नयाँ शक्ति बिना विकल्प छैन !

टेकम बाठा मगर
संयोजक, मगरात राष्ट्रिय परिषद   naya-shakti-flag
नयाँ शक्ति पार्टी नेपाल ।

तपाई पहिला माओवादी कार्यकर्ता हुनु हुन्थ्यो, अहिले नयाँ शक्तिमा लाग्नु भएको छ किन ?

माओवादीमा लाग्नुको मूल कारण भनेको सबै किसिमका उत्पीडनहरुको अन्त्य गर्नु थियो । आन्दोलनलाई माओवादीले जनताका सपनाहरु साकार पार्न र नयाँ उज्वल भविष्यका लागि भनेर १० बर्ष जनयुद्ध लडियो । तर माओवादीले सबै सपनाहरु तुहायो । माओवादीले स्वयं उठाएका मुद्दाहरुमा कमजोर जस्तो अनि अन्य सरकार र खुरापाती राजनीतिमा सशक्त जस्तो भई सके पछि आन्दोलनले सार्थकर्ता नपाउने नै निश्कर्ष भएका कारण माओवादी छोेडिएको हो । नयाँ शक्ति नेपालले आर्थिक समृद्धिको आफ्नो लाइन क्लियर गरी सकेका कारणले गर्दा नयाँ शक्तिको भविष्य उज्वल छ । त्यसकारण म नयाँ शक्तिमा लागेको हुँ ।

माओवादीका अधुरा सपनाहरु नयाँ शक्तिले पुरा गर्छ भन्नु भा’को ?

नेपालमा रहेका सबै उत्पीडनहरुको अन्त्य गर्नका लागि संविधानलाई संसोधन गर्नु पर्दछ । त्यसपछि राजनीतिक अधिकारहरुको सुनिश्चितता हुन्छ । राजनीतिक आन्दोलनको समाप्तीको प्रक्रिया पश्चात आर्थिक समृद्धिको बाटोबाट देशलाई अगाडी लैजानु पर्दछ । आर्थिक समृद्धि भन्नाले सुशासन, पारदर्शिता, भ्रष्टाचार मुक्त राज्य ब्यवस्था, समतामुलक सहभागिता र सामाजिक न्याय सहितको आर्थिक समृद्धि भन्न खोजिएको हो ।

पार्टीगत बेमेल रहेको बेला राजनीतिक सहमति बन्दैन त्यसको परिणाम संविधान संसोधन हुदैन । यस अवस्था आर्थिक समृद्धि खोक्रा नारा मात्रै हुदैन र ?

नयाँ शक्ति जब राजनीतिक शक्तिका रुपमा बाहिर आयो । त्यसबाट के देख्न सकिन्छ भने सबै बौद्धिक तप्काहरुको आकर्षण नयाँ शक्तिमा छ । आर्थिक समृद्धिको परिकल्पना छ, लक्ष्य छ , योजना छ र कार्यान्वयन गर्न सक्ने जनशक्ति छ । यस ब्यवस्था अनुसार पार्टीगत बेमेल भई नै रहन्छ सधैभरि । त्यसैले हामीले के भन्न खोजेका भने संविधान संसोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको ब्यवस्था हुनु राम्रो भनेका छौ ।

14429672_1211665778875746_1310248270_n-1

माओवादीको एक कमाण्डर भएको मानिस क.बाबुराम भट्टराई अहिले नयाँ शक्तिमा जानुको मतलब समाजवादी क्रान्ति छोडेर पुँजीवादतिर पलायन हुनु भएको हो भन्छन् नि मानिसहरु ?

तपाईले भनेको कुरा आम जनताहरुले शंका गरी राखेका छन् त्यो शंका स्वभाविक छ । कुरा कता हो भने जनयुद्धका सबै कुराहरु थाँति राखेर पलायन हुुनु भएको होइन । संविधानसभाबाट संविधान घोषणा गर्नु भयो । जनयुद्धका बाँकी एजेण्डा, आर्थिक समृद्धि र समाजवादी क्रान्तिका लागि नयाँ घरको जग हाल्नु भएको हो । पुरानो घर भत्किसकको कारण नयाँ घर बाट आर्थिक समृद्धिको सपना देख्नु भएको छ । लाग्छ त्यो पुरा हुन्छ ।

नेपालको परिवेशमा आर्थिक विकासको खाका के हो ?

अर्थिक विकासको सवाल गर्दा सबै पार्टीहरुले आर्थिक विकासकै कुरा गर्छन । आर्थिक विकास बाहिर त कोहि पनि छैन अहिले तर नयाँ शक्तिको कुरा गर्नु हुन्छ भने प्रष्ट के हुनु पर्छ भने राजनीतिक दलहरुले दिशावोध गराउने कुरा हो । आर्थिक विकासका लागि सबैभन्दा पहिला राजनीतिक स्थिरता हो । दाश्रो भनेको सबै किसिमका साधन श्रोेतहरुको समान उपयोग हो । सुशासन हो अनि पारदर्शिता हो । यी कुराहरु भयो भने अर्थिक समृद्धि हुन्छ । आर्थिक योजना कागजमा मात्रै बनाएर हुँदैन । त्यसलाई पूर्ण कार्यान्वयनको दिशाम लैजानु पर्दछ । त्यो नयाँ शक्तिले मात्रै गर्न सक्छ ।

नेपालका दुर्गम क्षेत्रका जनताहरु र काठमाण्डौका जनताहरुमा सबै खाले विभेद छ । कर्णालीका जनता र काठमाण्डौका जनताहरुको बीचका खाडल नयाँ शक्तिले पुर्न सक्ला ?

ठिक कुरा हो । यो वर्गिय प्रश्न हो । हामी भित्रको वर्गियतालाई कसरी ब्यवस्थापन गर्न सक्ने भन्ने कुरा हो । हाम्रो पार्टी भित्र पनि विभिन्न वर्गका मानिसहरु आएका छन् । उच्च वर्गका मानिसहरु माथिल्लो ओहदामा छन् । हामी त तल्लो वर्गका मानिसहरु हौं । ओहदा अनुसार हामी पनि लागेकै छौं । पार्टी भित्रै पनि यो वर्गहरुको अन्त्य हुनु पर्दछ । वर्गको अन्त्य फेरी त्यति सजिलो विषय होइन । राज्यको कुरा गर्दा सबै वर्गका मानिसहरुलाई समान स्तरमा ल्याउनका लागि राज्यको उत्पीडनको अन्त्य हुनु पर्दछ । त्यसैले हामीले बिभिन्न क्लस्टरहरुको कुरा गरेका छौ । आदिवासी जनजाति क्लस्टर, पिछडिएको क्लस्टर, मधेसको क्लस्टर, आर्यखसको क्लस्टर आदिको कुरा भएको छ । अर्कातिर त्यनि क्लटरभित्र पनि गरिब, लिङ्ग, मध्यम, धनी वर्गको कुरा समेत गरेका छौ । त्यसैका आधारमा दुर्गमका गरिब र शहरका धनीको बीचको खाडल पुरा गर्न सक्छौं ।

तपाई जातिवादी हो वा वर्गवादी ?

हामी जातिवादी पनि होइनौ र वर्गवादी पनि होइनौं । जातिवादी भन्ने वित्तिकै जातिका कुरा मात्रै आउँछन्, वर्गवादी भन्ने वित्तिकै जातिका कुराहरु बिर्सन्छन् । त्यस भएका कारण वर्गीय पक्षलाई त लैजान्छौं नै तर त्यतिले मात्रै भएन । नेपाली समाजको चरित्र त फेरी विविध खालको छ । विभिन्न राष्ट्रियताले भरिपूर्ण समाज छ । हिमाल तिर भोटेहरु बस्छन् भने तराई तिर मधेसीहरु बस्छन् । पूर्वतिर किराँतीहरु बस्छन् भने कर्णाली तिर खस आर्यहरु बस्छन् । सबै जाति र वर्गलाई समान रुपले अगाडी लैजान्छौं ।

यो त बिरोधावास भयो, तपाईहरु त दुई डुङगामा खुट्टा राखेर हिडनु भए जस्तो लाग्यो त ?

यो वर्गलाई र जातिलाई त्यसरी नबुझौं । जाति भन्ने वित्तिकै अन्ततः वर्गकै कुरा हो । विभिन्न आफ्ना जातिहरु भित्र पनि वर्ग नै छन् । विभिन्न किसिमका विभेदहरु जातिहरुमा पनि छन् । वर्गको कुरा मात्रै उठान गर्दामा वर्गले मात्रै राष्ट्रियताको कुरा सम्बोधन गर्दैन । त्यसैले दुबैलाई समदुरीमा राख्ने कुरा हो ।

सविधान घोषणा भएको एक बर्ष भयो । बिगतमा बाबुराम भट्टराईले हस्ताक्षर गर्नु भयो तर बाहिर निस्कदै गर्द के दिपावली मनाउने भन्ने अभिब्यक्ति दिनु भयो । त्यसको बिषयमा यहाँको प्रतिक्रिया के छ ?

बाबुरामले जे भन्नु भएको छ त्यसमा म सहमत छु । तपाई हाम्रो कुरा गर्नु हुन्छ भने मगरात तीन टुक्रामा विभाजित छ । त्यहाँका समुदाय, जाति समेत असन्तुष्ट छन् । यसलाई पूर्ण खुसी भन्दा आशिंक खुसी मान्नु पर्ने हुन सक्छ । त्यसलाई पूर्णता दिनका लागि संविधान नै संसोधन गर्नु पर्दछ । संविधानले सबै जाति, धर्म, क्षेत्र,लिङ्गका मानिसहरुलाई सन्तुष्टि दिनु पर्दछ ।

मधेसले उठाएको माग सिमाङ्कनमा तपाईहरुका सहमति हो ?

मधेसमात्रैमा किन कुरा गर्ने । अन्य ठाऊँहरु पनि मिलेका छैनन् । मगरहरुको बाहुल्य हराएको छ । थारुहरुको बिषय पनि मिलाउन बाँकी छ । सबैलाई समग्रमा हेर्दा सिमाङ्कन हेरफेर गर्दा राम्रै हुन्छ । सबैको चित्त बुझ्दछ ।

तपाई मगर राष्ट्रिय परिषद नेपालको केन्द्रीय संयोजक हुनु हुन्छ ? त्यसको कार्य के हो ?

मगर राष्ट्रिय परिषद नेपालले मगर जातिको भाषा, संस्कृतिको संरक्षण गर्ने हो । मगर समुदायले हिजो देखी उठाँउदै आएको मगरहरुको पहिचान र सिमाङ्कनको वा भनुँ मगरात समुदायको बिषयमा संघर्ष गर्ने हो । आम जनताहरुमा यस बिषयमा सुसुचित गराउने हो । जागरणको काम पनि गर्छ ।

माओवादीमा गएका कार्यकर्ताहरु र बाहिरबाट आएका नेता,कार्यकर्ताहरु बीच तालमेल नहुँदा माओवादीबाट गएका कार्यकर्ताहरु निराश छन् । त्यसै परे विद्रोह गर्छन भन्ने मुडमा छन् माओवादी कार्यकर्ताहरु भन्ने निकै सुनिन्छ ? साँच्चै हो र ?

यो कुरा मैलै पनि सुनेको छु । मिडियामा हेर्दा साँच्चै जस्तो लाग्छ तर त्यस्तो छैन । माओवादी पृष्ठभूमीबाट आएकाले जे कुरा गर्दै आएका छन् त्यो कुरा बाहिरबाट आएकाले आत्मसाथ गरेका छन् । बाहिरबाट आएकाहरुले ल्याएका बिचारहरुलाई माओवादी कार्यकर्ताहरुले आत्मसाथ गरेका छन् । उहाँहरुले समाज प्रति गरेको योगदान र उहाँहरुको योग्यताको हामीले कदर गरेका छौं । ठूलै रुपमा बाहिर आएको हल्ला त गलत हो फेरी पनि अन्र्तविरोधै छैन भन्ने कुरा गलत हो । सामान्य अन्र्तविरोध रहन्छ नै । नत्र पार्टी नै बन्दैन ।

तपाईका नयाँ शक्ति पार्टी त आर्थिक मुद्दालाई अगाडी सारेर पार्टीमात्रै धनी बन्न खोजेको हो भन्छन् त मान्छेहरु ?

अर्थ संकलन गरेर धनी पार्टी बन्न खोजेको होइन । यसले सम्पूर्ण शक्ति आर्थिक विकासका मुद्दाहरुलाई अगाडी सारेको छ । हिमाल देखि पहाड र तराईसम्म अनि पूर्वदेखि पश्चिमसम्म आर्थिक विकासको एजेण्डामा केन्द्रीत हौ भन्ने अपील गरी रहेका छौं ।

स्थानिय चुनाव आऊँदैछ । तपाईहरु चुनाव लड्नु हुन्छ कि हुन्न ?

चुनाव लड्ने मात्रै होइन, हामी चुनाव जित्छौ पनि । चुनावकालागि हामीसंग जनमुखी एजेण्डा छन् । आर्थिक समुद्धिका एजेण्डा छन् । सुशासन र पारदर्शिता छ । त्यसैले पनि हामी चुनाव जित्छौं ।

हार्नु भयो भने नि ?

जनताले हराए भने स–सम्मान स्वीकार गर्दछौं । तर हामीलाई विश्वाश छ हामी हार्दैनौं ।
-टपलाईन संवाददाता,सुमन क्षेत्रीले लिएको अन्तरवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.