अज्ञात रोग देखिएपछि विद्यालय बन्द

दार्चुला, साउन २७ । विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो। मङ्गलबार तीनजना छात्रा एक्कासि बेहोस भएकामा बुधबार १५ जनाजति छात्रा बेहोस भएको स्थानीयवासी अभिभावक दिनेश सिंहले जानकारी दिए।

एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्, उनले भने,‘छात्राहरुमा अनौठो प्रकारको रोग देखापरेपछि बुधबार विद्यालय बन्द गरिएको छ।’ छात्राहरुमा के कारणले त्यस्तो समस्या देखियो भन्ने थाहा हुन सकेको छैन।

यसैबीच, दार्चुला जिल्लाको खण्डेश्वरीमा रहेको खण्डेश्वरी उच्च मावि क्षति मार्मामा बुकमाण्डौँ नामक गैरसरकारी संस्थाले ५०० किताब हस्तान्तरण गरेको छ।

विभिन्न विषयका पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको खण्डेश्वरी उच्च माविका प्राचार्य करवीरसिंह बोहराले जानकारी दिए।

‘एक हात एक पुस्तक’ अभियानअन्तर्गत पुस्तक वितरण गरिएको बुकमाण्डौँका अध्यक्ष सुमन खतिवडाले जानकारी दिए। सुदूरपश्चिममा पहिलोपटक दार्चुलाको दुर्गम गाविसमा पुस्तक वितरण गरिएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.