निष्ठावान स्वास्थ्य मन्त्रीको प्रतिक्षा

असार २८ देखि देश भरीका साथीहरुबाट आएका फोनहरु उठाउन भ्याई नभ्याई भएको छ । फोन गर्ने साथीहरुले प्रायः एउटै प्रश्न सोध्न गर्छन् “अब नयाँ बन्ने सरकारमा स्वास्थ्य मन्त्री को बन्ला” ? कसैले सुझाव पनि दिने गर्दछन् कि “कुनै पनि हालतमा स्वास्थ्य मन्त्रालय हाम्रो भागमा पर्नै पर्दछ” । कसैले धम्की दिन्छन् कि “विगतको जस्तै यसपाला पनि हाम्रो काम भएन भने मैले जान्या छु” । शुभकामनाका शब्दहरु, सुझावयुक्त शब्दहरु र आलोचनाका शब्दहरुले मेरो मन तरङ्गीत बनाएको छ । मैले त लेखेको मात्र छु तर हजारौं साथीहरुको उत्सुकता छ कि स्वास्थ्य जस्ता गम्भिर र सेवा मुलक मन्त्रालयमा आउने मन्त्रीहरु कस्ता होलान् । ९ महिनाको कार्यकालयमा काम गर्न सक्लान कि नसक्लान् ? अनि आई परेका र देखिने गरेका समस्याहरु समाधान गर्न सक्लान कि नसक्लान ? र पनि मैले सबै साथीहरुलाई ढाड्स दिएर भनेको छु “चिन्ता नगर्नोस् जो आउँछन् आफ्नै आउँछन् । हाम्रा मन भित्रका आउँछन्” । अर्कालाई सान्त्वना दिन सजिलो छ तर मनका भित्र कुटुरो बनि बसेका भावनाहरुलाई स्वीकार गर्न गाह्रो छ । जे होस् अलिक समिक्षक बनि मन्त्रीज्यूलाई स्वागत गर्न र कार्यमा सहजका लागि केही शब्द कोर्दैछु ।
समिक्षा
यो बिषयबस्तु लेख्नकै लागि सन्दर्भ सामग्रिको खोजमा म स्वास्थ्य मन्त्रालय तिर निस्के । पञ्चायत काल देखि हालसम्मका स्वास्थ्यमन्त्रीहरुको लिष्ट र कार्यकालयको बारेमा जान्नु थियो तर भित्तामा कतै पनि फोटो टाँसिएका थिएनन् । अरु मन्त्रालयहरु जस्तै स्वास्थ्य मन्त्रालयमा पनि नाम सहितको फोटोहरु र कार्यकालयको बारेमा जान्न पाए जो कोहि खुसी हुने थिए तर त्यति सानो कार्य पनि हुन सकेको छैन । यो बिडम्बना नै भन्नु पर्छ । मैलै जानेको बुझेकोसम्म मन्त्रीहरुको कार्यकालको केही झलक प्रस्तुत गर्न सान्दर्भिक हुन्छ । पञ्चायतकालमा को को स्वास्थ्य मन्त्री भए त्यो इतिहास त मसंग छैन । प्रजातन्त्रको उदयपश्चातको पहिलो स्वास्थ्य मन्त्रीको रुपमा डा.रामवरण यादवको आगमन भयो जुन स्वास्थ्य क्षेत्रको विकासका लागि कोशेढुङ्गा नै सावित भयो । १९७८ सालको अल्माआटा सम्मेलनको प्राथमिक स्वास्थ्य सेवाको अवधारणालाई ग्रामिण जनतासम्म सहज रुपमा पुग्नु पर्दछ भन्ने मुल नारालाई आधार बनाएर ग्रामिण क्षेत्रामा स्वास्थ्य संस्थाको निर्माण र स्वास्थ्यकर्मीहरुको पूर्ति गर्ने कार्य त्यति बेला भएको थियो । २०५३ सालमा आएको स्वास्थ्य सेवा ऐनको भागेदार तत्कालीन स्वास्थ्य मन्त्री अर्जुन नर्सिङ्ग केसीलाई जान्छ । उहाँको पालामा हिक्मतका साथ निजामति सेवा ऐनबाट स्वास्थ्य सेवालाई अलग राख्नु भएकोे र स्वास्थ्य सेवामा तहगत प्रणालीको शुरुवात भएको देखिन्छ । तहगत प्रणालीको शुरुवात आफैमा राम्रो बिषय हो तर स्वास्थ्य सेवा ऐन लागू हुँदा ३ बर्ष स्थायी भएका कर्मचारीहरुलाई दिएको एक तहमाथीको स्तरबृद्धि विवादको बिषय बन्यो र त्यसको त्यान्द्रो अहिलेसम्म कायम रहेको छ । त्यस पछि असोक राई, भक्त बहादुर बलायर, डा.उपेन्द्र देवकोटा (सबै सम्झन सकिन) लगायत मन्त्रीहरु बने । कामकाजी मन्त्री हुनु बाहेक उहाँको योगदान उल्लेखनीय रहेको मैले पाएको छैन । २०६२।६३को जन आन्दोलन पश्चात संयुक्त जनमोर्चाका अध्यक्ष श्री अमिक शेरचन स्वास्थ्य मन्त्री हुनु भएको थियो । उहाँको कार्यकाल भने निकै सम्झन योग्य छ । निशुल्क स्वास्थ्य सेवाको शुरुवात देखि कर्मचारीहरुको समस्याहरुलाई केहि हदसम्म हल गर्नु भएको थियो । अन्तरिम संविधानमा स्वास्थ्य सेवालाई जनताको मौलिक अधिकारको रुपमा स्थापित गराउन सफल हुनु भएको थियो । उहाँका कार्यकालका अधुरा कार्यलाई लगनका साथ र थप नयाँ जनमुखी कार्यक्रमहरु ल्याई श्री गिरिराजमणी पोखरेल स्वास्थ्य मन्त्रीको रुपमा आउनु भएको थियो । निशुल्क कार्यक्रमलाई दृढता पूर्वक लागू गर्नु भएको थियो । प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाको स्थापना गर्नु भएको थियो । गर्भवती आमालाई यातायात खर्च, अस्पतालमा निशुल्क सेवा, सिमित रोगहरु किड्नी, फोक्सो, मुटु, मष्तिष्क, कलोजो, पार्किन्सन्स् जस्ता रोगहरुमा सरकारको अनुदान रकमको ब्यवस्था उहाँकै पालामा भएको थियो । स्वास्थ्य संस्थामा लिईने शुल्क समेत राज्यले तिर्ने ब्यवस्था गरियो । उहाँकै पालमा नेपाल सरकारले सहश्राब्दी विकासको लक्ष्य पुरा गरेकोमा पुरुस्कार समेत पाएको थियो । यदाकदा चिया गफहरुमा अहिले पनि साथीहरु भन्ने गर्छन् ‘गिरीदाई स्वास्थ्यमन्त्री भएर आई दिए स्वास्थ्य क्षेत्रमा आमुल सुधार हुने थियो’ । ति शुभ चिन्तकहरुलाई उहाँको तर्फबाट र मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छु । त्यसपछि श्री उमाकान्त चौधरीको कार्यकालमा भन्न लायक उपलब्धी भएन । श्री शक्ति बहादुर बस्नेतको कार्यकालमा ग्रामिण स्वास्थ्यमा जोड दिई पूर्व पश्चिम स्वास्थ्य अभियानमा घुम्ति शिबीरहरु मार्फत जनतामा स्वास्थ्य सेवा पु¥याईएको थियो । श्री लोकेन्द्र बिष्टको कार्यकाल १३ दिनको रह्यो । श्री राजेन्द्रत महतो स्वास्थ्य मन्त्री भएर आएपश्चात खासै उपलब्धी भएको महशुश भएन । बिचमा श्री बिद्याधर मल्लीक स्वास्थ्य मन्त्री हुनु भएको थियो । उहाँका कार्यकाल पनि प्रशासनिक मै बित्यो । श्री खगराज अधिकारी स्वास्थ्य मन्त्रीको रुपमा आएपछि स्वास्थ्य नीति २०७१ आयो, जस्मा ग्रामिण भेकसम्म डाक्टर राख्ने परिकल्पना गरिएको छ । त्यस्तै स्वास्थ्य सेवा ऐनको संसोधन भयो र स्वास्थ्यकर्मीहरुका मागलाई केही हदसम्म सम्बोधन गर्ने कोशिश भयो । उहाँको कार्यकालमा ऐन कार्यान्वयनका लागि भनेर स्वास्थ्यकर्मीहरुले आन्दोलन गरेका थिए र आन्दोलन सहमतिमा टुगिएको थियो । यसै बिचमा मन्त्रीपरिषदबाट २०७१।९।२३ मा एक विवादास्पद निर्णय आयो र जस्बाट हे.अ र सि.अ.हे.वको विवाद बल्झिएको थियो जुन हालसम्म पनि कायम नै छ । श्री रामजनम चौधरीको कार्यकाल पनि समस्या समाधान मै केन्द्रीत हुँदै थियो, सरकारै अल्पमतमा प¥यो र कार्यकाल सकिएको छ ।हालसम्म स्वास्थ्य मन्त्रालयका समस्यागत परिदृष्यहरु यस प्रकार रहेका छन् ।
१. बिषयबस्तुको अध्ययनमा कमी
संकुचनको परिभाषा भित्र रहेर हेर्ने हो भने स्वास्थ्य भनेको रोगबाट मुक्त हुनु भन्ने बुझिन्छ भने बृहत परिभाषालाई हेर्ने हो भने स्वास्थ्यको क्षेत्र ब्यापक छ । स्वास्थ्य क्षेत्रलाई सामाजिक, मानसिक, शारीरिक, धार्मिक, आर्थिक बिषयवस्तुसंग जोडेर हेर्ने हो भने त्यसबाट बन्न जाने परिभाषा नै स्वास्थ्यको परिभाषा हो । यी बिषयवस्तुहरुलाई गहिरोसंग बुझेको हुनु पर्ने हो । स्वास्थ्य मन्त्रीले स्वास्थ्यका क्षेत्रमा गहिरो गरी बुझि नीति र योजनालाई दृढताका साथ लागू गर्नु पर्ने हो । हालसम्मको स्थिति हेर्दा मन्त्रीज्यूलाई स्वास्थ्य समस्याको बारेमा र मन्त्रालयका गतिविधि बारे बुझ्न २ महिना, मन्त्रालयको कर्मचारी ब्यवस्थापन गर्न २ महिना गरी कार्यान्वयन गर्न लागू गर्दा गर्दै ८–९ महिना पछि मन्त्री आफैं निस्किनु पर्ने परिस्थिति हुन्छ । यो परिस्थितिका कारण स्वास्थ्य क्षेत्रमा बिकृति मौलाएको छ । त्यसैले गहिरो गरी हेर्ने हो भने स्वास्थ्यको बिषयमा बुझेका र सकभर काम गरी सकेका मन्त्रीज्यू हुनु आवश्यक छ । मन्त्रीहरु मध्ये गिरीराजमणी पोखरेल नै स्वास्थ्य बिषयका कुशल जानकार देखिन्छन् ।
२. बैध र अबैध चलखेलहरु ः
स्वास्थ्य क्षेत्रमा समस्याको रुपमा जरा गाडी बसेको सरुवा, बढुवा र अन्य पदस्थापनामा देखिने र नदेखिने थुप्रै चलखेलहरु हुने गर्दछन् । बाहिर बसेर खासखुसका कुराहरु सुन्दा स्वास्थ्य भनेको छोटी भन्सार भन्ने गर्दछन आम बिद्वान वर्गहरु । स्वास्थ्य सेवा विभाग, महाशाखाहरु, केन्द्रहरु, जिल्ला कार्यालयहरुमा जानकै लागि कर्मचारीहरु निकै ठूलो आर्थिक चलखेल गर्ने गर्दछन् यद्दपि यस्का प्रमाणहरु हुदैनन् । एक जना निर्देशकज्यूले मलाई भन्नु भएको थियो “ठूला बडाहरु भन्ने गर्छन् कि तिमीले गरेको रिचार्ज सकियो टिक्ने भए थप गरौं, नत्र टाढा जानु पर्छ” । मैले हुन्छ जान्छु भने पछि म दुर्गम क्षेत्रतिर लागे । काठमाण्डौं र स्वास्थ्य सेवा भित्र ठूला देखि सानासम्म रिचार्ज गराउनका लागि केही दलालहरु सक्रिय छन् । ति दलालहरु मन्त्रीसंग लम्पसार पर्छन् र सबै प्रकारका सुविधाहरु पुरा गर्दछन् । स्वास्थ्य सेवा जस्तो गम्भिर बिषयमा इमान्दारी पूर्वक काम गर्नु दिनु पर्ने हो तर यहाँ काम गर्न खोज्नेहरुले झोला तयार बनाएर बसेका हुन्छन् कि आफू कति बेला सरुवा हुने हो भनेर । माथि बुझाउन खोज्नेहरु तलबाट आफ्नो लगानी त असुल गर्नै पर्छ । स्वास्थ्य क्षेत्रमा साना देखि ठूला दलालहरु सक्रिय छन् । कोही जागिरे भएरै पनि दलाली गर्छन् भने कोही बाहिरैकै दलालहरु छन् । धोती र टोपी नभई जागिर खाएकाहरु पछिल्लो कालखण्डमा काठमाण्डौंमा आलिसानहरु कसरी भयो होला सहजै भन्न सकिन्छ कि दलाली पेशा फस्टाएको छ । यसै कारण पनि स्वास्थ्यमा काम गर्ने निर्देशक देखि तलसम्मका कार्मचारीहरु मन्त्रीज्यू को आउने होला र कस्तो आउने होला भनेर धेरै नै उत्सुक भएका देखिन्छन् । मन्त्रीज्यू आफैं आर्थिक चलखेलमा सक्रिय भए तल्लो लेभलले त गर्नै प¥यो भन्ने जानकारहरुको भनाई छ ।
३. निजी सचिवालय र स्वकीय सचिवालयः
हुन त भन्ने गर्छन् सचिवालय भनेको मन्त्रीज्यूलाई सहयोग गर्ने, समय सारणी मिलाउने र आवश्यक पर्दा राम्रो तरिकाले मन्त्रीज्यूको गतिविधिलाई राम्रो बनाउनका लागि नै सचिवालय हो । यहाँ अहिलेसम्म हेर्दा ठूला पार्टीका मन्त्री भए पछि केही मन्त्रीज्यूका आफन्तित हुने गर्छन त केही पार्टीसंग आवद्द ब्यक्तिहरु सचिवालयमा रहने गर्दछन् । निजी र स्वकीय सचिवालयको काम नै कमिसन मिलाउने कार्य जस्तो यदाकदा देखिने गर्दछ । यो राम्रो बिषय हुदै होइन् । सचिवालयमा हुनु पर्ने कर्मचारी वा आम ब्यक्तिहरुले इमान्दारी पूर्वक स्वास्थ्य मन्त्रीलाई सहयोग गर्नु पर्ने हो, त्यो हुन सकिरहेको छैन । सानो पार्टीका मन्त्रीले स्वास्थ्यको जिम्मेवारी समालेको अवस्थामा आफ्नो नजिककोलाई निजी र स्वकियको जिम्मेवारी दिएका हुन्छन् । मन्त्रीका किचन भित्रका मानिसहरुलाई अलिक स्वास्थ्य सेवालाई ध्यानमा राखेर नै मन्त्रीलाई सहयोग गर्नु अहिलेको आवश्यकता हो । यो कुरा नयाँ मन्त्रीले बुझि दिदा अति उत्तम हुन्छ ।
४ पारदर्शिता र शुशासन
पारदर्शिता र शुसाशन यस्तो बिषय हो जहाँ राज्यका हरेक निकायले स्वइमान्दारिता दर्शाउनु पर्ने हुन्छ । राज्य संचालन गर्ने महत्वपूर्ण र उपल्लो दर्जामा बसेका मानिसहरुको नै पारदर्शिता माथि प्रश्न चिन्ह उठि रहेको छ । विभिन्न छापाका बिषयवस्तुहरुलाई नै कोड गर्ने हो भने पनि भ्रष्टाचार भयो भनेर छानबिन गर्ने निकाय आफैंले गरेका कार्यहरु पनि पारदर्शि छैनन् र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखले स्वास्थ्य क्षेत्रमा गरेको हस्तक्षेप कै कारण मेडिकल कलेजहरु र विश्वविद्यालयहरु माफियाको चंगुलमा फसेको कारण शिक्षण अस्पतालका प्रो.डा गोबिन्द केसी अहिले सत्याग्रहमा हुनु हुन्छ । यो देशका हरेक निकायहरुमा भ्रष्टाचार मौलाएको छ । पारदर्शिता त छदैछैन । इमान्दार कर्मचारीहरु जस्ले समाजलाई रुपान्तरण गर्नका लागि केहि गर्न चाहान्छन् ति सबै पाखा लाग्छन् तर बेइमान र फटाहाहरु जस्ले मन्त्री देखि माथि चाकरी बजाँउछन् तिनिहरु नै राम्रो निकायमा सुविधा भोग गर्छन् । आफू पनि कमिसन दिन्छन् र तलबाट कमिसनको खोजी गर्छन् । स्वास्थ्य मन्त्रालय पनि पारदर्शिताको, सुशासनको अभाव छ । विगतमा पनि यस्तै थियो र अहिले पनि छ । राज्यले स्वास्थ्यका नाममा छुट्ट्याइएको बजेट महाशाखाहरुमा पहुँचको भरमा मनपरी ढंगले वितरण हुन्छ । भ्रमणका नाममा करोडौं रुपैया खर्च हुन्छ । करार नियुक्तिका नाममा आसपासका मानिसहरु मात्रै सुविधा पाउँछन् । स्वास्थ्यकर्मीको सरुवा र बढुवाका नाममा लाखौ करोडौंको खेल हुन्छ । दिईएको निर्देशन पालना नगरी ऐन र नियमको गलत अर्थ लगाई काम अर्कै तिरको हुन्छ । राम्रा राम्रा आकर्षक पोष्टहरुमा कमिसनको बार्गिनिङ्ग शुरु हुन्छ । अदालतले दिएको फैसलाको कार्यान्वयन हुदैन । मन्त्रालय यसरी नै चलि रहेको छ । मन्त्रीका आसपासका मानिसहरु जीउ हजुरी गरी राम्रो पोष्टमा पुग्ने गर्छन् । त्यो प्रथा तलतलसम्म चल्दै जान्छ । यहिलेसम्म यहि प्रणालीबाट मन्त्रालय चलिरहेको छ ।

५ विभिन्न अबसरहरु
स्वास्थ्य मन्त्रालयबाट अध्ययनका, विदेश भ्रमणका, अनि छात्रबृत्तिका थुप्रै अवसरहरु आउने गर्दछन् । ति अवसरहरु अपवादका दुर्गम ठाउँहरु बाहेक सबै मन्त्रालय र विभागमै सकिने चलन छ । हामीलाई राम्रैसंग थाहा छ विगतका मन्त्रीज्यू, सचिवज्यू, महानिर्देशकज्यू एवं उहाँ वरीपरि घुम्ने कर्मचारीहरुले यस्ता अवसरहरु भरमजदुर प्राप्त गर्ने गर्दछन् । यतिसम्म कि १० पटकसम्म एकै ब्यक्ति बिदेश भ्रमण गर्ने अवसर प्राप्त गरेका छन् । सहश्राब्दी लक्ष्य पुरा गर्न सहयोग गर्ने मन्त्रालय र विभागका मात्रै नहुँदा होलान नी ? ग्रामिण भेक र दुर्गम भेकमा काम गर्ने कर्मचारीहरुमा किन ध्यान जाँदैन राज्यको । महिला स्वास्थ्य स्वयं सेवीकाहरु जस्ले स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पु¥याएका छन् ति स्वयं सेवीकाहरुले विदेश भ्रमणका अवसरहरु प्राप्त गरेको मैले अहिलेसम्म सुनेको छैन । अर्कातिर विशुद्ध प्राविधिकका लागि आउने बैदेशिक भ्रमणका अवसरहरुमा नितान्त प्रशासनका गएका छन् । उदाहरणहरु धेरै दिन सकिन्छ । स्वास्थ्य मन्त्रालयले यो कुरा किन खुलस्त गर्दैन । बिडम्बना यहि नेर छ ।
६ बढ्दो राजनीतिक हस्तक्षेप
स्वास्थ्य क्षेत्र राजनीतिबाट मुक्त भएको छ भन्ने दावा गर्ने अधिकार मसंग छैन । स्वास्थ्य क्षेत्रमा मन्त्रीको बदलावसंगै कर्मचारीहरुको चेहेरा परिवर्तन हुने क्रम निरन्तर चलि रहन्छ । कुनै अमुख पार्टीको मन्त्री भए अर्कापार्टीसंग आस्था राख्ने कर्मचारीहरु साइडमा लगाउने कार्य पहिले देखि चलि रहेको छ । यो त २०४८ साल देखि अहिलेसम्म निरन्तर रुपमा चल्दै आएको छ । अहिले तथ्याँक हेर्ने हो भने स्वास्थ्य मन्त्रालय र विभाग अनि आकर्षक मानिने स्थानहरुमा कुनै अमुख पार्टी र अमुख संगठनका आसेपासेहरु २०सौं बर्ष देखि राज गर्दै आएका छन् । जस्को बोल बिक्दैन तर काममा उत्कृष्ट छन् तिनका हिसाव भनेको स्वास्थ्य चौकीमा नै राखिन्छ । यस्तो वर्गिय विभेद किन ? तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले यस्को अन्त्य चाहानु भएको थियो र त्यसका लागि कामको शुरुवात पनि भएको थियो तर उहाको वहिर्गमनसंगै त्यो कार्य सेलायो । जुन मन्त्री आयो त्यसकै बोलबाला हुने हो भने इमान्दार मानिसहरुले कहिले मौका पाउने ? यो प्रश्न पनि भविष्यकै गर्भमा ..।
नयाँ सरकारका प्रधानमन्त्री हुने कुरा त लगभग पक्का पक्की भएको छ तर स्वास्थ्य मन्त्री को हुने भन्ने कुरा भविष्यकै गर्भमा छ । नयाँ मन्त्रीज्यू जुन ठाउँबाट आए पनि, जुन पार्टीबाट आए पनि उहाँले मन्त्रालयलाई प्रणालीगत तरिकाले संचालन गरी स्वास्थ्य मन्त्रालयलाई नयाँ जीवन दिनु भयो भने कालान्तरसम्म उहाँका नाम इतिहासका पन्नामा रहोस् नरहोस् सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मानसपटलमा रहि रहनेछ । मन्त्रीज्युका लागि स्वागत गर्न हामी आँतुर त छौ नै, त्यसका साथै उहाँको कार्यकालमा यी माथिका लेखिएका ६ बुँदाहरुमा ध्यान दिई मन्त्रालयलाई जनता र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउनु हुनेछ भन्ने सुझाव दिन चाहान्छु ।
सम्पूर्ण पार्टीका अध्यक्षज्यूहरुले बिगतका इतिहासको मुल्यांकन गर्दै जिम्मेवार र कुशल नेताज्यूलाई स्वास्थ्य मन्त्रीका रुपमा सिफारिस गर्नु हुनेछ भन्ने मैले आशा बोकको छु । स्वास्थ्य मन्त्रालय भनेको जनताका प्रत्यक्ष जीवनसंग सरोकार राख्ने मन्त्रालय हो । भन्नेले त यो मन्त्रालयलाई कान्छी भन्सारको रुपमा पनि भन्ने गर्दछन् तर इमान्दार नागरिक भएका कारण यो स्ुझाव प्रस्तुत गर्दछु कि नेपाली जनताको प्रत्यक्ष सरोकार राख्ने बिषयमा राजनीतिक हस्तक्षेप नगरौं । स्वास्थ्य मन्त्रालयका छोटे दलालहरुलाई खोजेर कार्वाहीको प्रक्रियामा ल्याउनु अहिलेको आवश्यकता हो । आत्म सम्मानमा ठेस पुगेका कर्मचारीहरुको पीडा पार्टीका इमान्दार नेताज्यूहरुले बुझ्नु हुनेछ । नेपालको संविधान २०७२मा उल्लेख भए अनुरुप जनताले स्वास्थ्य सेवा उपभोग गर्ने अधिकारलाई कार्यान्वयनमा ल्याउन नेताहरुले कुशलताका साथ कार्य गर्नु हुनेछ भन्ने आशा राखेको छु ।
जय स्वास्थ्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *