कार्तिक १ गतेदेखि बढ्यो कर्जाको ब्याजदर

दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका वाणिज्य बैंकहरूले अहिले धमाधम कर्जाको ब्याजदर बढाउन थालेका छन । निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत (कस्ट अफ फन्ड) बढेकाले कर्जाको ब्याजदर पनि बढाउनुपरेको भन्दै ऋणको ब्याज बढाउन लागेका हुन् ।

दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज कात्तिक १ (सोमबार) देखि बढ्ने जानकारी दिएका छन् । कान्तिपुरमा खबर छ ।

बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ ।

उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) कर्जाको ब्याजदर १ देखि २ प्रतिशत विन्दुसम्मले बढाएका छन् । यही बाहनामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् ।

एकै दिन ३/४ वटा बैंकले फोन गरेर भोलि (कात्तिक १ गते) देखि ब्याजदर बढ्ने सूचना दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

‘ती सबै बैंकको भाषा र ब्याजको वृद्धिदर समान छ,’ उनले भने, ‘यसबाट बैंकहरूले आपसी सहमतिका आधारमा समान दरले ब्याज बढाएको स्पष्ट हुन्छ ।’

ब्याजदरमा घटबढ स्वाभाविक भए पनि सबै बैंकले एकै दिनदेखि समान दरले बढाउनु स्वाभाविक नभएको उनले गुनासो गरे । बढदो ब्याजदरले लगानी निरुत्साहित गर्ने भएकाले ब्याजदरमा बैंकहरूले ‘सिन्डिकेट’ गर्न नहुने उनको तर्क छ ।

‘यस्तो प्रवृत्तिले समग्र अर्थतन्त्रलाई राम्रो गर्दैन,’ उनले भने, ‘बैंकहरूको व्यवहारबारे राष्ट्र बैंकले विशेष रूपमा हेर्नुपर्छ ।’
मुद्दती निक्षेप ८ प्रतिशतमाथि भएको अवस्थामा सामान्य रूपमा कर्जादर पनि बढाउन दबाब परेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल बताए ।

नेपालीहरूको ठूलो चाड दसैं र चालु आर्थिक वर्षको पहिलो त्रैमास अन्त्य भएकाले ब्याजदर वृद्धिका लागि यो समय उपयुक्त भएको उनको तर्क थियो ।

‘सबै बैंकहरूले एकैपटक ब्याजदर बढाउनु संयोगमात्र हो,’ उनले भने, ‘यसमा बैंकहरूबीच कुनै मिलोमतो छैन ।’ विगतमा सस्तो दरमा अल्पकालीन कर्जा प्रवाह गरेका बैंकहरूले निक्षेपको लागत बढेपछि अहिले व्यापारिक कर्जाको दर बढाउन थालेको उनले जनाए । ‘निक्षेपको ब्याज बढेसँगै कर्जाको दर बढ्नु स्वाभाविक हो,’ उनले भने ।

बैंकहरूले उच्च दरले कर्जाको ब्याजदर बढाउनु आवश्यक नरहेको नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले बताए । बैंकहरूमा निक्षेपको ब्याजदर बढे पनि अधिकांश निक्षेप सस्तो दरकै भएकाले अहिल्यै कर्जाको दर उच्च बनाउन नहुने उनको धारणा छ ।

‘करिब ६० प्रतिशत निक्षेप पुरानो दरको छ,’ उनले भने, ‘४० प्रतिशत निक्षेपको लागत मात्र बढेको हो ।’ निक्षेप लागत बढेको आधारमा अहिले बैंकहरूले एक प्रतिशत विन्दुभन्दा धेरैले ब्याजदर बढाउन नहुने उनले सुझाए । ‘विगतमा ५ प्रतिशत रहेको मुद्दती निक्षेप अहिले ८ प्रतिशत पुगेको छ,’ उनले भने, ‘कुल एकाउन्टको ब्याजदर पनि ४ बाट ८ प्रतिशत पुगेको छ र पनि कर्जाको ब्याजदर बढीमा १ प्रतिशत विन्दुभन्दा धेरै बढाउन जरुरी छैन ।’

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) मा कमी आएसँगै निक्षेपको ब्याजदर बढेको छ । गत वर्षको तुलनामा अहिले निक्षेपको ब्याजदर करिब दोब्बरले बढेको छ । सरकारी खर्च हुन नसकेर ठूलो रकम ढुकुटीमा थन्किएको, कर्जा प्रवाह उच्च दरले बढेको र त्यसको तुलनामा निक्षेप संकलन दर कम भएपछि बैंकहरूमा लगानीयोग्य रकम कम भएको हो ।

यस कारण बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) करिब ८० प्रतिशत नजिक छ । दसैं बिदाको अन्तिम दिनसम्म वाणिज्य बैंकहरूको यस्तो अनुपात झन्डै ७८ प्रतिशत थियो । तीमध्ये केही वाणिज्य बैंकहरूको सिडी रेसियो ८० प्रतिशतभन्दा माथि छ । सिडी रेसियोमा दबाब परेपछि केही बैंकहरूले दसैंअघि नै कर्जा प्रवाह गर्न छाडेका थिए ।

सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकको सिडी रेसियो झन्डै ७० प्रतिशतको हाराहारीमा रहन्छ । यसकारण वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ८० प्रतिशतभन्दा कम देखिएको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूको सिडी रेसियो ८० प्रतिशत कायम गर्नुपर्छ । उक्त अनुपात कायम राख्नका लागि बैंकहरूले निक्षेप बढाउनुपर्छ । त्यसकारण निक्षेपको ब्याजदर बढ्यो । निक्षेप लागत बढेपछि अहिले बैंकहरूले कर्जा ब्याजदर पनि बढाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.