यादव ! तिमी को हौ ?

गणेश बिष्ट ‘सुमन’-

धनगढी चौराहाबाट क्याम्पस रोडका लागि अटो लिए । ब्याट्रीबाट चल्ने अटो क्या गजबको हुँदो रहेछ । न आवाज न त पसिना बगाएर रिक्साका पाइडलहरू पेल्नु पर्ने । यात्रामा पनि मजाको । धनगढीमा फेरी गर्मीले पसिना बगेको बग्यै । यस्तो अवस्थामा जो कोहि यात्रुलाई अटोको यात्राले लोभ लाग्दो तुल्याऊँछ । म फेरी हिजो मात्रै धनगढी झरेका कारण गर्मीले बसि नसक्नु भएका कारण अटोमा मात्रै चढी यता र उता भौंतारिन मन लागि रहने भएको अवस्था थियो । दिउँसो १ बजे तिरको कुरा हुँदो होलो त्यो समय । अटोमा हिन्दै गर्दा एक यात्रुले अटो चालकलाई सोध्यो ‘यहाँर से क्याम्पस रोडका कितना पैसान लेहर हो रे’ । अटो वाला पनि थारू नै थियो । फटाफट जवाफ दियो ‘बीस रूपैया’ । उ अटोमा बस्यो । हामी सबै क्याम्पस रोडका लागि हिड्यौं ।

हिजो मात्रै काठमाण्डौंबाट धनगढी आउँदा तिनै थारू साथीहरूको ट्रकको अगाडी र पछाडि बसेर आएको ताजा सम्झना छ । ति थारूहरूले फररर डोटेली वा बैतडेली भाषा बोलेको देख्दा मन साह्रै खुसी हुन्थ्यो । मैले थारू भाषा नबुझे पनि उनीहरूले मलाई सम्झाउन डोटेली भाषा नै बोलेका हुन्थे । गुरू जी र सहयोगी(खलासी त्यति राम्रो शब्द होइन) दुबै थारू भएका कारण आपसमा कुरा गर्दा थारू भाषा नै प्रयोग गर्थे । गुरू जी ठिकैका थिए तर सहयोगी ज्याङ्बु थियो अफ्रिकन जस्तो । बाटो भरी राम्रा र मिठा ट्रक ड्राइभरले गर्ने कुराहरू नै ग¥यौं । घरी लौडियाहरूका गफ हुन्थे, घरी बठनीयाका गफहरू हुन्थे त घरी छोरेट्टीका गफहरू हुन्थे । आँखिर सबैको अर्थ एउटै हो कि हामीहरू बीच केटीहरूका गफहरू हुन्थे ।

आँखिर पेशा न हो, ड्राइभरहरूलाई मख्ख बनाउने अचाक्ली केटीहरू बाटोभरी नै थिए । हिड्दै चिया खाँदै, नास्ता गर्दै, खाना खाँदै हिड्दै ग¥यौं । जुन होटेलमा केटीहरू अलि सुन्दर खालकी देखिन्थिन त्यहाँ त सय रूपैया फालेकै हुन्थे केटाहरू । मुग्लिन नारायणघाटको सडक खण्ड त्यतिकै शास्तीयुक्त बाटो थियो । बाटो भरी गाडीहरूका लस्करै जाम अनि डोजरहरूले पहाड चिर्दै गरेका तस्बीरहरू ठाऊँ ठाऊँमा देखिन्थे । मैले गुरू जीलाई सोधे ‘यस्तो बाटो बिग्रेको कति समय भयो ?’ उनले भने करिब ३ महिना । जुन देशमा एक सय किलोमिटर जतिको बाटोमा तीन महिनासम्म पच्चीस प्रतिसत काम पनि सम्पन्न हुँदैन भने त्यो देश स्वीटजरलेण्ड कसरी बन्छ ? यो प्रश्न दिमागमा खेली रह्यो । जुगेडीमा एउटा ठूलो बोर्ड लगाईएको थियो । लेखिएको थियो ‘भारतको सहयोगबाट बन्दै गरेको परियोजना’ । त्यस पछि मात्र थाहा भयको ढिला हुनुको रहश्य ।

भारतको सहयोगमा बनेका परियोजनाहरू समयमै सम्मन्न भएको मैले आजका दिनसम्म सुनेको छैन । परियोजना मार्फत सहयोग गर्ने अनि विभिन्न बाहानामा काममा ढिला गर्दै नेपालको विकास चाँडो हुन नदिने भारतको पुरानै रोग हो । बाटोभरी यही कुरा खेलिरह्यो । नारायणघाट पुगेपछि बल्ल नर्कबाट माथि पुगिए जस्तो भयो । धनगढीसम्मको यात्रा उहि ट्रक ड्राइभर युक्त कुराहरू सुन्दै, रमाउँदै र मस्ति गर्दै समाप्त भयो ।
ट्रक ड्राइभरको याद नभुल्दै अटोवाल ड्राइभर पनि थारू नै परे । अटो रिक्समा केटी थिएनन् । त्यसैले पनि एक आपसमा खुलेरै कुरा गर्थे । बठनियाँका गफहरूमा आनन्द लिदै हिडिरहेका थिए । रातो पुल नेर एउटा सुन्दर पहाडीया केटीले अटो रोकी । उ चढि । त्यस पछि त सबै चुपचाप । केटीले पातलो लगाएकि थिई नाम ठ्याक्कै थाहा भएन जेहोस उस्को माथिल्लो शरीर करिब पचहत्तर प्रतिशत नाङ्गै देखिन्थ्यो । छोप्नै पर्ने भागलाई पनि आधामात्रै छोपेकी थिई । कस्तो बिडम्बना । धनगढी यति चाँडै उत्तर आधुनिक होला भन्ने कल्पना समेत गरेको थिएन । आर्थिक रूपमा चलायमान क्षेत्रमा यस्तो हुने गर्दछ ।

एकपटक सोंचे, गर्मीले सताएर होला यस्तो गरेकि । तर फेरी अर्को मन त उतै पच्चीस प्रतिसत छोपेको भागमा केन्द्रीत थियो । मलाई नै त्यो दृष्य हेर्न साह्रो गाह्रो भयो भने उत्तर आधुनिक लख्खा केटाहरूले यस्तो देख्यो भने के होला भन्न सकिने स्थिति नै हुदैन । उ बिपिन स्टेस्नरी चोकमा झरी र हसनपुरको बाटो तिर गई । अटो अगाडी बढ्यो । फेरी बठ्नियाँका गफहरू शुरू भए । गुरूले भन्यो ‘यो त धनगढीको नामी केटी हो नि ! यदा कदा देखिरहन्छे । साँझ ८ बजे तिर कहिले काहीँ मेरो अटोमा बस्छे अनि ठूल ठूला होटेल तिर जान्छे ।’ अर्को थारूले गुरूलाई सोध्यो ‘यो केटीलाई तिमीले लाइन मारेनौ त ?’ उस्ले हाँसेर जवाफ दियो ‘हाम्रो स्तर मेल खाँदैन । हामी अटोचालकहरूलाई त्यस्तै भेट्टिहान्छ नि ।’ रिक्सा ग्यालेक्सी रेष्टुरेन्ट चोकमा रोकियो ।

ग्यलेक्सी क्याफेको एउटा सम्झना मेरो दिमागमा अझै ताजै छ । मेरो एउटा साथी छ यादव । उ को हो ? मैलै अहिलेसम्म पत्ता लगाउन सकेको छैन । उ मानव हो यतिमात्र मैले बुझेको छु । तर राज्यले मानबका पनि चिरा चिरा पारी दिएको छ । राज्यको नजरमा उ को हो भन्ने प्रश्न जगडिएको छ । राज्यले उस्लाई विभिन्न भड्खालोमा हालि दिएको छ । राज्यले उस्लाई जातिवादको भुमरीमा फँसाएको छ । राज्यले उस्लाई सामाजिक अन्याय गरेको छ ।

उ यादव हो, मधेसी होईन । खस आर्यसंग उस्को बिचार मिल्दैन । संगत पनि छैन । अन्य जातिवादीको विल्ला भिरेको छैन । धेरै पहिला एक दिन धनगढीको ग्यालेक्सी क्याफेमा कफी खाँदै थियौं । महोत्तरीको एक जना शुभ चिन्तकको फोन आयो (मैथली वा भोजपुरी के हो मलाई ठ्याक्कै थाहा भएन) । सोध्यो ‘मेरो मान्छे त्यता आउँदैछ जसरी पनि भर्ना गरी दिनु’ । उस्ले हाँस्दै पीडा दायक दुखेसो पोख्यो ‘दाई हाम्रो समाज त यसरी भड्खालोमा गयो कि, अब उठ्न गाह्रो छ । उस्ले मलाई जुन फोन ग¥यो त्यो मलाई मधेसी ठानेर गरेको हो । म काठमाण्डौं नै होला भनि ठानेर फोन गरेको होला । कस्तो बिडम्बनायुक्त भयो हाम्रो समाज ! जता गए पनि आफ्नो जातिको मात्रै कुरा गर्छन् । हामी नेपाली हौं किन बुझ्दैनन् मानिसहरू !’ मलाई उस्को कुरामा घत लाग्यो । केही जिज्ञासाहरू पनि पैदा भए । मैले उस्लाई केही सोध्ने चेष्टा गरें ।
‘आँखिर तिमी को हौ?’
‘म यादव हुँ ।’
‘प्राकृतिक वा कृत्रिम ?’
‘यादव पनि प्राकृतिक र कृत्रिम भन्ने हुँदैन दाई । पुरूषको शुक्रकिट र महिलाको डिम्बबाट नै मानवको जन्म हुन्छ । पुरूषको शुक्रकिटमा कुनै जात हुँदैन । त्यस्तै महिलाहरूको डिम्बमा पनि कुनै जात हुँदैन । जब शिशु नाङ्गै जन्मिन्छ, त्यतिबेला पनि कुनै जातको स्टिकर लागेको हुँदैन । बिस्तारै समाज र सामाजिक चरित्रले विभेदको श्रृजना गरेको हो । त्यसैले म न प्राकृतिक यादव न कृत्रिम ।’ मलाई उस्को कुरामा झन् झन् आनन्द आईरहेको थियो । फेरी सोंधे–
‘विवाह कोसंग ग¥यौ?’
‘एउटा महिलासंग । के महिलाहरूको जातै पिच्छै फरक फरक शारीरिक संरचना हुन्छ र ?’
हामी हाँस्यौ ।
‘तिमी कुन वंशको यादव ? प्राय यादवहरू त यदुवंशका हुन्छन्’ ।
‘मेरो बुवा र आमाबाट जन्मेको सन्तान हुँ म । अमेरीकाको राष्ट्रपति बाराक ओवामा कुन वंश भन्यो भने उस्ले के भन्ला ? मानवका वंशहरू छुट्ट्याउने को ? यसैका कारण हाम्रो देश बिग्रेको हो । यो देशमा त सबैका आफ्ना आफ्ना लोगोहरू छन् । ति लोगोहरू पछि ब्राण्ड बन्दैछन् । मानव अधिकारका दृष्टिकोणले सबै जातका सबै मान्छेहरूको न्यूनतम आवश्यकता पुरा हुनु पर्ने हो । यहाँ त मान्छेको गुणस्तर बेचिदैन तर ब्राण्ड बेचिन्छ अनि ट्रेड मार्क बेचिन्छ । म यी ब्राण्ड वा ट्रेड मार्कको बिरोधमा छु ।’

‘तिमीहरूलाई के पुगेन र, सामाजिक आन्दोलनमा गयौ ?’

‘तपाईले मलाई बझ्नु भएकै रहेनछ । म यादव हुँ मात्र यादव ।’ उ तर्क माथी तर्क दिदै थियो कि म यादव मात्र हुँ, नेपाली हुँ । म न मधेसी हुँ । न जनजाति हुँ । म न दलित हुँ, न म आदिवासी हुँ । राज्यको चिरा र मानवको चिरा बनाएर के गर्न खोज्दैछ यो राज्यले । मेरा बुवा र आमाको कोखबाट जन्मेको सन्तान हुँ म । राज्यको विकास भनेको सबै जनताको आर्थिक उन्नती हुनु पर्ने होईन र ? यहाँ नानाथरी कुरा गरेर मलाई जातपातको भड्खालोमा किन हालिदैछ । मेरा बुबा आमाको यादव भन्ने सन्तान हुने वित्तिकै मानिसको दृष्टिकोणमा परिवर्तन किन भई रहेको छ । मैले बुझ्नै नसकेको कुरा यो हो । म यादव हुनु मेरो दोष हो ?’ उस्का तर्कसंग म नतमस्तक हुँदै थिए । उस्ले जे सोंचिरहेको थियो, साँयद त्यो अरूले पनि सोंचिरहेका होलान् । फरक यतिमात्र छ कि उस्ले उत्तर दिन सक्छ । अरूहरू चपाएर निल्न सक्छन् । उस्का शब्दहरूले मलाई चित्त बुझि रहेको थिएन । मैले खोजेको उत्तर पाउन सकिरहेको थिएन । मेरो असन्तुष्टि छ भन्ने उस्लाई पनि महशुश भई नै रहेको थियो होला । मैले एक एक कप कफी फेरी अर्डर गरें । सामान्य गफमै उस्लाई फेरी सोधें –

‘तिमीले यादव भएकै कारण कति दुःख पायौं ?’

‘म यादव भएर दुःख पाएको होइन दाजु । मलाई यादव बनाएर दुःख दिईएको मात्र हो । यो देशका यादवहरू सबै एकै छैनन् । कोही अमीर यादवहरू छन् । कोही गरिब यादवहरू छन् । कोही अगाडी यादव छन् । कोही पछाडी यादव छन् । म अगाडीको यादव हुँ तर म गरिब यादव हुँ । यसै लोगोका कारणले मलाई नानाथरी कुराहरू सुनाउँछन् । काम गर्न अह्राउँछन् । म एकदम कर्मीमाहुरी जस्तो कर्ता हुँ । हुकुमको अनुसरण गर्नु मेरो कर्तब्य हो । काम समाप्त, यादव समाप्त । यति स्वार्थी हुन्छन् मानवहरू ! बस दुःख यहिमा छ ।’

‘यो देशमा साँच्चै हेपिएर चेपिएर बसेकै हुन् त यादवहरू ?’

‘प्रबृत्ति र हेराईको दृष्टिकोणमात्र फरक छ । हिजो जो वस्तु सुन्दर भनेर कल्पना गरिन्थ्यो नि आज त्यहि बस्तु बेकार लाग्न थाल्छ । समय र परिस्थितिको कुरा हो दाजु । हिजोका दिनमा जस्ले जसरी जस्लाई हेला गर्थे, आजका दिनमा त्यहि पुज्यनीय बन्दछ । हिजो पुज्यनीयहरू आज तुच्छ बनिरहेका छन् । यो समयको खेल हो दाजु । पछाडीका यादवहरू अलि बढी नै पुज्यनीय छन् तर अगाडीका यादवहरू रद्दिको टोकरीमा मिल्काईएका छन् । समयको कुरा हो । अहिले समय र परिस्थिती यस्तै छ । कस्को के लाग्छ ।’

‘यो अगाडीको यादव र पछाडीको यादव के हो ? बुझ्न गाह्रो भो नि !’

(हास्दै) ‘बुझ्दै जानु होला । समयले सबै प्रश्नको उत्तर दिन्छ । समयलाई पर्खन सिक्नु पर्छ दाजु । चेष्टर चाल्र्सले भन्नु भएको छ –“कुनै पनि मानिस आफ्नै लागि गुलावको माला बनाउँदैन । उस्लाई सन्तुष्टि तब मात्रै हुन्छ जब त्यो माला अर्काको गालामा लगाएर आनन्द प्राप्ती हुन्छ ।” जीवनमा सन्तुष्टि प्राप्त गर्नका लागि धेरै कार्यहरू गर्नु छ । हामी आदर्शको बाटोमा छौं । सत्यको बाटोमा छौं । हाम्रो जीत निश्चित छ ।’ उस्का तर्कहरू जति सरिला थिए । ब्यवहार र बोली पनि त्यति नै रसिलो पाए । हाम्रो एक घण्टाको कुराकानी निकै सारगर्भित महशुस भयो ।
यहाँ कैलाली कञ्चनपुर तिर पहाडिया र थारूका बीच यति गहिरो प्रेम छ कि त्यो कसैले आँकलन गर्न सक्दैन । थारू जाति आफैंमा सोझो, सभ्य र सालिन जाति हो भनेर हामीले थुप्रैै पुस्तकहरूमा पनि पढ्न पाईन्छ । पहाडिका खस आर्यहरू र तराईंका थारूको प्रेम कसैले छुट्ट्याउन खोज्दा पनि त्यो सम्भव देखिदैन । विविध संस्कृति युक्त समाजमा एक समुदायमा बसेका थारूहरू र खस आर्यहरूको बीच बिमेल र बैमुनुस्यता ल्याउने कार्य केही राजनीतिक दलहरू गर्दैछन् सिमित स्वार्थका लागि । यहाँ प्रश्न जातिगत सवालको होइन । प्रश्न वर्गिय सवालको हो । जो वर्ग गरिब छ, जो वर्ग शोषित छ, जो वर्ग उत्पीडनको शिकार छ त्यो वर्ग त खस आर्यमा थारूहरू दुवैमा छन् । फेरी सामन्ती वर्ग पनि दुवैमा छन् । आर्थिक रूपले सम्पन्न वर्ग पनि दुर्वमा छन् । अति विपन्न पनि दुवैमा छन् ।

राज्यले थारूमाथि एउटा अन्याय के गरेको देख्छु भने थारू जातिहरूलाई पनि पहाडको चीसो हावापानी युक्त वातावरणबाट बञ्चित गरिएको छ । यो त अहिलको सरकारले गरेको हुँदै होइन । इतिहासलाई पल्टाएर हेर्ने हो भने हुकुम पुर्वाङ्गीबाट बक्स भएको जमिन पहाडिहरूलाई तराईमा राख्न मात्रै भयो तर थारूहरूलाई पहाड राख्ने भएन । यो अन्याय भयो मेरो बिचारमा । त्यसैले पनि थारूहरूमा सिकलसेल एनेमिया देखिएको हुनु पर्छ । वर्ण कालो भएको हुनु पर्छ ।

आज यो कोठामा बसि रहेको बेला सम्झदै छु त्यो दिन यादवसंग भएको भलाकुसारी । सम्झदै छु ट्रक ड्राईभरको इमान्दारिता र उस्को लौडिया प्रतिको मोह । सम्झदैछु, धनगढीका ति अटो चालकहरू जो मेहनेतका साथ हिड्छन् । हिडाईका साथ थकाईलाई बिश्रान्ती दिन बठनियाका लागि गरिएका कुराकानीहरू । अनि सम्झदैछु यो समाज, जहाँ विविधताको बासना छरिएको छ तर पनि जातिपातको दुर्गन्ध फैलाईदैछ । सबै मानबहरू एकै ठाऊँ बसेका छन् । काला पनि छन् र गोरा पनि छन् । सबैभन्दा सुन्दरता त यस्मा छ कि सबै काला र गोराले सामुदायिक अंगालो हालेका छन् । मित लगाएका छन् । मैले थारूको उत्तर पाएँ, खस आर्यको उत्तरको उत्तर पाएँ तर एउटा उत्तर मैले पाउन सकिन । यादव जस्ले अनुत्तरित प्रश्न छोडेर गयो । उसंग छुट्टिए पछि आजका मितिसम्म भेट भएको छैन । भेटे भने अवस्य अझै सोध्ने छु –यादव ! तिमी को हौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *