धौलागिरीमा विद्युत सेवा ठप्प हुँदा स्थानीयबासिन्दा समस्यामा

बाग्लुङ, भदौ ३० । धौलागिरी अञ्चलका धेरै ठाउँमा बुधबार बिहानैदेखि विद्युत सेवा ठप्प हुँदा स्थानीयबासिन्दालाई समस्या भएको छ ।

बुधबार बागलुङको पैयुपाटा–६ कालाखोलामा कालीगण्डकी करिडोरमा खसेको पहिरोले विद्युत सेवा ठप्प हुँदा उद्योग, कलकारखाना लगायत दैनिक कामकाज प्रभावित भएका छन् ।

केन्द्रीय लाइन मार्फत वितरण गरिने मुख्य लाईन रहेको आठ वटा पोल भाँचिएपछि बागलुङ, म्याग्दी र पर्वतका केही गाविसमा विद्युत आपूर्ति बन्द भएको नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले जनाएको छ ।

विद्युत ठप्प भएको ठाउँमा सयपत्री हाइड्रो पावरको विद्युत वितरण गर्न खोजिएपनि लोड धेरै भएकाले सफल हुन नसकेको हो । पर्वतको पाङ र बागलुङको गल्कोट बाहेक अरु ठाउँबाट वितरण हुने विद्युत ठप्प भएको बागलुङ वितरण केन्द्रका सूचना अधिकारी सर्वजित केसीले जानकारी दिए ।

विद्युत आपूर्ति सञ्चालनका लागि बुधवार सहस्रधारामा ६ वटा पोल गाडिएको छ भने बिहीबार कालाखोलामा दुई वटा पोल गाडिनेछ ।

मर्मत कार्य सकिएमा बिहीबार साँझसम्म र नभए शुक्रबारसम्ममा विद्युत आपूर्ति हुने सूचना अधिकारी केसीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *