काङग्रेस, एमालेका महिला संगठन भन्दा कयौं गुना हामी प्रगतिशील छौं, यो घाम झै छर्लङग छ ।

अमृता थापा मगर
अध्यक्ष
अनेमसंघ(क्रान्तिकारी)–

  • महिला आन्दोलनको वर्तमान अवस्थालाई हेर्दा के देख्नु हुन्छ ?

महिला आन्दोलनको चर्चा गर्दा यो धेरै ठूलो उभारमा पनि छैन, एकदम सिथिल पनि छैन । महिला आन्दोलनलाई यसरी हेर्दा उपयुक्त हुन्छ होला –२००७ साल पहिला र त्यो समय वरिपरिको एउटा स्थिति, पञ्चायतकालमा २०१७ देखि २०४६ सम्मको एउटा स्थिति र बहुदल आएपछि २०४६ पछिको अर्को स्थिति देखिएको थियो । महिलाहरूको आन्दोलन बिषेश गरी २०५१।५२को जनयुद्ध पश्चात निकै नै अगाडी बढेको थियो । जनयुद्धमा महिला मुमेन्टले निकै गति पनि लियो । क्रमभंगता गर्दै अगाडी बढेको त्यो स्थितिलाई हेर्दा त अहिलेको अवस्थामा खासै मुमेन्ट भएको देखिदैन । त्यसैले मैले भनेको ठूलै उभारमा पनि छैन र एकदमै सिथिल भएको अवस्थामा पनि होइन ।

इतिहासलाई हेर्दा २००७ साल पहिला महिलाहरूमा चेतनाको अभाव थियो । त्यतिबेला प्रजातन्त्र वरिपरि संगठित हुने चरण आएको थियो । २०१७ सालको पञ्चायती राजतन्त्र पश्चात संगठनहरूमाथि प्रतिबन्ध लगाईयो र संगठन नै नरहेको अवस्था श्रृजना भयो । २०३६।३७ साल तिर बामपन्थी महिलाहरूले अलि अलि भए पनि भुमिगत रूपमा सांगठनिक भुमिकाहरू देखाएका थिए । महिला मुमेन्टकै लागि भन्ने हो भने महिलाहरूले २०५२।५३ सम्म नै कुर्नु प¥यो । जनयुद्धको त्यो समय पश्चात त असम्भव भन्ने कुरा नै केहि रहेन ।जनयुद्धमा महिलाहरूले के मात्रै गरेनन् ! नेपालमै पहिलो जेलब्रेक महिला नै गरे । निसश्त्र महिलाहरूले दुस्मनको हतियार कब्जा गरे । आफू बलत्कृत हुँदा पनि संर्घषको बाटो छोडेनन् । त्यो संर्घषको फल हामीले देख्दैछौ ।

amritaa-didi
अहिले कार्यकारणी पदहरू र अभिभावकीय पदहरूमा महिलाहरू नै छन् । राष्ट्रपति, प्रधानन्यायधीस, सभामुखमा अहिले महिलाहरू नै छन् । यस्को अर्थ फेरी आम महिलाहरूको जीवनस्तर बदलियो भन्ने नलागोस् । अहिले आम चेतनाको स्तर निकै नै माथि पुगेको छ त्यस चेतनाले नै राजनीतिक आन्दोलन र अधिकारको खोजी गर्न लगायो तर सामाजिक आन्दोलनले सामाजिक मागहरुलाई पूर्ति गर्न सकेको छैन । सामाजिक न्यायका सवालहरूमा र आम महिलाहरूको आर्थिक उन्नतीका सवालहरूमा अझै थुप्रै संघर्ष गर्न बाँकी छ । अनेमसंघ(क्रान्तिकारी)ले त्यो अवश्य पुरा गर्छ ।

  • जनयुद्धकालिन अवस्थामा भएका महिलाको पीडाको प्रकृति र अहिलेको वर्तमान अवस्थामा देखिने महिलाका पीडाहरूमा केही फरक देख्नु हुन्छ वा उस्तै हो ?

पीडा त पीडा नै हो जस्तो भए पनि, तर त्यसको प्रकृति फरक खालको छ भन्ने महशुश गरेको छु । पहिला त राजनीतिक चेतना नै नभएको अवस्था थियो । आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारबाट महिलाहरू बञ्चित थिए । चेतना नै नभई सके पश्चात नर्कीय जीवन वा पशुतुल्य जीवनभन्दा अलिमाथिको हुँदो हो । सम्पूर्ण अधिकार कटौति गरिएको अवस्था थियो । अहिले महिलाको चेतनास्तर निकै माथि छ तर माग र आपूर्ति बीचको खाडल धेरै हुँदा फेरी अर्को खालका पीडा छ । माग धेरै र पूर्ति कम भएको अवस्था हो अहिलेको । हालको अवस्थामा महिलाका अधिकारहरू पूर्णरूपले स्वतन्त्र छन्–जस्तै हाँस्ने, बोल्ने, मनोरञ्जन गर्ने देखि लिएर निर्णयकर्तासम्म भएको अवस्था हो तर फेरी अधिकारहरू राजनीतिक रूपको असन्तुलनका कारणले पीडा हुने गर्दछ । स्वतन्त्रता र सामाजिक रूपान्तरणकालागि खेल्नु पर्ने भुमिका खेल्न सकिरहेको अवस्था होइन । महिलाहरूलाई राजनीतिक रूपमा सक्रिय हुने चाहाना त हुन्छ तर घर ब्यवहारले झिंजो गरिरहेको अवस्था आउँछ ।
जनयुद्धकालमा क्रमभंगता किन पनि भयो भने हिजोको जीवन सामुहिक बसाईमा आधारित थियो । त्यतिबेलाका सामुहिकतामा बस्नेहरूको पारिवारिक झमेलाहरू श्रृजना भएका छन् । पहिला एक जना अहिले दुई तीन जना भएका छन् । परिवारको ब्यवस्थापनको झमेलाका कारणले चाहाँदा चाहँदै पनि महिला मुमेन्टमा समय दिन सकिरहेको अवस्था छैन ।

  • सामाजिक जीवनमा पुरूषहरूलाई पनि महिलाहरूबाट पीडा भएको यदाकदा देख्ने गरिएको छ, के भन्नु हुन्छ ?

एकदम ठिक । महिलाको हितको कुरा गर्दा पुरूषलाई पीडा दिने अर्थमा कुरा गर्न सक्तैनौ किनकि हामीसंग मार्क्सवाद,लेनीनवाद र माओवादको बिचार छ । समाज विज्ञानमा आधारित ‘वादहरू’ हुन् यिनि । समाज विज्ञानले कुनै पनि मानिसहरू उत्पीडनमा पर्नु हुन्न भनेको छ । त्यहिकोणबाट हेर्दा खेरी एउटा पितृसत्तावाद विरूद्ध लड्ने धार छ भने अर्को धार भनेको पुरूष बिरूद्ध मात्रै लड्नु पर्छ भन्ने धार छ । हुन त त्यो अतिवादी धार हो यद्दपि त्यो धेरै छैन् । फेरी पनि यदाकदा त्यो धार पनि देखिन्छ । समाज विज्ञानमा त छोरा छारी, बुवा आमा, श्रीमान् श्रीमति समान हैसियतमा बाँच्न सक्नु पर्दछ ।
अहिले फेरी बैदेशिक रोजगारमा जाने श्रीमान्को सम्पत्ति लगेर महिलाहरू अर्कौसंग जाने बिषय निकै ब्यापक बनेको छ । उता बच्चा पढाउन गाउँबाट शहर आउने र बच्चा स्कुल गए पश्चात विकृति बिसंगतिहरूतिर अग्रसर हुने महिलाहरूको संख्या पनि बढेको अवस्था छ । त्यो सबैमा होईन, यदाकदा देखिन्छ । त्यो सरासर सामाजिक अपराध हो । त्यसैले बिशिष्ठ परिस्थिति बाहेक बैदेशिक रोजगार जान नदिई रोजगारी श्रृजना र आर्थिक उत्पादन तिर जोड्नु अहिलेको अवश्यकता हो । महिलाहरू पनि यस्तो परिस्थितिमा सचेतन गराउनु पनि आवश्यक ठानेको छु ।

  • तपाईहरूको प्राथमिकता महिला समानता वा समता वा सामाजिक न्याय मध्ये के हो ? महिलावादीहरू पहिला पुरष महिला बराबर हुनु पर्छ भन्थे, पछि समतामुलकमा गए । पछि सामाजिक न्याय पनि थपियो । तपाईकोे धारणा के हो ?

हामी त सामाजिक न्याय सहितको समतामुलक समाजको निर्माण गर्न चाहान्छौं । बिषेशतः यो राज्यले एउटा वर्गको न्यून र अर्कालाई निकै महत्व दिएको देखिन्छ । हुनु पर्ने के हो भने यो राज्यमा उत्पीडित, निमुखा, असाह्य, गरिबको जीवन स्तर माथि उठाउनु पर्ने हो । जो मानिस सक्षम छ, जो धनी छ, जस्को पहुँच छ तिनीहरू त स्वतः माथि उठ्छन् नै । राज्यसत्तामा महिलाहरूको सहभागिता, संलग्नता र संर्घष गर्नु पर्ने अवस्था हो । फेरी हामीले हेर्नु पर्ने वर्ग भनेको आधारभूत भन्दा तलको वर्ग नै हो । त्यसैकारणले हामी सामाजिक न्याय सहितको समतामुलक समाजको पक्षमा छौं ।

  • महिलाहरूको स्थिति मुल्यांकन गर्दा राज्यसत्तामा परिवर्तन भएको त देखियो तर समाजलाई घोत्लिएर हेर्दा स्थिति जस्ताको त्यस्तै छैन र ?

सहि कुरा हो । त्यसैले हामीले पहिला नै भनेको के हो भने शुरूमा राजनीतिक परिवर्तन नै हो जो भईसक्यो । राजनीतिक परिवर्तन भएन भने बाँकी ब्यवहारिक जीवनमा परिवर्तन हुन सक्दो रहेनछ । हामीले पूर्णतया राजनीतिक उपलब्धी ग¥यौं भन्ने दाबी त गर्दैर्नांै र पनि आँशिक सफलता प्राप्त भएको हो । हक र अधिकारको बिषलाई संविधानको धारामा मात्रै लेखेर पुग्दैन । मुख्य चुनौति भनेको त्यसलाई कार्यान्वयन गर्नु हो । कतिपय कुरा चेतनामात्रै पनि हुँदैन । पूर्वाधारको विकास हुनु पर्छ । कतिपय कुरा पूर्वाधारमात्रैले पनि हुँदो रहेनछ । त्यसकालागि आवश्यक ज्ञान र चेतना चाहिन्छ । संस्कृतिको बिषय पनि जोडिन्छ । हाम्रो संस्कृति निर्माणका लागि एकपटक सम्भव हुँदैन । त्यसकारण यसलाई निरन्तर अभियानको रूपमा लैजानु पर्दछ । हामी त्यसमा लागेका छौ । त्यसैले आँत्तिहाल्नु पर्ने बिषय छैन ।

  • जनयुद्धलाई फर्केर हेर्दा महिलामुक्तिको एजेण्डा कति सफल कति असफल ?

एउटै शब्दमा भन्ने हो भने यो आशिंक सफल मात्र हो । पूर्ण सफल हुनका लागि हामी कोशिस गर्दैछौ । वातावरण निर्माण गर्दैछौं ।

  • अहिलेको संविधानमा महिलाहरूले धेरै हक र अधिकार पाएको छ । अब फेरी अधिकारका लागि लड्दैछौ भन्नु हुन्छ । अझै बाँकी छ र हक अधिकार पाउन ?

मुख्य कुरा संविधानमा लेखेर मात्रै हुँदैन । जति लेखिएको छ त्यो कार्यान्वयन गर्नका लागि हामीले संघर्ष नै गर्नु पर्दछ । संविधानमात्रै बनाएर त केही हुँदैन । कानुन पनि निर्माण हुनु पर्दछ । कानुन र कार्यविधि बनेन भने त्यो संविधान अपाङ्ग र लंगडो हुन्छ । त्यसैकारण संविधानलाई कार्यान्यन गर्न ब्यवस्थापिकामा कानुन बनाउन संघर्ष गर्ने बिषय र त्यो कानुनलाई जनतास्तरमा लगेर महिलाहरूलाई प्रशिक्षित गर्ने बिषय र अनि प्रशिक्षित गरी सके पछि ब्यवहारमा कार्यान्वयन गर्ने कुरासम्मका लागि संघर्ष गर्नु पर्ने छ । अर्कातिर अप्रयाप्त उपलब्धीहरूलाई प्रयाप्ततामा पुर्याउन संघर्ष गर्नु पर्ने अवस्था छ ।

  • तपाईहरूको संगठन अनेमसंघ(क्रान्तिकारी) काङग्रेस, एमालेको महिला संगठनभन्दा के फरक ? बढी प्रगतिशील वा उस्तै  ?

14528312_1223173281058329_1938576220_n
त्यो त दिनको घाम झै छर्लङग छ । उनीहरू(काङग्रेस,एमाले)ले बोकेका एजेण्डा र हामीले बोकेका एजेण्डामा आकास धर्तीको फरक छ । इतिहास कोट्याउने हो भने त उनीहरू राजतन्त्रको वकालत गरिरहन्थे । हामी पनि त्यसै घेरा भित्र बसेको भए हाम्रा साथीहरूले यति क्षति नै ब्यहोर्नु पर्ने थिएन । हामीले केही नगरेको भए अहिले गणतन्त्र, संघियता, समावेशी समानुपातिक ब्यवस्था हुने वाला नै थिएन । हाम्रो एउटा यस्तो संगठन हो जस्ले परिवर्तनका लागि त्याग र बलिदानको किर्तिमान खडा गरेको छ । हामीहरूसंग त उनीहरूको तुलना नै गर्न मिल्दैन । हामी गर्वका साथ भन्दछौ कि हाम्रा ७ जना त केन्द्रीय सदस्यहरू नै सहिद हुनु भएको छ । एक जना अझै बेपत्ता हुनु हुन्छ । हजारौं सहिदहरूको रक्तबाट सिचित संगठन हो हाम्रो । हाम्रा थुप्रै साथीहरू घाइते, अपाङग छन् । नेपालमा पहिलो पटक जेल ब्रेक यहि संगठनबाट भएको छ । राज्य आतंक, बैदेशिक हस्तक्षेप र महिलामाथि गर्ने दुब्र्यवहारको अन्त्यका लागि यहि संगठन लडेको छ । यो संगठन नभएको भए र विचार नभएको भए यति छिटै संवैधानिक राजतन्त्रको अन्त्य हुनेवाला नै थिएन । हाम्रा कारणले नै देशको कार्यपालिका प्रमुख, न्यायपालिका प्रमुख र ब्यवस्थापिका प्रमुख महिला नै भएका हुन् । यो हेक्का राख्न जरूरी छ ।

अर्का पक्ष, काङग्रेस, एमालेका महिला संगठनहरू आगामी दिनमा महिलाहरूलाई यथास्थितिमै भएको देख्न चाहानु हुन्छ भने हामी फेरी आमुल परिवर्तनको पक्षमा दृढता पूर्वक संघर्षको पक्षमा छौं । आमुल परिवर्तन भन्नाले सामाजिक साँस्कृतिक रूपान्तरण, आर्थिक समुन्नति र राजनीतिक पहुँचमा बृद्धि हो । यसैमा विस्तारमा हाम्रो लडाँई हुनेछ । यसकारण हाम्रो संगठन हिजो पनि प्रतिशील थियो, अहिले पनि हो र भोलिपनि रहनेछ ।

  • अहिले एकताका नाममा संगठन त भद्रगोल छ । जता हेरे पनि केन्द्रीय सदस्य नै देखिन्छन् । जस्लाई सोधे पनि केन्द्रीय सदस्य नै भन्छन् । यो रोग तपाईहरू कहाँ पुग्यो कि ?

हाम्रो त्यस्तो छैन । हाम्रो एकता आउनु पर्ने सबै घटकको एकता हुँदा पनि जम्मा ५११ जना मात्रै केन्द्रमा छौं । हाम्रो ५५ जनाको पदाधिकारी छ । १५० जनाको सचिवालय छ । जनयुद्धमा लामवद्ध भएका हजारौ जनमुक्ति सेनाका क्याडरहरू बाहिर हुनु हुन्छ । यस्लाई हामी ब्यस्थित बनाउन तिर नै छौं । संगठन, सरकार, सदन, सडक, एनजीओ, आईएनजीओमा ब्यवस्थित बनाउँछौ र स्थानिय निकायका चुनावमा दृढता पूर्वक परिचालन गर्छौ ।

  • स्थानिय निर्वाचन गर्नका लागि तपाईहरू पहल लिदै हुनु हुन्छ । तपाईहरूको जित्ने आधारहरू के छन् ?

(हाँस्दै) अवस्य जित्छौं । लडाई भनेको जित्नकै लागि लड्ने हो । पहिलो हामीले एकता अभियान ७ वटै प्रदेशमा सम्पन्न गरी सकेका छौ । जिल्ला एकता अभियान पनि संगै हुँदैछ । अभियान पनि सम्पन्न हुनेछन् । दशै तिहारको बीचमा जिल्ला एकताअनि गाऊँ गाऊँमा छिरेर आफ्ना एजेण्डाहरू जनता समक्ष राख्नेछौं । कार्तिक ११ र १२ गते पार्टीको केन्द्रीय भेला आयोजना भएको छ जस्ले संगठनलाई सानो चुस्त र दुरूस्त बनाउने छ । कार्यकर्तामा नयाँ उत्साह थप्ने छ । अनि हामी चुनावमा होमिएर लाग्छौं । निश्चय नै अहिले टुट फुट का कारण जनतामा नैराश्यता आएको पक्कै छ । तर माओवादी र माओवाद बिना परिवर्तन सम्भव छैन । त्यसैले जनता हामीलाई भोट दिन्छन् । स्थानिय निकाय निर्वाचनका लागि हामी र हामीसंग विचार मिल्नेसंग पनि सहकार्य हुने छ । हाम्रो कमजोरीलाई ध्यान दियौ भने हाम्रो जीतको आधार तयार हुनेछ ।

  • ७ न प्रदेशको धरातलमा एकताका लागि आउनु भएको छ । पश्चिमका महिलाहरूको समस्या र पूर्वका महिलाहरूको समस्याहरूको समस्यामा केही भिन्नता पाउनु भएको छ ?

म पहिले पनि पश्चिम तिर आउने गर्थे । त्यसैले पूर्वका महिलाहरूको र पश्चिमका महिलाहरूका मुल फरक त उत्पादन सम्बन्ध हो । पूर्बतिरका महिलाहरूलाई पुँजीवादको हावाले निकै छोएको छ । मेरो अनुभूतिको तहबाट हेर्दा पूर्वका महिलाहरू कृषि कार्य भन्दा श्रमिक वा रोजगारीतिर ध्यान दिन्छन् । चिया बगानमा गए देखिन्छन् त्यहाँ पुरूषहरू र महिलाहरू श्रमिकका रूपमा । आर्थिक रूपले स्वतन्त्र भए पछि सामाजिक, साँस्कृतिक रूपले स्वतन्त्र त हुने नै भयो । जति जति पश्चितिर आयो, त्यहाँका महिलाहरू प्रायः गृहणीको रूपमा कार्य गर्ने गरेको भेटेको छु । पुरूषको निर्देशन मुताविक चल्नु पर्ने वाध्यता देखिन्छ । सामन्ति उत्पादन प्रणालीको विकास भएको जस्तो देखिन्छ । घरको मुल नेतृत्वसंग एकाघर भएर बसेका जस्ता र त्यो एकाघरको सम्पूर्ण कामको जिम्मा महिला नै लिने गरेको हुन्छ तर मुल नेतृत्व फेरी पुरूषकै हुन्छ । आर्थिक रूपमा स्वतन्त्र नहुँदा खेरी महिलाहरू थोरै सामन्ति प्रणालीकै भित्र छन् कि भन्ने देखिन्छ । राजनीतिक सम्दर्भमा फेरी त्यस्तो होईन । राजनीतिक आन्दोलनमा पश्चिमका महिलाहरू निकै अगाडी छन् । नेपालकै प्रथम महिला मन्त्री डडेल्धुराकै द्वारीका देवी ठकुरानी हुन् । फेरी पनि ब्यवहारिक सन्दर्भमा जाँदा खेरी पक्कै केही कमजोरीे देखिन्छ । आर्थिक उत्पादन र आर्थिक सम्बन्धका कोणबाट महिलाहरू पछाडी नै छन् । पश्चिम तिर तराईमा हेर्ने हो भने महिलाहरूलाई कमलहरी बनाइएको छ भने पहाडतिर छाउपडीको कारणले महिलाहरूको चेतना अझै पुगेको छैन भन्ने देखिन्छ ।

  • पश्चिम पहाडमा महिलाहरूले नुहाउने बारे गरेको एक अध्ययनमा ७० प्रतिशत महिलाहरू सार्वजनिक धारामा नुहाउन वाध्य छिन् । ति मध्ये ७० प्रतिशत नै नुहाउने कार्यबाट सन्तुष्ट छैनन् । ६१ प्रतिशत महिलाहरू नुहाउने समस्यामा छिन् अर्थात केटाहरूले जिस्क्याउँछन् । गल्ति नगर्दा नगर्दै महिलाहरू एड्स पीडित बनेका छन् । यो त सामाजिक अन्याय हो नि महिला माथि, होइन र ?

तपाईले संवेदनशील बिषय उठाउनु भएको छ । महिलाहरू राजनीतिसंग जोडिए पछि आर्थिक क्रियाकलापसंग पनि जोडिदा रहेछन् र ति महिलाहरू आत्म निर्भरको बाटो तिर जान्छन् । यस्का लागि लेनिनको प्रयोग पनि देख्न सक्छौं । लेनिनले रूसमा एउटा मुस्लिम बस्तीमा बुर्का लगाएका महिलाहरूमा राजनीति कसरी लैजाने भन्दा शुरूमा गाह्रो परेको थियो । सबैले बुर्का लगाउँथे । पुरूषले महिलाको मुख हेर्दैनथे । महिलाहरू आफै शिक्षित थिएनन् । यस्तो अवस्थामा सबै महिलहरूलाई लेनिनले आर्थिक उत्पादनसंग जोडाएका थिए । कसैलाई नर्सिङग पढाएर होस् वा कसैलाई रोजगारी दिएर होस् । आर्थिक उत्पादनका कारण महिलाहरूको जीवनस्तरमा परिवर्तन हुन थाल्यो र चेतनाको स्तरमा परिवर्तन थाल्यो । त्यसपछि राजनीतिक चेतना पैदा हुँदै गयो । महिलाहरू संगठित हुँदै गए । हरेक पार्टी सदस्यले आफ्नो श्रीमतीहरूलाई संगठनमा ल्याउन ह्वीप पनि लगाइयो । त्यसबाट पाठ सिक्दै जुन महिलाहरू माथि पीडा छन् त्यसका लागि सिंगो पार्टी, महिला संगठनहरूले चेतनाका कार्यक्रमहरू गर्ने र महिलाहरूलाई त्यस बिरूद्ध संगठित गर्दै बिभेदको अन्त्य गर्नु पर्दछ । त्यसकालागि बिषेश अभियानहरू सञ्चालन गर्नु पर्दछ । अनेमसंघ(क्रान्तिकारी) त्यसको पक्षमा दृढता पूर्वक लागेको छ । बिभेदका बिरूद्ध लाग्न मैले महिला संगठनलाई पनि निर्देशन गरेकी छु । महिला समस्या नितान्त बेरोजगारीसंग सम्बन्धित छ । यो सिङगो राष्ट्रको समस्या हो । बेरोजगारी समस्या हल हुने बित्तिकै सबै समस्याहरू जस्तै छाउपडी, एचआभी÷एड्स, बिभेदका समस्याहरू हल हुँदै जान्छन् । हाम्रो नेतृत्वमा भएको सरकारले ७वटै प्रदेशमा एक एक वटा मेडिकल कलेजहरू निर्माण गर्नु पर्दछ भनेर गृहकार्य थालिसकेको छ । धेरैमा त छन् । नभएकाहरूमा बनाउने योजना बनाई सकेको अवस्था छ । यसैले सरकार, नियम कानुन, जनचेतना र सिंगो महिला अभियानबाट हामी समस्याको हल गर्दछौं । अबको महिला आन्दोलन पश्चिममा केन्द्रीत हुन जरूरी छ ।

  • तपाईले शान्तिकालको परिस्थिति र जनयुद्धको परिस्थितिलाई बिश्लेषण गर्नु पर्दा कुन सजिलो कुन अप्ठ्यारो ?

(हाँस्दै), भौतिक रूपमा हेर्दा युद्धमा गाह्रो थियो । तर मानसिक रूपले हेर्दा युद्धकालमा सजिलो पनि थियो । युद्धमा रातारात हिडिन्थ्यो, खान पाइदैनथ्यो, झोलाका भारीहरू बोकिन्थ्यो, निकै लामो यात्राहरू पार गर्नु पथ्र्यो । तर फेरी सामुहिक बसाईं, दुःख सुख बाँड्ने, अनि ब्याटलमा सिधै लड्ने हुन्थ्यो । लड्दा कि त सहिद भईन्थ्यो कि त जितिन्थ्यो । अन्य कुनै मानसिक कार्यहरू थिएन । हाम्रो एउटा लक्ष्य हुन्थ्यो ‘मुक्त संसार’ हुन्छ भन्ने । त्यो लक्ष्यलाई पुरा गर्नका लागि आई पर्ने भौतिक कठिनाईहरू खुसीमा बदलिने रहेछन् । अहिले फेरी भौतिक रूपमा शुख छ । खान बस्न छ । दुस्मन आउलान भन्नु छैन । लडाई लड्नु परेको अवस्था छैन । फेरी पनि मानसिक चाप र दबाव छ । समाजमा राजनीतिक नेताहरू भएर बाहिर निस्क्यो भने पनि त्यो छोरी, श्रीमती, आमा, बुहारीलाई कसरी हेरिन्छ भन्ने कुराहरू त हामीले देखेका छौं । यस्तो समाजलाई परिवर्तन गर्नु छ । त्यो समाजलाई नकारात्मक कोणबाट होइन कि समाजलाई हामी प्रति कसरी आकर्षण गर्न सकिन्छ र समाजमा सकारात्मक चेतनाहरू ल्याउन सकिन्छ भनेर नै हाम्रो संगठन लागि परेको छ । हामीले समाजलाई थोरै समयमै रूपान्तरण गर्नु छ । महिलाहरूको समाजमा दोहोरो भुमिका फेरी चुनौतिपूर्ण छ । एकातिर राजनीतिमा प्रतिस्पर्धा गर्नु पर्ने छ भने अर्को तिर घरमा गृहणीको भुमिका निर्वाह गर्नु पर्ने अवस्था छ । अहिलेको परिस्थितिमा भौतिक सुख भए पनि मानसिक पीडा भएको देख्छु । हिजो युद्धकालमा जस्ले बन्दुक बोक्थे अहिले ति बैवाहिक परिस्थितिमा छन् । कसैले अन्र्तजातिय विवाह गरेका छन् कसैका छोरा छोरीहरू स्याहार्नु पर्ने अवस्था छ । यस्तो कालखण्डमा हामी गुज्रेका छौं । समाजमा घुलमिल हुन र गराउन चुनौतिपूर्ण कार्य हो । त्यो फेरी हामीले नै गर्नु पर्छ ।

  • अन्त्यमा जाँदा जाँदै छुटेको बिषय हाम्रा पाठक वर्गलाई केही छ ?

सबै बिषय आईसकेको छ । अहिलेको सञ्चार जगतको कारण महिलाहरू बिषेशतः पश्चिमका महिलाहरूलाई हामीले परिवर्तन गर्नु छ । चेतना फैलाउनु छ । विभिन्न राजनीतिक अभियानमा सामेल गराउनु छ । यो अन्र्तवार्तावाट महिलाहरूलाई राजनीतिक धारमा आउन र परिवर्तनको वाहक बन्न मद्दत गरोस् भन्ने शुभकामना दिन चाहान्छु । अन्र्तवार्ताको वातावरणका लागि टपलाइन खबर डट कमलाई धन्यवाद दिन चाहान्छु ।

(अन्तरवार्ताः सुमन क्षेत्री) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.