स्वास्थ्यकर्मीको लापरबाहीले गर्भपतन गराउनेक्रममा एक महिलाको मृत्यु

खोटाङ, भदौ २० । गर्भपतन गराउनेक्रममा स्वास्थ्यकर्मीको लापरबाहीले खोटाङको धितुङ–६ की टलकुमारी राईको ज्यान गएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । गर्भपतनकैक्रममा पाठेघर सफा गर्नेक्रममा ज्यान गुमाएकी ३९ वर्षकी टलकुमारीको आफन्तले शव बुझ्न नमानेका हुन् ।

दोषी स्वास्थ्यकर्मीलाई कारबाही गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, आश्रित ७ बालबच्चाको शिक्षादिक्षा र रोजगारको ग्यारेन्टी भएपछि मात्र शव बुझ्ने टलकुमारीका दाइ ज्ञानु सेरालुङ राईले बताए ।

समस्या समाधान गर्नका जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसहितको सर्वदलीय बैठक बस्दैछ । आक्रोशित आफन्तले तोडफोड तथा आक्रमण गर्ने त्रासमा अस्पताल क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

५ छोरी र २ छोरा भएपछि टलकुमारी श्रीमान चन्द्र किरातीसँग तीन महिनाको गर्भपतनकालागि बुधबार जिल्ला अस्पताल आइपुगेका थिए । अस्पतालका मेडिकल अधिकृत सन्तोषप्रसाद शाहले पाठेघर सफा गरेपछि सिकिस्त बनेकी राईको जहाजबाट काठमाडौं लैजानकालागि खानीडाँडा विमानस्थल लैजाने क्रममै आइतबार दिउँसो ज्यान गएको हो ।

पाठेघर सफा गर्नेक्रममा उपकरणले पाठेघरमा प्वाल पारेका कारण महिलाको ज्यान गएको आफन्तको दाबी छ । उपकरण छिराएर पाठेघर सफा गरे लगत्तै पेट फुल्ने, वान्ता हुने, श्वासप्रस्वासमा समस्या देखिने, खाना खान नहुने, दिसा पिसाब रोकिने, नाकबाट रगत मिसिएको पानी निस्कने लगायतका समस्या देखिएपछि उनको स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

पाठेघर सफा गरे लगत्तै सिकिस्त बनेपछि तालकुमारीलाई शुक्रबार बेलुका ५ बजे जिल्ला अस्पतालले रेफर गरेको थियो । अस्पतालले रेफर गरेपनि खराब मौसमका कारण शनिबार खानीडाँडा बिमानस्थलबाट काठमाडौं लैजाने प्रयास असफल भएपछि उनलाई जिल्ला अस्पतालमै ल्याएर राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *