वृहत शान्ति मेला

द्वन्द्वकालमा भएका यौनहिंसाका प्रभावित महिलाको न्याय प्राप्त गर्ने अधिकारका लागि पैरवी गर्न शुक्रबार ‘वृहत शान्ति मेला’ को आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानवअधिकार रक्षक राष्ट्रिय सञ्जाल, महिला पुनःस्थापना केन्द्र (ओरेक), महिलाका निम्ति महिला मञ्चद्वारा संयुक्त रुपमा खुला मञ्चमा आयोजित उक्त मेलामा द्वन्द्वका बेला महिलामाथि भएका हिंसा चित्रण गर्ने किसिमका चित्र, भिडियो र सूचना सामग्रीको प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम गरिएको छ ।

ओरेकका अध्यक्ष डा रेणु अधिकारीले महिलाले आफूमाथि भएको हिंसाको उजुरी गर्ने वातावरण हालसम्म नभएको बताउँदै गाविसस्तरीय महिला स्वास्थ्य परामर्शदाताको व्यवस्था गर्ने हो भने उनीहरुले आफूमाथि भएको हिंसाको बारेमा बताउन सक्नेछन् भनिन ।

महिला अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घ संस्थाले द्वन्द्वपीडित महिलाका न्याय प्राप्तिका लागि एकीकृत रुपमा विभिन्न कार्यक्रम गरिरहेको पनि उनले बताइन ।

संयुक्त राष्ट्र सङ्घको सन् २०१२ मा प्रकाशित ‘नेपालको द्वन्द्व प्रतिवेदन’ अनुसार १८ वर्ष मुनिका बालबालिका द्वन्द्वको समयमा उच्च जोखिममा रहेको र यौन हिंसा प्रभावितमध्ये १ तिहाइ बालिका १५ वर्ष मुनीको रहेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.