सरकारी र निजी स्वास्थ्य सेवाः कति सहज कति असहज

13819645_1156755721033419_505022468_n

गणेश बिष्ट ‘सुमन’ जनस्वास्थ्यकर्मी –

बानेश्वर सिभिल अस्पताल छेऊ बस्दै गर्दा एक जना अपरिचित दाईसंग भेट भयो । सेतै फुलेका दाह्री, चटक्क मिलेको जिउडाल भएका ति दाजु मेरो बेञ्च नजिकै बस्नु भयो ।

“भाईले मलाई चिनेको हुनु पर्छ”। मैले मुन्टो हल्लाए संकेत दिए अहँ ।

“त्यसो भए नाम सुनेको हुनु पर्छ” । “अहँ” ।

“मेरो लेख पढेको हुनु पर्छ” । “अहँ” ।

पत्रिकाका स्तम्भहरूमा कहिलेकहिं लेख्ने गरेको शिवहरी अधिकारी भनेको मै हुँ । म नपढ्ने लाठेलाई के थाहा उनी एक स्तम्भकार हुन भनेर । २ घण्टा जतिको उनीसंगको बसाईलाई त्यति उपलब्धीपूर्ण नमाने पनि केही देश र जनता अनि उत्पादन र उत्पादनको उपयोगिताबारे उनले चुटेका गफहरूले केही सकारात्मक सन्देश दिदै थियो । घरि घरि सहनै नसकिने गफहरू दिन्थे “प्रचण्डलाई ४० बुँदे सुझाव त दिएकै हो नि, मानेनन् । सुझाव मानि दिएको भए त प्रचण्ड त प्रचण्ड नै हुन्थे नी । कृष्ण बहादुर महरालाई बाह्र बुँदे सुझाव दिएकै थिए ।

उनले पनि मानेनन् । प्रभाकर सधै फोन गर्थे, आज गरेका छैनन् । मन्त्री बने होलान्” जस्ता शब्दहरूले मलाई एकदम असह्य बनाउँदै थियो । गफमा साथ दिदै हुनु हुन्थ्यो साथी पदम जोशीले । हाम्रो भेटको संयोग जुराएको थियो शिबहरी दाईका छोरी र साथी पदमको श्रीमतिको प्रसब ब्यथाले । दुबै महिलाहरू प्रसव ब्यथामा छटपटाई रहेका थिए । दुखाईको सिमा कतिसम्म बढ्को थियो भने एउटाले सहनै नसकेर अप्रेसनमा जानु परेको थियो । यसै सम्दर्भमा पदम जोशीको एकै शब्दले मलाई तरङ्गीत बनायो । शब्द थियो “प्रसव ब्यथा हामीलाई के थाहा !” सबै हाँसे ।

पुरूष प्रधान समाजमा महिलालाई हुने प्रसव ब्यथाको पीडा पुरूष भएकै कारण महशुश नरेका होलान् । उहाँ जस्तै महिलाको प्रसव ब्यथाका बारे जानकारी नभएका धेरै पुरूषहरू समाजमा छन् । आज भन्दा १० बर्ष पहिला डडेल्धुरा जिल्लाका मष्टामाण्डौंमा एक दलित परिवारको महिलाले प्रसव ब्याथाकै बेला ज्यान गुमाएको मैले देखेको छु । कतिसम्म भने दलित पुरूषलाई प्रसव हुन नसके राम्रो ठाउँमा लैजाऊ भन्दा ‘मरोस बरू ! अर्को विहा गर्छु’ भन्ने जस्ता वाक्यहरू ति पीडित महिलाका आफ्नै कानहरूले सुनेका थिए रे । बच्चा जन्माउन पीडा सहन नसकेर आफ्नै पेटमा ढुङ्गाले हिर्काउथिन रे खेतका गरामा गएर । हेर्दा हेर्दै मृत्युवरण गरेकी ति महिलाको छटपटी त्यो पुरूषलाई के थाहा ? त्यसैले पनि होला पदम जीको भनाई आम पुरूष प्रतिनिधित्वले भन्ने शब्द हो “प्रसव ब्यथा, हामीलाई के थाहा !”

सिभिल अस्पतालमा छटपटिएका ति महिलाहरू जस्तै राज्यको स्वास्थ्य क्षेत्र पनि अहिले प्रसव पीडामा छटपटि रहेको छ । २४ गते सोमवार गोरखाबाट काठमाण्डौंका लागि उडेको हेलिकप्टर नुवाकोटमा दुर्धटना भयो । क्याप्टेन सहित ७ जनाको मृत्यु भयो । हेलिकप्टर गोरखा जानुको कारण थियो, सुत्केरी महिला र ५ दिने शिशुको स्वास्थ्य अवस्था नाजुक भएर ठूलो अस्पतालमा लैजानु पर्ने । १लाख ५० हजार ऋण काढेर हेलिकप्टरको भाडा तिरेर काठमाण्डौ गई उपचार गर्नु पर्ने बाध्यता । यो दुर्घटनामा स्वास्थ्यकर्मी नीसा तामाङ्गको समते मृत्यु भएको थियो ।

दुर्घटनाका कारण मौसम खराब नै हो तर यस्ले नेपाली समाजको स्वास्थ्य स्थितिको चित्र उजागर गरेको छ । मेरो दृष्टिकोणमा यो दुर्घटनाले नेपाली समाजलाई दुई सन्देश दिई रहेको छ । पहिलो, राज्यको निरिहपन । नेपाली समाज वास्तवमै गरिब र अभावबाट ग्रसित छ जहाँ आवश्यक सेवा सुविधा र वस्तुहरू भेट्टाउन गाह्रो छ । स्वास्थ्य सेवाहरू सम्पूर्ण रूपमा ग्रामिण भेकमा उपलब्ध हुने भए कर्जा खोजेर हेलिकप्टर चार्टर किन गर्नु पथ्र्यो ? राजधानीसंग नजिक भएको जिल्लाको हालत यस्तो छ भने अति दुर्गम हुम्ला वा बाजुराका हालत कस्तो होला । आफैं अनुमान लगाउन सकिन्छ । राज्य त अहिले सेवा सुविधाहरू दिनुको सट्टा निजी क्षेत्रलाई पक्ष पोषण गरेको जस्तो देखिन्छ ।

राजनीतिक नेताहरूको भनसुन भएमा सरकारी अस्पतालमा भर्ना हुने र नभए बेड खाली छैन प्राइभेटमा जाऊ भन्ने शब्दहरूले गरिब जनताको मन कति पोल्छ होला । केहि दिन अगाडी बिर अस्पतालमा नेफ्रोलाजी विभागमा डडेल्धुराका भीम बहादुर बोहराकी श्रीमती मनकला कार्कीले किड्नि डाइलोसिस् गर्नकै लागि भनेर पूर्व प्रधानमन्त्री माधव नेपालबाट भनसुन गराई भर्ना भएको घटना मेरो सामु सेलाएको छैन । एकातिर जनता सेवा र सुविधाहरू नपाएर मर्न विवस छन् भने अर्का तिर स्वास्थ्यकर्मीहरू जागिर वा सुविधा नपाएर आत्महत्यासम्म गर्न विवस छन् ।

छापामा आएका समाचारहरूलाई हर्ने हो भने डाक्टर पढ्न ५० लाख, डिप्लोमा कोर्स पढ्न १०लाख जति, टि एसएलसी कोर्ष पढ्न २लाख जति लाग्ने हो भने मध्यम वर्गिय र न्यून वर्गिय मानिसहरूले आफ्ना सन्तानहरूलाई कहिले पढाउन सक्ने ? अनि असुल गर्न कति समय कुर्नु पर्ने ? राज्यको चरित्र भनेको प्राविधक कलेजहरूलाई पालन पोषण गर्नका लागि नै भएको देखिन्छ । प्राविधिक क्षेत्रतिर जनशक्ति उत्पादन भई नै रहने, सेवा नपाई जनताहरू प्रताडित भईरहने तर जनशक्तिको खपत नहुँदा राज्य के का लागि जनशक्ति उत्पादन गर्दैछ त ? भन्ने प्रश्न आम नागरिकले सोधिरहने छन् ।

दोेश्रो, संविधान र कानूनका धाराहरू ब्यवहारमा लागू नहुँदाको पीडा हो । नेपालको संविधान २०७२को धारा ३५ले नागरिकहरूलाई निशुल्क स्वास्थ्य सेवा पाउने हक दिएको छ । के त्यो हक गोरखा कि ति सुत्केरी आमा जस्ता महिलाहरूमा लागू हुँदैन ? संविधानकै धारा ३३ले नागरिकले रोगजारी पाउने हक उल्लेख छ । कलेजहरूमा माटो रकम बुझाई अध्ययन गरका सम्पूर्ण स्वास्थ्यकर्मीहरूले रोजगारी पाउने हक किन भएन ? यहाँ त कलेजहरूले प्राविधिक बिषय अध्ययन गराए बापत जति रकम पनि लिन पाउने हक छ । यस्तो अवस्थामा राज्य कहाँ चुकेको छ त ? राज्य गरिबहरूका लागि हो वा केहि सिमित धनीमानी बर्गका लागि हो ? यो निरूत्तरित प्रश्न बारम्बार दोहरी रहन्छ । सम्पूर्ण स्वास्थ्यकर्मीहरूले रोजगारी पाउनु प¥यो भन्दा स्वास्थ्य मन्त्रालयका नीति निर्माताहरू मौनता साँध्छन् ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य श्री शिव कुमार राई ले जनशक्तिको खपत देश भित्र नहुन सकेको अवस्था मा बैदेशिक रोजगारमा समेत जनशक्ति खपत गर्न जि टु जि कुरा गर्नु पर्छ भनेका थिए जस्का कारण बेरोजगार हुने स्थिति हुन दिनु हुदैन । अहिले पनि नर्सहरूको विदेशमा राम्रो माग छ । अव पारा मेडिक्सको पनि कुरा गर्नु अपरिहार्य भई सकेकोछ ।(जनस्वास्थ्य सन्देश,२०६९ पेज १५) । जनताहरू सेवा विहिन भई रहने तर राज्य सेवा दिन नसक्ने अवस्था हो भने देश कता जाँदैछ ।

राज्यले स्वास्थ्यको जिम्मेवारी लिएका देशहरू र निजी क्षेत्रले जिम्मेवारी लिएका देशहरूमा कस्तो नतिजा राम्रो छ भन्दा निश्चय पनि राज्यले जिम्मेवारी लिएका देशहरूको राम्रो देखिन्छ । सन् १९५९को क्रान्ति अघि क्युवा त्यस क्षेत्रका आम देशहरू जस्तै अनेकौं स्वास्थ्य समस्याहरू झेलि रहेको थियो । त्यसताका राज्यले धनीमानी र कुलिन घरानाका मानिसहरूलाई मात्रै स्वास्थ्य सेवा प्रदान गर्दथ्यो । क्युवाली क्रान्ति पछि वर्गसंघर्षमा आएको परिवर्तन पश्चात राज्यले आफ्नो भूमिकामा परिवर्तन ल्यायो । स्वास्थ्य समस्याहरूको रोकथाम र मातृशिशु सेवामा व्यापक परिवर्तन ल्यायो जस्का कारण संयुक्त राज्य अमेरिका भन्दा १ बर्ष अघि सन्१९६३ मा नै क्युवा पोलियो मुक्त देश घोषणा भयो ।

अहिले क्युवाको स्वास्थ्य नीति भनेको जतिसक्दो चाँडो नजिकसम्म स्वास्थ्य सेवा पु¥याउनु हो । सम्पूर्ण क्युवालीहरूलाई पोलिक्लिनिक वा ग्रामिण अस्पताल मार्फत घर दैलोमा सेवा दिइन्छ । सम्भव नभएका सेवाहरू केन्द्र वा क्षेत्रिय अस्पतालहरूमा रेफर गरिन्छ । चिकित्सकहरूलाई तालिम कै दौरान ग्रामिण भेकमा गई काम गर्न प्रेरित गरिन्छ । अहिले क्यवाको स्वास्थ्य स्थिति ल्याटिन अमेरिकी देशहरू भन्दा उत्कृष्ट छ । (वार्नर १९८७ १७ः३७) । १९५०को दशकको क्रान्ति भन्दा पहिले चीनको स्वास्थ्य स्थिति एकदम नाजुक थियो ।

उच्च स्तरको राजनीतिक प्रतिवद्धता र राज्यको दायित्वबोधका कारणले स्वास्थ्य क्षेत्रमा निकै ठूलो बिजय हाँसिल ग¥यो । (रहोडः१९८७ ः५) । रूसको बिघटन पश्चात त्यहाँ स्वास्थ्य सेवाको स्तर निकै खस्केको थियो । यतिसम्म कि औषत आयु ३ बर्ष कम हुन पुगेको थियो । हाल साउथ एसियाको सबै भन्दा उकृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने देशमा श्रीलंका पर्दछ । श्रीलंकमा आईएमआर २००१ मै ११ थियो जब कि नेपालको २००६मा ४८ प्रति हजार थियो । नर्सको उपलब्धता प्रति दशहजारमा १४ जना(२००६) छ्न भने नेपालमा २ जना(२००४) मात्र छन् ।

नेपालको राष्ट्रिय स्वास्थ्य नीति २०७१ सैद्धान्तिक रूपमा ठिक भए पनि लागू गर्न ब्यबहारिक रूपमा कठिनाई किन भयो । सो नीतिको भिजनमै भनिएको छ “ सबै नेपाली नागरिकहरू शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा स्वस्थ रही उत्पादनशील र गुणस्तरीय जीवन यापन गर्न सक्षम हुने ।” यहाँ भन्न खोजिएको स्वस्थ नागरिक बनउनु हो तर ब्यवहारमा गोरखा कि सुत्केरी आमा र ५ दिने बच्चा मृत्युसंग अंगालो मारिरहेका छन् । मानसिक रूपमा स्वस्थ बनाउने परिकल्पना गरिएको छ तर जीन्दगिभर जनतामा सेवा गरेका दाङ्गका शिबहरी शर्मा दाईहरूले राज्यलाई तिर्ने करै २५ प्रतिशत बनाएका कारण सोसाईड नोट लेखेरै साउन २१ गते आत्महत्या गर्नु प¥यो ।

कसरी बन्छ मानसिक स्वास्थ्य राम्रो । चाहाना राख्दा राख्दै पनि जब नागरिक उत्पीडनका सिकार हुन्छ उस्का सामु दुई विकल्प हुन्छन् कि त संघर्ष गर्ने कि त आत्म हत्या गर्ने । समाजशाश्त्री इमाईल दुर्खिमका अनुसार मानिस आफ्नो ब्यक्तिगत कारणले कहिल्ये पनि आत्महत्या गर्दैन । उस्को उस्का आत्महत्याका कारण भनेको मानसिक प्रेसर हो जो परिवार, राज्य, समुदाय, नीति नियम र अन्य सामाजिक निकायबाट दिइरहन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा हाल बाहाल रहेका स्वास्थ्यकर्मीहरूको हालत पनि त्यस्तै छ । तहगत प्रणालीमा जानु पर्छ भन्ने राज्यले अहिले तहगत लाई निरूत्साहित गर्दै पदिय प्रणाली अंगिकार गरेका कारण १५ हजार भन्दा बढी स्वास्थ्यकर्मीहरू आफूलाई मानसिक पीडा भएको महशुस गरी रहेका छन् । यि र यस्ता पीडा दिई रहने राज्यले शारीरिक, मानसिक, सामाजिक र भावनात्मक जनशक्ति उत्पादन तथा गुणस्तरिय जीवनको कल्पना गर्नु ब्यर्थ हुन्छ ।

अन्त्यमा, जबसम्म राज्यका नीतिहरू, कानूनहरू अक्षरसः पालना हुदैनन् तबसम्म स्वास्थ्य सेवा होइन स्वास्थ्य बस्तुको रूपमा बिक्री भइरहनेछ । जो दिन प्रतिदिन महंगो सावित भई रहनेछ । उत्पादनको श्रोत र उत्पादनको सम्बन्धमा नागरिकको पहुँच र प्रतिनिधित्व नहुने तर राज्यले दिनु पर्ने स्वास्थ्य सेवा वस्तुको रूपमा ब्यापारिकरण भई रहँदा नागरिकहरू गरिब नभई के धनी बन्छन् त ? यो प्रश्न सबै नागरिकहरूले अव शासकलाई गर्नु पर्ने अवस्था हो । यहाँ बिडम्बना छ, राज्य स्तरमा रोजगारीको ग्यारेन्टी छैन, तर निजी स्तरमा श्रमको शोषण छ । जनताले सेवा पाएका छैन तर सेवा दिने स्वास्थ्यकर्मीहरू बेरोजगार छन् । राज्यले सेवा दिन आनकानी गर्छ तर निजीले सेवा दिन्छ तर गरिबको ढाड सेकिन्छ । बिमारीहरूलाई पैसा सकिए पछि सरकारी अस्पतालमै पठाएका उदाहरणहरू थुप्रै छन् ।

गरिबका छोरा छारीहरूलाई स्वास्थ्य शिक्षा निशुल्क पढाउन कलेज छैनन् तर असंख्य निजी कलेजहरू खोलिएका छन् शिक्षाका नाममा ब्रह्रम लुट मच्चाईएको छ । आखिंर यो वर्गिय खाडल पुर्न असम्भव जस्तै भएको छ । अवको समाजवादी चरित्र बोकेको सरकार र समाजवादी नाराहरू घन्काईरहने पार्टीहरूले यो वर्गिय खाडल पुर्न सक्दैन भने इतिहास एक पटक दोहरिने निश्चित छ ।

(भाद्र ३ गते,अन्नपूर्णपोष्टमा प्रकासित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *