बेचु अन्सारी र सामाजिक गरिबी-

-गणेश बिष्ट ‘सुमन’-

“ नामः बेचु अन्सारी
बर्षः ४९
जन्मः सुन्सरी इनरूवा, बनियाँ–२ जमुवा
श्रीमतीको नाम ः रोजितन खातुन
छोराः २
छोरीः ४
शिक्षाः अनपढ
जग्गा ः छोरीको बिवाहका लागि सब्बै बेचेको
ऋणः ४ लाख ६० हजार (नवयुग सहकारी)
पेशाः मजदुरी ”

bechu

बिषय प्रारम्भः

हे.पो मा काम गर्दै थिए । समस्याग्रस्त एक अपरिचित मुस्लीम पहिरनका एक अधबैशै म समक्ष आईपुग्छन् । समस्या राख्छन् “सर ना ! मेरो गर्दन मे दर्द हुन्छ । सामको सुत्न पनि नासक्ने । बहुत दर्द हुन्छ । त औषधि दिई हाल्नोस् ।” बिमारी पूर्जामा नाम लेखिएको थियो ‘बेचु अन्सारी’ । हेर्दैमा निम्न वर्गका देखिने तिनको सम्पूर्ण जाँच गरे । जाँचकै शिलशिलामा उनका पारिवारीक पृष्ठभूमी सोधें । मेरो त्यो प्रश्नले उनका मन उदास भयो, आँखा रसाए । बोल्न नसक्ने भए । केहि छिन घोप्टो परे । उनलाई पीडा भएको अनुभूति गरे मैले । मैले बिषय प्रसंग बदले किनकि त्यहाँ धेरै भिड थियो । उनको मन कोट्याउन त्यति सान्दर्भिक लागेन । त्यसैले उनलाई दुखाई कम हुने औषधि दिए र बीर अस्पताल गई एक्सरे गर्ने सुझाव दिए । जानेबेला मैले उनको मोबाइल नम्बर दिन अनुरोध गरे । सफल भए, मोबाइल नम्बर मेरा मोबाईलमा कैद गर्न ।

मलाई बेलुकी निन्द्रा लागेन । एक पटक सोंचे त्यस्ता मानिसहरू कति आउँछन् कति । फेरी सोचें, एउटा पीडाको रहस्यलाई कोट्याएर केहि राहत दिलाउन सकिन्छ भने किन नगर्ने ? आँखिर मानवताको परिभाषा पनि त यहि हो । निश्कर्षमा पुगे उनलाई पछ्याउने । उनको जीवनको इतिहास खोतल्ने चेष्टा गर्ने र सकिन्छ भने भुतभुति पोलिरहेको घाऊमा मलम लगाउने कार्य गर्ने । दोश्रो दिन फोन गरे र सोधे “ बेचु जी, कता हुनु हुन्छ” ? उनले मलाई बीर अस्पताल जाने जवाफ फर्काए । उनको खोजी पछ्याउदै म बीर अस्पताल तिर हानिए । बीर अस्पतालको माथिल्लो तलामा बिमारी बस्ने कोठामा डाक्टरको पर्खाइमा बसेका भटिए । उनलाई डाक्टरसम्म लगे, एक्सरे गराए । अनि पुन डाक्टरलाई नै रिपोर्ट देखाए । डाक्टरको जवाफ आयो ‘सर्भाइकल स्पोन्डोलाईटिस’ । फिजियोमा जानु पर्ने भयो । उनलाई फिजियोमा लगि सके पछि उनको समस्या बुझ्नु पर्ने थियो । कतै मानिस नहुने कुना तिर दुबै बस्यौ र समस्याको गाँठो फकाउन अनुरोध गरे । उनको अनुमति भयो ।

नेपालको सुन्सरी जिल्लाको जमुवा गाऊँमा आजभन्दा ४९ बर्ष पहिला जन्मेका बेचु अन्सारी बिगत २६ बर्ष देखि भक्तपुरको बालकोट क्षेत्रमा बसेर मजदुरी गर्दै आएका छन् । उनको श्रीमति रोजितन खातुन जमुवामै बसेर घर धन्दा चलाईरहेकी छिन् । उनका २ वटा छोरा मुरताज अन्सारी (१८ बर्ष) र मेराज अन्सारी(९ बर्ष) का छन् भने छोरीहरू सन्जीदा खातुन, तपशुन खातुन, अस्मिन खातुन र नजरीन खातुन छन् ।

“३वटा छोरीको बिवाह भई सक्यो । ४ कट्टा जमिन सबै बेचेर पोहर साल मात्रै अस्मिन खातुनको बिबाह गरे । ४ लाख रूपैया त दाईजो माात्रै दिएको थिए । त्यहि बीचमा एउटा घट्ना घट्यो । जुन घरमा छोरी दिए, त्यसै घरकी जेठी बुहारी समसा खातुन (३५ बर्ष) लाई मेरो छोरो मुरताज (१८ बर्ष)ले भगाएर ल्यायो । उसका दुईवटा छोरीहरू थिए । गाऊँमा निकै हल्ला खल्ला भयो । दुबैलाई छुटाउन गाऊँका पञ्चहरूलाई राखें । छुटाउनकै लागि २० हजार रूपैया पञ्चहरूलाई दिए । पैसा पनि गयो । उनिहरूले छुटाउन सकेनन् । १ लाख ५० हजार कर्जा निकाली छोरोलाई कतार पठाए । उता गए पछि छोरोले न फोन गर्छ न त पैसा पठाउँछ । के गर्छ थाहा छैन । त्यो ल्याएको बुहारी पनि हामीसंग नबसि बजारमा डेरा लिएर बसेकी छे । उता छोरीसंग उस्को परिवारले झगडा गरे अनि घरबाट निकालि दिए । अहिले छोरी अस्मिन खातुन मैसंग बसि रहेकी छे । कान्छि छोरी नजरिन बिमारी छे । उस्को इलाजमा ३ लाख जति खर्च गरिसकेको छु । अब कहाँबाट पैसाल्याउनु । कान्छो छोरो मेराज अन्सारी आफ्नो दिदीको घरमा बसेर १ कक्षामा पढ्दै छ । यहिले हजुर बुढो भए । भने अनुसार काम पनि गर्न सकिदैन । मैले कमायो भने सबैले खान पाउँछन् । मैले कमाई गर्न सकेन भने सबै भोका रहन्छन् । सहकारीबाट ४ लाख ६० हजार ऋण लिएर एउटा साने कर्कटपाताको कटेरो बनाई दिएको छु । श्रीमति त्यतै बस्छिन् छोरीहरू पनि त्यति छिन । अलि अलि कमायो भने उनीहरूकालागि यताबाट पठाउनु पर्छ नत्र उनीहरू भोकै रहने स्थिति छ । आम्दानीको नाममा अहिले कतै पनि छैन । खर्च मात्रै छ । उल्टो बिमारी हुन्छु । इलाज गर्न सक्दैन । कसरी जीवन निर्वाह गर्ने हो । अब सके बाँचिन्छ नत्र मरिन्छ । के गर्ने त ?”   ‘इन्साअल्लाह’… ।

बेचु अन्सारीबाट सिर्जित सामाजिक प्रश्नहरू

नेपाल समाजको चरित्रभित्रको एक पात्र हुन ‘बेचु अन्सारी’ । नागरिकता बंशजकै आधारमा भएका उनी नेपालको बोर्डर इलाकामा बसेर नेपाल आमाका रक्षक हुन । उनी आर्थिक बिपन्नताका शिकार हुन वा सामाजिक कुरूतीले जन्माएको अन्यायका शिकार हुन् यो प्रश्न समाजिक न्यायका अभियान्ताहरूलाई.. । कथा सानो छ तर मर्म ठूलो छ । बेचु अन्सारी जातिगत हिसाबले अल्पसंख्यक हुन् । धार्मिक हिसाबले मुस्लीम हुन् । बर्गिय हिसावले निम्न र साहारा विहिन विपन्न वर्ग हुन् । उहाँका अभिब्यक्तिहरूबाट नेपाली समाजले तिनवटा बिषयमा बहस गर्नु जरूरी देखिन्छ ।

पहिलो, के नेपालका अल्पसंख्यक जाति वा पछाडी पारिएकाहरूका लागि लड्ने नेता वा कार्यकर्ताहरूले बेचु जस्ता हजारौं जनताको पीडाको भारी बोक्न सक्छन् वा सक्तैनन् ? अरू देशका मुस्लीमको आर्थिक उन्नति हेर्दा बेचुको पनि धेरै हुनु पर्ने हो । तर भएन । पहिचानको दृष्टिलाई हेर्दा उनको पहिचान कुन स्तरमा रहन्छ । उनलाई चुनावमा भोट बैङ्कको रूपमा प्रयोग गर्नु सिवाय के गरेका छन् नेताहरूले । पहिचान दिएर मात्रै बेचुको पेट भरिदैन त ? काम गर्नका लागि न काम छ न त अव सामथ्र्य नै । त्यसैले वर्गिय मुद्दा नै मुख्य बिषय हुनु पर्दछ । अत्यन्त न्युन वर्गमा रहेको जनताको पहिचान गरेर अति बिपन्न वर्गलाई राज्यको मुल प्रवाहीकरणमा ल्याउनु पर्दछ । होइन भने समोवेशी र समानुपातिक कोटा बेचुका लागि काम लाग्ने हुनै सक्दैन ।

दोश्रो, सामाजिक न्यायको प्रश्नमा केन्द्रीत छु । बेचुको छोराले अर्काको श्रीमति ल्याउनु बेठिक थियो । त्यसको सजाय उस्ले भोग्नु पर्ने नै हुन्छ तर मुद्दा मिलाउने नाममा निम्न वर्गिय जनताहरूलाई लूट गर्नु झन ठूलो सामाजिक अपराध हो । त्यो समाजका भूरे ठालूहरूले सधै जस्तो यस्तै गर्ने गरेकै देखिन्छन् । चाहे सानो होस् वा ठूलो जनता, ताक प¥यो भने कसैसंग पनि घुस खान नछोड्ने नेपाली समाजका अग्रजहरूको बानी जस्तै भइसकेको छ । अर्का तिर छोरीको बिबाह संस्कारकै नाममा आफूलाई खान समेत नराखि दाइजो दिएर छोरीको इज्जत बचाउनु कतिको न्याय संगत हो । दाइजो लिने र दिने दुवै अन्ततः गरिब नै हुन्छन् । छोरी पक्ष दिएर गरिब हुन्छ भने छोरा पक्ष दाइजोको मातले गरिब हुन्छ । दाइजो पाएका मानिसहरू धनी भएको मैले देखेको छैन, भ्रष्टाचारीहरू बाहेक । सबैलाई गालि नपरोस् । यो परम्पराको अन्त्य गर्न सम्भव छ वा छैन ? ज्वलन्त प्रश्न नेपाली इलाइट शाषक वर्गलाई ।

तेस्रो, अवसर सुविधाको सवाल छ । निशुल्क स्वास्थ्य सेवा, निशुल्क शिक्षा र रोजगारी जनताको अधिकार भएको छ । तर बिडम्बना बीर अस्पतालमा बेचु निशुल्क पाऊँदैन तर त्यहाँ कुनै पहुँच भएका सुकिला मुकिलाहरू हुन्थे भने भनसुनकै आधारमा निशुल्क सुविधा पाऊँथे । बेचुले छोरीको लागि ऋण काढेर ३ लाख उपचारमा मात्रै सकेको तितो यथार्थ उनकै आवाजबाट सुनेको छु । रेकर्ड छ मसंग । १० बर्ष देखि चल्दै आएको निशुल्क स्वास्थ्यका सेवाहरूबाट पहुँच विहिन भएकै कारण बञ्चित हुनु परेको हो । थोत्रा लुगा, फाटेका लुगा लगाउनेहरूलाई उच्च स्तरका मानिसहरू त हेलाँ गर्छन् नै त्यसमा पनि राज्यले पनि हेंला गर्न थाले पनि के हुन्छ स्थिति ।

बस्तुगत परिबेश

      वर्गिय मुक्तिको लागि १० बर्ष जनयुद्ध लडेका सुप्रिम कमाण्डर क.प्रचण्ड अहिले प्रधानमन्त्रीको कुर्चिमा हुनु हुन्छ । यी प्रश्नका हलहरू उहाँका कार्यकालमा सम्भव छन् । मात्र यस बिषयलाई हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने हो । कुर्चि केवल बस्नका लागि नै हुँदो हो त मानिसहरूले घरमा पनि ठूल ठूला कुर्चिहरू बनाउँदा हुन् । तर त्यो होइन, कुर्चि काम गर्नका लागि नै हो । नेपाली जनतको मुक्ति तब मात्रै सम्भव छ, जब नेपाली प्रत्येक जनताको आर्थिक समृद्धि सम्भव छ । आर्थिक समृद्धि भित्र रोजगारी, निशुल्क सेवाका अवसरहरू र केहि राहतका कार्यक्रमहरू पर्दछन् । शिक्षा र स्वास्थ्य मात्रै पनि राज्यको ग्यारेन्टी भित्र पर्दथ्यो भने बेचुको ३ लाख होइन् त्यो भन्दा बढी जोगिन्थ्यो । छोरा छोरीहरूलाई उच्च स्तरिय शिक्षा र शीप हुन्थ्यो भने बेचुको आय स्तर बढ्थ्यो होला । तर त्यो सम्भव भएन वा सम्भव गराइएन । दाइजो प्रथा मात्रै नियन्त्रण हुँदो हो त लाखौ जनताको सामाजिक जीवनमा निकै परिवर्तन आउँथ्यो होला तर त्यो पनि सम्भव भएन ।
राज्य संघियतामा जाँदैछ । मधेसमा दुई प्रदेश हुनु पर्छ भन्ने लडाई हालका मितिसम्म जारी छ । केही पक्षले संविधानमा बिमति जाहेर गरेका छन् । मधेसका ति नेताज्यूहरूले के साँच्चै ति मधेसी, मुस्लिम र निम्न वर्गिय जनताको गर्छन् कि गर्दैनन् । यो प्रश्न पनि गर्भमै छ ।

यथार्थता

बेचु मात्रै होइन, कर्णालीका बाहुनहरू, सुदूरका क्षेत्रीहरूको पनि हालत त्यहि नै हो । हामीले साँच्चै तथ्याङ्क निकाल्ने हो भने निम्न वर्गिय वा सर्वहारा वर्गले राज्यको सबै किसिमको सुविधाहरू पाएका छन् त ? कुनै आयोग खुल्दा होस् वा राम्रो शिक्षा अध्ययन गर्न होस वा उपचार गर्न होस् समावेशी र समानुपातिक कोटामा पनि प्रतिस्पर्धात्मक पूँजीवादको घेरामा रूमल्लिएका मानिसहरूले मात्र नाम निकाल्न सक्छन् । यो ध्रुव सत्य कुरा हो । सर्वहारा वर्ग र पहुँच विहिनहरूले समावेशी कोटामा समेत प्रतिस्पर्धा गर्न सक्दैनन् किनकि प्रतिस्पर्धामा भाग लिन जनशक्तिको लागि पनि लगानी चाहिन्छ जो गरिब वर्गसंग छैन ।

बाहुन होस् वा क्षेत्री, दलित होस् वा अन्य कुनै जात, मधेसी होस् वा हिमाली ति सबै क्षेत्रमा दुई वर्ग छन् । एक धनी र अर्को गरिब । गरिब वर्गको प्रतिस्पर्धा मात्रै पनि हुन्थ्यो भने साँयद आर्थिक रूपले बिपन्न वर्ग पनि सम्पन्नतामा जान सक्थ्यो तर यहाँ समग्रतामा समेट्न खोजिएको छ जस्का कारण विपन्न वर्ग कहिल्यै माथि उठ्न सक्दैन । राज्यले आर्थिक सर्वेक्षण गरी वास्तविक विपन्नताको कोटा छुट्टयाएमा र सामाजिक कुरूतिलाई हटाएमा अवश्य पनि राष्ट्रका सबै जनताको समानताको लक्ष्य पुरा हुनेछ । अन्यथा “जुन जोगी आए पनि कानै चिरेका” उखान चरितार्थ हुनेछ । माफ गर्नु होला, जोगीहरूलाई अपमान गर्न खोजिएको होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *