डुंगा दुर्घटनामा बेपत्ता हुने २० मध्ये नौजनाको नाम पहिचान

काठमाडौं – सप्तकोसी नदीमा डुंगा पल्टिएर बेपत्ता भएकाहरूको संख्या २० रहेको पुष्टि भएको छ । तीमध्ये नौजनाको नाम खुलेको छ । शनिबार नै ३७ जनाको सकुशल उद्धार गरिएको थियो ।

बेपत्तामध्ये १५ वर्षीया संगीता उराँव आइतबार परिवारको सम्पर्कमा आएकी छिन् । नाम खुलेकामा रेखा झा, पुजन झा, मीना झा, पार्वती चन्द्रवंशी, सकुन्तला चन्द्रवंशी, डुंगाचालक तुफान मण्डल चन्द्रवंशी, हरिबोल केभिरथ, चननदेवी यादव र गोल्टु चन्द्रवंशीकी १२ वर्षीया नाम नखुलेकी छोरी छन् । अझै १० जना बेपत्ताहरूको पहिचानका लागि प्रहरीले घरघरमा पुगेर सोधखोज गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले बताए । saptakoshi

जिल्ला प्रशासन कार्यालय सुनसरीमा आइतबार बसेको विपत् व्यवस्थापन समितिको बैंठकले सप्तकोसीमा डुंगा पल्टिएको विषयमा सत्यतथ्य छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी कमल थापाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिका अन्य सदस्यमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरे र राष्ट्रिय अनुसन्धानका जिल्ला अधिकृत मेघराज कँडेल छन् । समितिलाई सात दिनको समयावधि दिइएको छ । समितिले डुंगा दुर्घटनाको कारण, त्यसको पृष्ठभूमि, परिणाम, बेपत्ताहरूको यकिन संख्या, बारम्बार दुर्घटना हुनुको कारण, समस्या र समाधानका उपायसहितको छानबिन प्रतिवेदन बुझाउनुपर्ने प्रमुख जिल्ला अधिकारी चापागाईंले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंका अनुसार प्रकाशपुरको राजाबासमा पल्टिएको डुंगामा ५८ यात्रु  थिए । ‘जिल्ला प्रहरी कार्यालय उदयपुर र स्थानीयका अनुसार दुर्घटनामा परेको डुंगामा ५८ यात्रु रहेको पुष्टि भएको छ,’ उनले भने । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोलीले बेपत्ताहरूको खोजीकार्यलाई जारी राखेको उनले बताए । बेपत्ताहरूलाई अब जीवितै फेला पार्ने सम्भावना निकै कम भएको उनको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *