रियल मड्रिडको दोस्रो जित

भदौ १२ । स्पेनिस ला लिगामा रियल मड्रिडले लगातार दोस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले सेल्टा डी भिगोलाई २–१ ले हरायो । घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा रियल मड्रिड गोल रहित बराबरीमा रोकियो ।

तर ६० औं मिनेटमा अलभारो मोराटाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । रियल मड्रिडबाटै करिअर सुरु गरेका मोराटा गएको जुनमा फेरि रियल मड्रिड फर्किएका हुन् । रियल मड्रिडले मोराटालाई इटालियन क्लब युभेन्टसबाट क्लब ल्याएको हो ।

मोराटाले अग्रता दिलाए पनि त्यसको सात मिनेटपछि नै ओरेलाना भालेन्जुएलाले सेल्टा भिगोका लागि बराबरी गोल फर्काए । तीन पटक वुडवर्क प्रहार गरेको रियल मड्रिडका लागि ८० औं मिनेटमा टोनी क्रसले विजयी गोल गरे ।

चोटका कारण खेल्न नसकेका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बिना खेलेको रियल मड्रिडले ला लिगाको पहिलो खेलमा रियल सोसिडाडलाई ३–० ले हराएको थियो । नयाँ सिजनमा रियलको विजयी यात्रा कायम छ । रियलले युइएफए सुपर कपमा सेभिल्लाई ३–२ ले हराएको थियो ।

गएको सिजन छैटौं स्थानमा रहेर लिग टुंग्याएको सेल्टा भिगोसँगको खेलमा रियल मड्रिडले दबाब कायम गरेको थियो । तर सेल्टाले पनि राम्रो प्रदर्शन गर्‍यो । राति नै भएको अरु खेलमा भ्यालेन्सिया एइबरसँग १–० ले हार्‍यो ।

यस्तै रियल सोसिडाडले ओसासुनालाई २–० ले हरायो । अर्को खेलमा एथ्लेटिको मड्रिड लेगानेससँग गोलरहित बराबरीमा रोकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *