो संख्या निरन्तर बढ्दै गएको पाइन्छ ।

एनोरेक्टल रोगहरुको लक्षण तथा चिन्ह रोगानुसार फरक–फरक हुन्छ । साथै चिकित्सा पनि फरक–फरक । त्यसैले समयमै सम्वन्धित चिकित्सकसङ्ग परामर्श लिएर उपचार थालेमा रोग जटिल हुन पाउदैन । दिसा गर्दा मलद्वार दुख्ने, दिसा गरेपछि रगत आउने, मासुको डल्लो मलद्वार बाहिर आउने वा बाहिर नै रहि रहने प्रमुख लक्षणहरु पाइल्स (बावासिर) रोगमा देखिन्छ । त्यस्तै दिसा गर्दा अत्यन्त पीडाका साथ पोल्ने भएमा, रगत आएमा विशेष रुपले फिसर रोग हुन सक्छन् । त्यस्तै मलद्वार वरिपरी वा भित्र स–साना खटिरा वा घाउ जस्तो भएमा, त्यसबाट पिप आएमा, चिलाउने भएमा, साह्रोपना महशुस भएमा फिस्टुला रोग हुन सक्ने सम्भावना रहेको हुन्छ ।

यसप्रकार रोगअनुसार लक्षणहरु फरक हुन्छन् जसलाई चिकित्सकले सम्यक जाँच वा परिक्षण गर्नुपर्ने आवश्यक हुन्छ । जाँच गरेर मात्र रोगको प्रकृित थाहा पाउन सकिन्छ अनि मात्र त्यसको सफल उपचार सम्भव हुन्छ । त्यसैले पनि रोगलाई गोप्य राखिराख्ने मानसिकतालाई हटाएर यथासम्भव चाँडो चिकित्सकसंग परामर्श लिन आवश्यक देखिन्छ । माथी उल्लेखित लक्षणहरु कहिले काही अन्य सामान्य एनोरेक्टल रोगहरुमा पनि देखिने गर्छन् भने कहिले काही गुदमार्गको क्यान्सर जस्तो भयावह रोगमा पनि, त्यसैले यसको सम्यक परिक्षण अति आवश्यक मानिन्छ ।

व्यापकताका साथ उग्ररुप लिइरहेको एनोरेक्टल रोगहरुको कारणहरु थुप्रै छन् । रोगानुसार यसको प्याथोजिनेसिस (रोग लाग्ने प्रकृया) पनि फरक फरक छन् । तर समग्रमा हेर्दा सम्पूर्ण एनोरेक्टल रोगहरुको मूल कारणको स्वरूप एकै किसिमको अवगत हुन्छ । उदाहरणस्वरुप पाइल्सको महत्वपूर्ण कारणहरुमा कब्जियत हुनु (साह्रो वा कठिन दिसा हुनु) , उमेर ढल्दै जानु, आनुवांशिक तथा गर्भवती हुनु (महिलामा) आदी कारणहरु पर्दछन् । कब्जियतले मलद्वारभित्र रहेका रगतका नलीहरुमा चाप पैदा गरी मासुको डल्लाको रुपमा बाहिर निस्कने वा रगत आउने गराउँछ । मानिसको उमेर ढल्दै जादा मलद्वारको भित्ता कमजोर हुँदै जान्छ र यसले एनोरेक्टल रोग गराउन सक्छ ।

कुनै कुनै व्यक्तिमा आनुवांशिक रुपमा नै मलद्वारको रगत नली को भित्ता कमजोर हुन्छन् र पाइल्स जस्ता रोगहरु उत्पन्न गराउन सक्छन् । त्यस्तै गर्भवती भएको महिलाको गुदद्वारमा बच्चाको चाप तथा हर्मोनको प्रभावले मलद्वारको रगतनलीका भित्ता कमजोर भई पाइल्स आदी एनोरेक्टल रोगहरु गराउन सक्छन् । यसका अतिरिक्त प्रत्यक्ष एवं परोक्ष रुपमा अन्य थुप्रै कारणहरुले एनोरेक्टल रोगहरु उत्पन्न गराउन सक्छन् ।

एनोरेक्टल रोग उत्पन्न गराउने सम्पूर्ण कारणहरुलाई विश्लेषण गर्दा सबैभन्दा महत्वपूर्ण कारण सामने आउछ हाम्रो अनुचित एवं मिथ्या आहार–विहार । वास्तवमा हाम्रो आहार–विहारको स्तर एउटा पशु भन्दा पनि तल खस्किसकेको साबित हुन्छ । यो कुरा हामी आफैले नै इमान्दारिताका साथ मुल्यांकन गर्नु आवश्यक छ । हाम्रो आहार वास्तवमा आहार नभएर स्वाद लोभले प्रेरित असंख्य रोगहरु उत्पन्न गराउने विष अवगत हुन्छ । चिल्लो, पिरो, भुटेको, ड्राइफुड्स , कोल्डड्रन्क्स एवं अत्याधिक मदिरा, मसालेदार माछा मासु, निरन्तर दही एवं मासको दालको प्रयोग, यसका साथ–साथै थुप्रै विरुद्ध आहार गर्ने बानी व्यक्तिहरुको एउटा फेसन नै भैसकेको यथार्थ छ ।

यस्ता सम्पूर्ण भोजनहरुले समग्रमा पेटको समस्या एवं कब्जियत गराउछ जुन एनोरेक्टल रोगहरु गराउने महत्वपूर्ण कारणहरु मध्येको पनि महत्वपूर्ण कारण हो । त्यस्तै सुत्ने समय अवधीको अनिश्चितता हुनु, मानसिक तनावले ग्रस्त रहनु, शारीरिक रूपले निष्कृय रहनु वा व्यायाम नगर्नु जस्ता बानीले पनि यि रोगहरु उत्पन्न गराउने भूमिका खेलिरहेको हुन्छ ।

यी रोगहरुबाट बच्न व्यक्तिले केवल आफ्नो आहार–विहार प्रति चेतनशील भएर मात्र हुँदैन् बरु ति चेतनाहरुलाई व्यवहारमा लागु गर्नु पनि आवश्यक हुन्छ । एनोरेक्टल रोगहरुको लक्षण देखिनासाथ तुरुन्त योग्य चिकित्सकसंग लाज नमानिकन परामर्श लिनुपर्छ अनि मात्र भविश्यको सम्भावित जटिलताबाट बच्न सकिन्छ । चिकित्सकले रोगको अवस्था अनुसार केवल औषधी वा आयुर्वेदको प्रभावकारी क्षारसुत्र चिकित्साद्वारा यसलाई निर्मूल पार्न सक्छन् । माथी उल्लेखित सम्पूर्ण कारणहरुलाई मनन गरी ती सम्पूर्ण कारणहरु प्रती सजग भएर आफ्नो दिनचार्या (दैनिक कृयाकलाप) सुधार्न सके यी सम्पूर्ण एनोरेक्टल रोगहरुबाट बच्न सकिन्छ र यो नै वास्तवमा सामाधानको मुख्य बिन्दु हो ।

 [email protected]ail.com

(माता मनकामना आयुर्वेद , कोहलपुर मा कार्यरत)

Leave a Reply

Your email address will not be published. Required fields are marked *