आज ऋषिपञ्चमी पर्व मनाईंदै

काठमाडौं, भदौ २१ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी पर्व मंगलबार सप्तर्षिको पूजा गरी वैदिक हिन्दू धर्मावलम्बी महिलाले मनाउँदैछन् ।

बिहानै उठेर महिलाहरु नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्छन् ।
रजस्वलाको समयमा छाइछुइ लगायत कुनै त्रुटी भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तर्षिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

यसरी स्नान गरेपछि दियो, कलश, गणेश स्थापना गरी अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तर्षिको पूजा गर्ने पञ्चमी भएकैले आजको दिनलाई ‘ऋषिपञ्चमी’ भन्ने गरिएको हो ।

सुयोग्य र गुणसम्पन्न सन्तान प्राप्तिका लागि पनि ऋषिपञ्चमीको व्रत एवम् पूजा आवश्यक भएको धर्मशास्त्रविद्को भनाइ छ । काठमाडौंको टेकुमा रहेको ऋषेश्वर मन्दिरसहितका अरु मन्दिरमा महिलाको भीड लाग्ने गर्छ ।

ऋषिपञ्चमीका दिन अरुन्धतीसहित सप्तर्षिको पूजा लगाएपछि तीज समाप्त हुन्छ । भाद्र शुक्ल तृतीयाका दिन शिव र पार्वती, चौथीका दिन गणेशको पूजा तथा तेस्रो दिन विद्या र वेद मन्त्रका द्रष्टा ऋषिको पूजा गरेपछि महिलाको प्रमुख चाड तीज समाप्त हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.