मोर्चाद्धारा सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, भदौ ९ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आफूले राखेका माग पूरा गराउन तीन सदस्यीय समिति गठन गरेको हो ।

सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत संयोजक तोकिएको समितिमा तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश राय र सदभावना पार्टीका महासचिव मनिषकुमार सुमन सदस्य रहेका छन् ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बुधबार बसेको बैठकमा त्यो समितिले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेका १२ जनालाई सहिद घोषणा गराउने तथा घाइतेको उपचार र क्षतिपूर्तिका बारेमा सरकारसँग वार्ता गर्ने समितिका सदस्य मनिषकुमार सुमनले जानकारी दिए ।

समितिका सदस्य सुमनका अनुसार बैठकले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन आवश्यक वातावरणको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *