छोरा बाटै पीडा ! चाहाना पनि छोरा कै ।

गणेश बिष्ट ‘सुमन’-

 Toplinekhabar.com का लागि स्तम्भ लेख्न अनुरोध आयो, प्रदिप मार्फत । के लेख्ने होला, सोच्दै थिएँ । अचानक फोन आयो ।
‘ए चेला ! म तेरो ठूली आमा । मेरो साइलोले कुट्नसम्म कुट्यो । म के गरू’ ? रूदैं

‘किन र?’

‘अशंबण्डामा कमी भयो रे !’

‘बराबर गर्नु पर्दैन त !’

‘के छ र बराबर गर्नु ! जति छ लैजाऊ, खाऊ त भनेकै हो । २–४ गरा पाखो जमिन भाग लाग्ला । त्यैमा पनि झगडा ।’

‘अब कहाँ बस्या हौ त !’

‘छोरीका घर जान्या हुँ’

‘गाऊल्याले केही भन्दैनन’

रूदै, ‘मै राडँकी के चानी लागि’(मेरो के भाग्य भयो)

‘अरू छोराले पाली हाल्लान नी !’

‘कोई बोल्लाइन बोल्ला’ ( कोही बोल्दैनन्)

‘अनि छोरीले के भन्छिन त !’

‘यै आइजा मै पाल्लोऊ भन्छे’

‘हुन्छ । उतै जाऊ’

गाऊँकी ठूली आमासंगका गहकिलो सम्वादले मलाई निकै नै झस्कायो । स्तम्भ लेखनका लागि केही बिषयबस्तु मिल्यो । तीनि गाऊँका भद्र र बृद्ध महिला एक प्रतिनिधि पात्र मात्र हुन् । दिनहुँ जसो यस्ता घट्नाहरू समाजमा निकै नै ब्यप्त देखिने गर्दछन् । फोन संवाद थोरै समयका लागि थियो तर यसले समाजको चरित्रको प्रभाव उदाङ्गो बनाऊदै थियो ।

म सानो छँदा सुन्ने गर्थे ‘सन्तानहरू रहरले होइन करले जन्मने गर्छन ।’ पुरूषहरूका लागि सन्तान जन्माउनु रहर होइन, यौन सम्पर्क पो रहर त । तर महिलाका लागि जिन्दगी र इज्जतसंग साँटिन्छ, यौन । बाध्यतामा साटिन्छन्, सन्तान । त्यसमा पनि छोरा । सिग्मण्ड फ्राइडले लेखेको कुरा याद आऊँछ ‘यौन चाहाना सबैमा हुन्छ । शिशुमा हुन्छ, बच्चामा हुन्छ, युवामा हुन्छ, बयस्कमा हुन्छ, बृद्धमा हुन्छ । सम्पर्क गराईको तरिका मात्र फरक हो । जुनसुकै तरिका होस् परम आनन्द प्राप्त गर्नु नै यौन सम्पर्क गर्नु हो ।’ यो सिद्धान्त हाम्रोे जस्तो समाजका लागि अधुरो र अपुरो छ । फ्राइडलाई कसैले किन सम्झाउन सकेनन् कि हाम्रा गाऊँका महिलाहरू १५ घण्टा काममा जोतिन्छन् अनि राती पुरूषमा जोतिन्छन् । कसरी आऊँछ चरम आनन्द ! महिलाहरू त केबल बच्चा उत्पादनका भट्टी हुन् ।

आज बिहानै दोलखा पवती ३ की जमुना कोइराला दीदीसंग भेट भयो । सोधे ‘दीदी ! छोरा कस्लाई चाहिन्छ पुरूषलाई वा महिलालाई ?’ हाँस्दै उत्तर दिइन-

‘छोरा दुबैलाई चाहिन्छ’

‘तपाईको पहिलो छोरी पछि छोराको चाहाना बढी कस्ले राख्यो ?’

‘त्यो त समाजिक हेलाँबाट बच्नका लागि’

‘अनि बढी आवश्यकता’

‘समाजले महिलालाई छोरा भएन भने कस्तो नजरले हेर्दा रहेछन् । भागवतमा छोरी ज्वाईबाट प्रितृ तर्पण तर्दैन भन्छन् । हामीले त सधै त्यहि समाजमा बस्नु पर्छ ।’

सहमति त भोजपुर एमपाङ्ग २ की दीदि बिनिता भट्टराईले पनि जनाइन । उनले थपिन-

‘छोराका चाहाना महिलालाई भन्दा पुरूषलाई नै बढी हुन्छ’

‘किन’

‘पितृसत्तात्मक समाज’
नेपालगञ्ज नगरपालीका १२ कि दिदी पार्वति आलेले फरक मत राखिन ।
‘मलाई अर्को जुनी सुनीको मतलब छ्रैन् । छोरा छोरी एउटै हुन् । त्यसैले मैले एक छोरी मात्रै पाएको छु ।’

‘रहर कि वाध्यता’

‘रहर’
‘समाज हेरिएन’ ।

‘पढेलेखा मानिसले पनि समाज हेरियो भने प्रगति कहिले गर्ने ।’
‘छोरा चाहिँ चाहिन्छ है । जे सुकै भन । सामाजिक मान र प्रतिष्ठाका लागि छोरा अनिवार्य बिषय हो’ बिचैमा गंगा थापा दिदीले कुरा थपिन । हामी हास्यौं ।

भक्तपुरको बालकुमारी स्वास्थ्य चौकीमा भएको चिया गफ थियो यो । सबैका कुरा सनातनी थिए । मैले पार्वतीको कुरा दिलचस्प लाग्यो । वास्तवमा पितृसत्तामा बिद्रोह गर्नु भनेको चानचुनको कुरा थिएन । अधिकाशं समाज पूर्व होस् वा पश्चिम होस् एउटै मान्यता छ ‘अपुताली जोगाऊन छोरा चाहिन्छ । छोरीले पितृ तर्दैन् । एक छोरा के छोरा, एक आँखो के आँखो ।’

बस्तुगत धरातलका बुर्जुक वर्गबाटै सुनिएका कुरा हुन यीनि । समाजशास्त्री आर.के मार्टुनले देखेको समाज पनि यहि चरित्रको छ भन्नु हुन्छ ः ‘समाज संरचनागत प्रकार्यवादबाट चलेको हुन्छ । समाजको परिवर्तन आफैँ हुन्छ । यस्लाई कसैले गराई राख्नु पर्दैन ।’ प्रकार्यमा समाजका अंगहरू आफै मिलेर बसेका हुन्छन् । संरचनागत भन्नाले समाजको संरचनामा परिवर्तन आफैं हुन्छ । त्यसका लागि समय लाग्छ । हाम्रो गाऊँ भन्नोस् वा नेपाली समग्र समाज, यीनै सनातन द्वेष र अन्धापथबाट चलेको छ । साँयद परिवर्तन गर्न पुस्ता नै कुर्नु पर्ने हुनसक्छ ।

पुषको महिना एक दिन बिहानै घर पुग्दै थिए । हिड्ने बाटोमै पर्ने घरमा पर्सायीँ ( खेतला लगाई मल फाल्ने दिन) चल्दै थियो । सबैका हात कुहिएको मलले काला भएका थिए । तल पेटीकोट र पछ्यौरा, माथि रातो मैलो ब्लाउज लाएकी बऊजु (भाउजु)ले हाँस्दै सोधिन ः

‘गोसी ! चेला चेली कति पाया’ !

‘ एक चेलो, एक चेली’

‘एकै चेलो !’

‘कति हो बउजु पाउनु’

‘कम्तिमा दुई’

‘क्या अद्या हो दुई चेलाले’(दुई छोराले के गर्ने ?)

‘दुई त चाइ्या क्या !’ (दुई अनिवार्य)

‘मेरी स्वाइनी त पढेकी छे, दुई चेला सक्दैन भन्छे’

‘कसी हो लाऊ पै त्यो ! दुई चेला नजन्माई सक्दैई’

‘अर्को ब्या गर पै’

‘अद्दैन’(गर्दैन)
सबै महिलाहरू हाँसिन । म पनि हाँसे । घर हिडे । डोटेली भाषा कतिले बुझे, कतिले बुझेन भन्न त सक्दैन र पनि सबैको एकै चाहाना के हुँदो रहेछ भने छोरी जति सुकै होऔन, छोरा कम्तिमा दुई हुनु पर्ने । यस्तो जडको समाजमा ठूला आदर्शका बाक्यहरू ब्यर्थ हुन्छन् । दिनभर काम गर्ने र बेलुकी सन्तानकै लागि भए नि थकाईलाई थान्को राखि श्रीमानको कम्पनीको मसिन बन्नु पर्छ स्वास्नीमानिसले । यो ग्रामिण यथार्थलाई शहरियाहरूले त विश्वाश गर्दैनन् तर पनि परिवेश यथार्थ थियो, जो अहिलेसम्म कायम छ ।

बिजयकुमारले खुसीमा लेखेका छन् ः वास्तविक सेक्स हुन शरीर र मन दुबै जोडिएको हुनु पर्छ । अनि मात्र परम आनन्दमा पुग्न सकिन्छ’ । तर यथार्थ के हो भने हाम्रा ग्रामिण महिलाहरूको शरीर जोडिन्छ तर मन कहिल्यै जोडिदैन । त्यसैले त महिलाहरू सन्तान उत्पादनका भट्टी मात्र हुन भनेको हुँ, मन नलागि नलागि श्रीमानका लागि, परिवारका लागि र समाजका लागि सन्तान उत्पादन गर्नु पर्ने ।

अर्को दिन २ बजे दिऊसोँ अर्कै गाऊँमा पुगे । ८० बर्षकी बज्यै आगो फुक्दै थिइन । सायँद भात पकाऊँदै थिन होला । एक्लै भान्सामा ।

‘बज्यै ढोक गरें’

‘ ओ नाती ! डाक्टर होइ तु’(मलाई गाऊँमा डाक्टर नै भन्ने गर्छन)

‘हुँ’

‘भाग्यमानी । एक का एकाइसै होइ जाऊन । सन्तानले डाँडाकाँडा भरिऊन’

‘नाति नतिना कति भया’

‘एक चेला एक चेली’

ए बा, अर्की पाऊन्यै छ कि(फेरी गर्भवती)

‘अब नपाउने बज्यै’
(फेरी बज्यै बाट उही महाभारतका बाहुनको पाठ । )

मैले सोधें ‘ बुढेसकालमा एक्लै ! अरू कहाँ गए’ ।

‘चेला जति कमाउन देश अनि चेली जति आफ्ना घर । बुहारी अलग अलग । क्या अरू पै । बुढेसकालमा दुःख त पाउनु प¥यो ।’
दुखेसो सुनाईन बज्यैले ।

आफू स्वयं दुखको सिकार भएकी छिन । सहयोगका याचना गर्ने ठाऊँ छैन । भएका बुहारीहरू पनि अलग अलग बसि दिएका छन् । फेरी पनि भन्दै थिईन, एक छोराको के भर । गाऊँमा आफ्नो पीडालाई पचाएर भए पनि अर्काको भलो होस् भन्ने चाहाना हो महिलाहरूको । बिना खोट, बिना कपट, बिना रीस उपदेश दिएकी हुन् ति महिलाहरूले मलाई । उहाँको ज्ञान र बुद्धिले जे भन्न लगायो, समाजले देखायो त्यहि ब्यक्त गरी दिएकी मात्र हुन ।

यस्तो पितृसत्ताको घोलमा दायिएको समाजलाई, कानुनका रेखाहरू बदलिसके भनेर भनि दिने कस्ले ? हामीले भन्यौं भने पत्याउँछ को ? नधोएका हातमा ओश्याएको भुजाका डल्ला(पकाएका फर्सीका डल्ला) रमाई रमाई खाने बेला हात धुने नियम सिकाउने हो भने सुनि दिने को ? यस्ता प्रश्नहरूको उत्तर दिन सक्ने परिस्थितिमा म छुँइन् ।

कार्लमाक्र्सको भनाई नितान्त भिन्न छ ः ‘संरचनागत समाजलाई परिवर्तन गर्नु छ भने त्यहाँ जानी जानी द्वन्द्वको बिऊ रोपेर हेर ! समाज कति चाँडो परिवर्तन हुन्छ’ । माक्र्स बुढाको भनाई प्रति म कहाँ सहमत छु, भने परिवर्तनका लागि विवाद ल्याउनु जरूरी छ । क्षणिक कुराहरूमा ठूलै भगडा होला तर त्यसको दुरगामी प्रभाव अत्यन्त सकारात्मक भएर आउँछ ।

मलाई याद छ, सानो छँदा स्कुलबाट फर्के पछि बज्यैले दलितले छोयो होला भनेर छिटो(पानी छर्कने कार्य) हाली भित्र पसाउथीन । त्यसै पस्यो कि गाला लाल ! किन हो हामीलाई बानी जस्तै परिसकेको थियो । घर पुग्यो कि बाहिरबाट कराउँदै भन्थ्यौं ‘बज्यै छिटो हाल ।’

१० बर्षको युद्धले ग्रामिण मानिसहरूमा यति द्वन्द्व सिर्जना भयो कि डरैले सहि दलितहरूलाई सबैले स्वीकार गर्न थाले । मानवीय भावनाहरू राख्न थाले । माक्र्सकै सिद्धान्त अनुसारको परिवर्तन महिलाहरूमा भने खासै आउन सकेको अवस्था होइन् । छोरा वा छोरी एकै हुन भन्ने कुरालाई मरे काटे स्वीकार्देन हाम्रो समाजले ।

मलाई बज्यै भन्ने गर्थिन ‘मेरा त १२ गर्भ खेर गए । ६वटा बचँे ।’ जेठोमा मेरो बाबा बिचका सबै फुपु अनि कान्छोमा कान्छा बाबा । कान्छो सन्तान नपाऊञ्जेल गर्भ बोकिरहीन बज्यैले । बुढी भएर होला फेरी पाउन सकिनन् । बाबाको ७ वटा सन्तान मध्ये ६ बाँकी । १ खेर । जेठो म, अनि २ बहिनी, पछि भाई अनि फेरी २ बहिनी । २ जना छोरा नहुन्जेलसम्म नथाक्ने यात्रा । मैले भन्न खोजेको, हाम्रो समाज यस्तो स्कुलीङ्गबाट अगाडी बढ्यो जहाँ पुस्तान्तरको निम्ति १ छोराले पुग्दैन, २ नै चाहिन्छ । जमुना कोइराला दीदिको भनाईलाई सत्य मान्ने हो भने, हिन्दु धर्मको भागवत नै यस्तो ग्रन्थ हो जस्ले महिलालाई दर्जा नै दिएको छैन् । कर्म जति पुरूष, बोझ जति महिला । यदि भागवत हुदैनथ्यो वा गरूढ पुराण जस्ता ग्रन्थ हुदैनथ्ये भने साँयद महिलाहरू निकै विकसित भईसक्थे होलान् । अहिले पनि ठूला भन्दा ठूला पढागुणा भएका महिलाहरूलाई धार्मीक ह्याङ्गओभरले झस्क्याई रहन्छ ।

बानेश्वरमा चिया पिऊदै थियौ, म र पदम जी । भीड खचाखच भरिएको थियो । बस्ने ठाऊँ नभएर एक जोडी तन्नेरी हाम्रै बेन्चमा बसे । हामी चुप भयौ । उनीहरूले कुरा शुरू गरे, उनीहरूकै भविष्य र योजनाको । हामी सुनी माात्र रह्यौ । सपना र तारा टिप्ने गफहरू हुन थाले ।
‘जीवन कसरी चल्छ दाई ?’ केटोले मलाई सोध्यो । मैले उनीहरूलाई प्रति प्रश्न गरेः ‘बाउ, आमाले कसरी चलाएका छन् ?’
‘हामीलाई जन्माएर,’ केटीलाई छेड् हान्दै भन्यो ।

‘कति जन्माए’

‘पाँचवटा’

‘तिमी पनि त्यै काम गर जो बाउ, आमाले गरेका छन्’ केटी लजाई ।

‘बिवाह के का लागि गर्छौ ?’

‘अप्सन दिनोस्’

‘क) आनन्द प्राप्ती गर्न ख) प्रेम गर्न ग) छोरा छोरी जन्माउन’

‘क र ग’
‘घत् ! कस्ता लाजै नभाएको’ केटीले लजाउँदै भनि ।

छोरा कि छोरी’ अप्सन दिनु पर्दैन होला नी, फेरी सोंधे ।
‘छोरा’

‘किन नी ?’

‘बाउ आमाको सिको’

‘मलाई जन्माउन चार छोरी बोनसमा जन्माएका’

‘तिमीहरू जति नसकिने भो ।’ सबै हास्यौ । चिया गफ सकियो, हामी उठ्यौं ।
आजभोलीका तन्नेरीहरूले समेत भविष्यको योजनामा छोरालाई नै पारेका देखिन्छन् । अजनबी युगल जोडीको हाउभाउ र कुराहरूले मलाई अमिताभले बागवानमा भनेको कुरा याद आउँछ ः ‘आजकाल के बच्चे बहुत प्रेक्टिकल हो गए है ।’

मलाई लेख्ने मन त धेरै थियो । तर समय र स्पेशले साथ दिएन् । निश्कर्ष तिर जाँदा जति सुकै कानुनका रेखाहरू बदलिए पनि ब्यवहारमा छोरा नै अगाडी आउँछ चाहे त्यो नयाँ पुस्ताको बिडो थाम्न होस् वा धार्मिक ग्रन्थको प्रभावमा परेर होस् । एक छोरी हुनेहरूलाई सधैका आत्मग्लानि भई अर्को बिवाह गरेको मेरै नजरमा छ । कुरा लुकेको छैन । छोरा र छोरी एक हुन् जे जन्माए पनि हुन्छ भन्नका लागि मात्रै एनजीओ र आइएनजीओले अरबौको खोला बगाई सके समाजमा । तर समाज टसको मस भएको छैन । सामाजिक चिन्तन र ब्यवहारमा परिवर्तन गर्नु छ भने समाजभित्र घुस्नु पर्दछ । समाजलाई कर्मचारी वा नेतृत्वदायी भएर होइन सामाजिक जनता भएर बुझ्नु आवश्यक छ । ग्रामिण महिलाहरूका समस्याहरू, दुःख, पीडाहरू आफ्नै हो भनेर बुझ्नु पर्दछ । –प्रतिक्रिया पाऊँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *