सुदूरपश्चिमका पहाडी जिल्ला अस्पतालमा सिटामोल समेत छैन

काठमाडौं, भदौ २६ । यो सिजनामा रुघाखोकी, झाडापखाला, भाइरल ज्वरो, निमोनिया लगायतका संक्रमण फैलिंदा अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ । तर टाउको दुख्दा र ज्वरो आउँदा दिइने सिटामोल जस्तो सामान्य औषधि पनि स्वास्थ्य संस्थामा पुग्दो छैन ।

सुदूरपश्चिमका पहाडी जिल्लामा यस्तो समस्या धेरै छ । ज्वरोले थलिएर उपचार गर्न अस्पताल पुग्दा सिटामोल समेत छैन भनेपछि बिरामीले थप सास्ती खेप्नुपरेको छ । औषधि आपूर्तिको ठेक्कामा ढिलाई हुँदा यस्तो समस्या आएको हो ।

कतिपय जिल्लामा सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा नपाइएपनि निजी मेडिकलमा औषधि पाइन्छ । तर निःशुल्क पाइने औषधिलाई चर्को शुल्क तिर्नुपर्छ । स्वास्थ्य चौकीबाट ४०, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५० र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क पाउने सरकारी व्यवस्था छ ।

विभिन्न क्षेत्रीय मेडिकल स्टोर र जिल्लाबाट सबै प्रकारका औषधि नहुँदा समस्या भएको भन्दै स्वास्थ्य विभागको आपूर्ति व्यवस्था महाशाखामा गुनासा आइरहेका छन् ।

तर आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। भीमसिंह टिंकरी प्रक्रियागत रुपमा अघि बढ्दा ढिला भएको बताउँछन् ।
‘अभाव भएको पक्कै हो, कुनै जिल्लामा धेरै छ भने नजिकको थोरै भएको जिल्लामा पठाउनुपर्छ’ उनले भने, ‘टेन्डरमै व्यस्त हुनुपर्ने भएकाले समस्या भएको हो ।’

समयमा टेन्डर गर्न नसक्नु त समस्या छ नै, टेन्डर सुरु भैहालेमा पनि माथिल्लो तहमा फाइल अड्काउने काम हुन्छ । डेढ वर्षमा औषधि खरिदका लागि चारपटक प्रक्रिया सुरु भइसकेको छ ।

भूकम्प र नाकाबन्दीका बेला दाताले राहतमा दिएको औषधिले अहिले जसोतसो चलिरहेको छ । समयमै निर्णय गर्न नसक्ने र फाइल अड्काएर राख्ने प्रवृत्तिले डेढ वर्षदेखि औषधि खरिद प्रक्रिया टुंगोमा नपुगेको हो । सामूहिक छलफल गरेर भए पनि छिटो प्रक्रिया टुंग्याउने स्वास्थ्य मन्त्री गगन थापाले बताएका छन् ।

‘के भएर ढिलो भएको र के गर्दा छिटो हुन्छ भनेर मैले अध्ययन गरिरहेको छु र छिटो गर्ने उपाय खोज्न सम्बन्धित निकायलाई पनि निर्देशन दिएको छु’ मन्त्री थापाले भन्नुभयो, ‘औषधि अभावको समस्या छिटै अन्त्य गर्ने प्रयासमा छौं ।’
तर प्रयास मात्रै भएको छ, छिटो औषधि ल्याउने तयारी अझै सुरु भएको छैन । औषधि जस्तो अत्यावश्यक बस्तुको अभाव हुनुले आमनागरिकको स्वास्थ्य सेवामा सरकार हुनुपर्ने जति गम्भीर छैन भन्ने देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *