क्षमताभन्दा दोब्बर कैदी राख्दा समस्या

इलाम, भदौ १२ । इलाम जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राख्दा समस्या भएको छ।

सुधारगृहका रूपमा स्थापना गरिएको १२५ जना कैदीबन्दीको क्षमता भए पनि हाल २६८ जना कैदीबन्दीलाई कोचेर राख्नुपर्दा समस्या भएको हो।

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खानेपानी, स्वास्थ्य उपचारलगायतका व्यवस्थापनमा समस्या भएको कारागार शाखा इलामले जनाएको छ। अन्य कारागारभन्दा सुविधा सम्पन्न मानिने यस कारागारमा अहिले पुरूष २४०, महिला २४ र चारजना बच्चा गरी जम्मा २६८ कैदीबन्दी रहेका छन्।

यस्तै क्षमताभन्दा बढी कैदीबन्दी हुँदा स्वास्थ्य उपचारमा पनि कठिनाइ भएको छ। कारागारभित्र उपचार गर्न कठिन भएका जटिल बिरामीलाई इलाम अस्पतालभन्दा बाहिर लैजान यातायातको समस्या रहेको छ।

कैदीहरूमा उच्च रक्तचाप, जन्डिस, मधुमेह, मानसिक रोगका बिरामी बढी रहेका छन् भने थप उपचारमा बाहिर लानुपर्ने हुँदा एम्बुलेन्स समयमा नपाइने भएकाले समस्या आएको कारागार शाखाका स्वास्थ्य सहायक पङ्कज पोखरेलले बताए।

जिल्लाको उत्कृष्ट वातावरणमा अवस्थित कारागार भए पनि क्षमताअनुसार कैदीबन्दी भए कुनै प्रकारको समस्या नआउने कारागार शाखा प्रमुख सिर्जना लुइँटेल बताउँछिन्।

यहाँबाट स्थानान्तरण हुनेभन्दा पनि थपिने कैदीबन्दीको सङ्ख्या बढी भएकाले थप समस्या भएको कारागार शाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *