बकपत्र

दुर्गा उपाध्याय,
पत्रकार-

जेठको पहिलो साता । नेपालगंजको चर्को घाम । चारैतिर तातो हावाको बहाव । बिहान १०ः०० बजे पुनरावेदन अदालतमा हाजिर हुनु थियो । ८ः३० बजे खाना खाएर हतारिदै कोहलपुबाट नेपालजंगका लागि गाडी चढ्न भाउजुसँगै बागेश्वरी बहुमुखी क्याम्पसको गेट अगाडी उभिए ।

सानो भ्यानले चाडै पुर्याउने आशमा ५ वटा मिनि बस छुटिसकेका थिए । झण्डै २० मिनटपछि भ्यान आयो । गाडीले चारबाहिनी चोकमा पुर्याउदा १०ः०० बज्न ५ मिनट बाँकी थियो ।

अदालतको गेटबाट सिधै भित्र छिरे । मेरा आँखाले कसैलाई नियाली रहेका थिए । तर, खोजेको मान्छे नदेखेपछि मोबाइल झिकेर फोन लगाउदै गेटमा नाम दर्ता गराए । नाम दर्ता गर्ने २ जना महिला प्रहरी थिए ।

एकछिन अलमलिए, के को लागि अदालतमा आएको हो ? भन्ने ।

फेरि, सम्झिए ‘बकपत्र’ दिन । यतिञ्जेल सेतो धर्का परेको कमिज र कालो पाइन्टमा मैले खोजेका व्यक्ति मेरो अगाडी उभिइसकेका थिए । एक वर्ष पहिले महेन्द्रनगरमा एउटा कार्यक्रममा उनीसँग परिचय भएको थियो । पेशाले उनी वकिल हुन । पुरानो चिनजान भएकाले केहिबेर सामान्य भलाकुसारी भयो ।

तर, आँखामा आँखा जुधाएर बोल्ने हिम्मत हामी दुबैमा थिएन । मैले भन्दा बढी उनले असहज महशुस गरेको मलाई आभाष भयो । यो बिचमा १०ः०० बजिसकेको थियो । अदालतमा कर्मचारीहरु आउने क्रम जारी थियो ।

पत्रमा १०ः०० बजे उपस्थित हुने आदेश भएकाले म समयपूर्व नै उपस्थित थिए । मैले उनलाई कामको बारेमा सोधे । झण्डै एकघण्टा पछि मात्र काम सुरु हुन सक्ने भन्दै उनी साथीभाईलाई भेट्न कार्यालयतिर लागे । म भने भाउजुसँगै बाहिरको गोलघरमा बसिरहे । चाँडै पुगेकाले होला त्यहाँ प्रहरी बाहेक अन्य व्यक्तिको खासै उपस्थिति थिएन । बरु प्रहरीमै हाँसीमजाक र रमाईलो चलिरहेको थियो । यतिकैमा एकजना महिला प्रहरीले हामीतिर हेर्दै प्रश्न गरिन ।

महिला प्रहरी ः हजुरहरु के को लागि आउनु भएका हो ?

मेरो जवाफः बकपत्र दिन ।

महिला प्रहरीः कुन मुद्दामा बकपत्र दिन ?

मेरो जवाफ ः कर्तव्य ज्यान मुद्दामा ।

महिला प्रहरीः कुन घटना ? कहिलेको हो ?

मेरो जवाफ ः कोहलपुरको वर्णवाल हत्याकाण्ड । ७ वर्ष पहिलेको ।

त्यसपछि घटनाका विषयमा धेरै कुरा भए । महिला प्रहरीका प्रश्न र मेरो जवाफको एकछिन दोहोरी नै चल्यो । उनका आँखा मप्रति केहि सशंकित देखिन्थे । घरि घरि त उनका कुराले मलाई भाउन्न नै हुन्थ्यो । तर, सहेरै बसे । झण्डै १०ः१५ बजेको थियो । दुई वटा कारमा मुख्य न्यायाधिस र न्यायाधिसको आगमन भयो । बसेका सबै कर्मचारी उठेर स्वागत गरे ।

मैले चिनेका वकिलसाब बाहिर निस्किदै थिए । अदालतको प्रक्रियाका बारेमा जानकारी नभएकाले मैले सहयोग गर्न उनलाई अनुरोध गरे । तर, संयोग मैले ‘बकपत्र’ गर्ने मुद्दाका उनी प्रतिवादी थिए । फलतः मसँगको भेट उनका लागि “नखाउ दिनभरको आहार खाऊ कान्छा बाँ को अनुहार” जस्तै भयो । केहिबेर टोलाएर के सोचे कुन्नी, उनी मलाई लिएर मुद्दाफाँटमा गए ।

मेरो ‘बकपत्र’ का बारेमा कर्मचारीलाई जानकारी गराए । अदालतले ‘बकपत्र’ का लागि मेरो नाममा पत्र काटेपनि सरकारी वकिललाई भने जानकारी नगराएको रहेछ । फाँटका कर्मचारीले सरकारी वकिललाई पत्र लेख्न थाले । म त्यहि थिए । उनी आवश्यक परेका बेला कर्मचारीले सहयोग गर्ने भन्दै बाहिरिए । एकछिनमा मैले ‘बकपत्र’ का लागि फारम भरे ।

अदालत नै भएपनि बाहिरी संसारभन्दा फरक परिवेश थिएन भित्र । कर्तव्य ज्यानको ‘बकपत्र’ भन्नासाथ सबैका आँखा ममाथी पुगेर अडिए । मलाई हेर्न उनीहरुका आँखा निकै उत्सुक थिए । यतिसम्म की गर्दै गरेको कामलाई थाती राखेर कतिले त कुर्सिबाट उठेरै हेर्न भ्याए । लेखपढ गरेका र दिनहुँ नानाथरीका मुद्दामा फैसला गर्ने अदालतभित्रका कर्मचारीको व्यवहार र वातावरण देख्दा निकै अफशोच लाग्यो । घटना विवरणका बारेमा ‘बकपत्र’ गर्न आउदा एकछिन वातावरण खल्बलिने अदालतमा कर्तव्य ज्यान मुद्दामा सजायको फैसला भएका व्यक्तिप्रति कस्तो व्यवहार होला ? मनमा अनेक प्रश्न खेल्न थाले ।

सरकारी वकिल पुग्न समय लाग्ने भएकाले कार्यालय भित्र बस्नुभन्दा म भाउजुसँग बस्न बाहिरको गोलघरमा गए । त्यहाँ निकै भिड थियो । प्राय मधेशीमुलका मानिस थिए । अनुहार पिच्छेका भाव देखिन्थ्यो । कसैमा हार्ने भय थियो त कसैमा जितका तरंग देखिन्थे । म भने एकछेउमा मौन थिए । मभित्र न कुनै उत्साह थियो न भय । थियो त केवल पिडा मात्र ।

‘बकपत्र’ होइन मेरा लागि त्यो खाटा परेको घाउलाई चिथोरेर लगाउन लागिएको नुनचुक थियो । ७ वर्षसम्म स्मृतिबाट फर्मेट हानिसकेका उसका बिम्ब र सम्झनालाई बलजफ्ती पुनः रिकभर गर्ने प्रयास थियो । किन किन उसको मुद्दाको फैसलाले मलाई कुनै असर गरिरहेको थिएन । बरु उसले दिएका पीडा र सास्तीले झन झन उप्रति घृणा पलाउदै थियो । थाहा छैन, उ बाचेको भए उसको र मेरा सम्बन्ध कस्तो हुन्थ्यो ? सामान्यतया, मान्छे मरेपछि उसका सबै दोषहरु बिर्सेर गुन सम्झिने चलन छ ।

तर, उ मरेपछि उसका लागि मेरो मनमा मात्र घृणा बाँकी रह्यो । ‘बाचुञ्जेल त सतायो, मरेर पनि सुख नदिने भयो’ । यहि कुराले बार बार घोचिरह्यो ।

उ आफैले निम्त्याएको कालको सजाय मैले भोग्दै थिए । वंशजमा कसैले नधाएको अड्डा, अदालत, चौकी मैले धाउनु परेको थियो । म ‘बकपत्र’ को लागि सरकारी वकिलको प्रतिक्षामा थिए । कालो कोट लगाएर अदालत भित्र छिर्ने हरेक वकिलमा मेरा आँखा अडिन्थे । झण्डै १ बजेको थियो । हातमा कालो झोला बोकेका एकजना वकिल मुद्दा फाँटमा पसे ।

केहिबेरमा उनीसँगै निस्किएका कर्मचारीले मलाई बोलाए । म उनको अगाडी उभिए । कर्मचारीले वकिलतिर हेर्दै ‘बकपत्र’ दिने व्यक्ति म भएको इशारा गरे । फाइल पल्टाउदै गरेका वकिलका आँखा ममाथी परे । रातो कुर्ता, कालो लेगिजमा उभिएको कलिलो अनुहार उभिएको देखेपछि वकिलले आफूले खोजेको व्यक्ति म नभएको प्रतिक्रिया जनाए ।

तर, वकिलको प्रतिक्रियाले मलाई आश्र्चयमा पारेन । बरु आफ्नो परिचय दिए । उनी बाहिर बेञ्चमा बसेर फाइल पल्टाउदै थिए । एकाएक मेरो आँखा सुवाषको फोटोमा पुग्यो । भोली आउछु भन्दै उसले घर छोडेको ७ वर्ष भयो । तर, अहिलेसम्म फर्केको छैन । बरु अब उ पुग्छ भन्ने बेला उसको हत्या भएको खबर आएको थियो । फोटोहरु हत्यापछि प्रहरीले उठाएको मुचुल्काको थियो । फोटोकपि पेपरमा भएकाले चोटहरु त्यति प्रस्ट थिएनन् । शव नदेखेसम्म मृत्युको विश्वास पनि नहुने । हत्यापछि शव नदेखाइएकाले होला मलाई आज पनि उसको मृत्युको विश्वास छैन । मनलाई विश्वास दिलाउनकै लागि वकिलसँग अनुरोध गरेर एकपटक त तस्विरमै भएपनि उसको शव हेरु हेरु लाग्यो ।

सोचे, क्षतविक्षत पारिएको उसको शवले सम्हालिएको मनमा फेरि भुकम्प जानेछ । जसलाई सम्हाल्न मैले त्यति नै समय र परिश्रम गर्नुपर्नेछ । अन्तः मनमनै फोटो नहेर्ने निधो गरे । तर, झल्याकझुलुक देखिएका उसका फोटाले नै मेरो आधि मस्तिष्क हल्लिसकेको थियो ।

सरकारी वकिलले फाइलमा मेरो बयान खोज्दै थिए । बयान नभेटिएपछि उनी भित्र छिरे । केहिबेरमा हातमा झोला र कागजपत्र लिएर उनी ‘बकपत्र’का लागि माथिल्लो तलाको इजलाश नम्बर २ मा पसे । म पनि उनको पछि पछि लागे । संयुक्त इजलाश चलिरहेको थियो । सँगै अरु पनि वकिल थिए । ‘बकपत्र’ का लागि मलाई एक छेउमा बोलाइयो ।

वादी र प्रतिवादी वकिल सँगै थिए । बकपत्रको खेस्रा सँगै सरकारी वकिलको प्रश्न र मेरो जवाफ सुरु भयो । झण्डै तीन चौथाई बयानले २०६८ फागुन २८ गते लिइएको बयानसँग मेल खायो । त्यसपछि भने अनुसन्धानका क्रममा बयानमा थपथाप पारिएको रहेछ । मैले नभनेको कुरा पनि बडो कलात्मक तरिकाले लेखिएको रहेछ । झण्डै २ वर्षसम्म थन्किएको फाइललाई खोलेर दोषिलाई कारर्वाही गर्छुु भन्ने ईलाका प्रहरी कार्यालय कोहलपुरका तत्कालिन प्रहरी निरीक्षकलाई सम्झिए । अनुसन्धान पुरा नहुदै विविध कारणले उनीलाई कोहलपुरबाट लखेटिएको भन्ने घटनाले थप सशंकित बनायो ।

घटनाको कारण एउटा थियो । तर, अनुसन्धान अर्कैतिर मोडिएको देखियो । घटनाको अनुसन्धानका लागि नेतृत्व गरेका प्रहरी निरीक्षकको अनुसन्धान टोलीले दोषि ठहर गरेका व्यक्तिका बारेमा अन्तः कुनै आशा लाग्दो परिणाम निकाल्न सकेन । घटना भएको २ वर्षसम्म धमिरो लागेको मुद्दा एकाएक ब्यँुतिनु र अनुसन्धान अर्कैतिर मोडिनुले दोषिले प्रसय पाएको सहज अनुमान लगाउन सकिन्छ । प्रहरीको अनुसन्धान र बयानमा पटक पटक कसैको नाम जोडिएर आएको छ । घटना अघि सो क्षेत्रमा देखा परेका ति व्यक्तिहरु त्यसपछि भने हालसम्म देखा नपरेको प्रहरीको प्रतिवेदनमा नै उल्लेख गरिएको छ ।

उनीहरुलाई अनुसन्धानको प्रक्रियामा ल्याउन अदालतसँग यथेष्ट प्रमाणहरु पनि छन् । तर, भएका प्रमाणहरुलाई वेवास्ता गरिएको छ । फलस्वस्प कहिले दिल्ली त कहिले कतार पुगेका उनीहरुलाई न प्रहरीको अनुसन्धानले नेपाल फर्काएर बयान लिने चेष्टा गर्यो न अदालतले नै थप अनुसन्धानका लागि बोलाउने लक्षण देखिएको छ । प्रहरी प्रतिवेदनकै आधारमा मुद्दालाई अन्तिम अवस्थामा पुर्याएको अदालतले एक पटक ति व्यक्तिलाई पनि अनुसन्धानको प्रक्रियामा ल्याउन जरुरी छ ।

होइन भने अदालतले मुद्दाको फैसला त गर्ला तर दोषीलाई सजाय र पीडितलाई न्याय भने पक्कै दिलाउन सक्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *