बढुवाको सात महिनापछि हेडक्वाटरमा चार एआईजी

काठमाडौं – सर्वोच्च अदालतको आदेशमा बढुवा पाए पनि गृह मन्त्रालयमा हाजिर गर्दै आएका चार एआईजीको सरुवा प्रहरी प्रधान कार्यालयमा भएको छ ।

एआईजी यादव अधिकारी लगायतका चार जनाको बढुवा भएको सात महिनापछि प्रधान कार्यालयमा सरुवा भएको हो । सर्वोच्चको आदेशमा सरकारले उनीहरुलाई डिआईजीबाट एआईजीमा बढुवा गरे पनि हाजिर भने मन्त्रालयमा गराउँदा एआईजी अधिकारी, परशुराम खत्री, विश्वराज शाही र सुशीलबरसिंह थापा जिम्मेवारीविहीन थिए ।

गृहस्रोतका अनुसार उनीहरुलाई प्रधान कार्यालयमा हाजिर गराउन मंगलबार पत्र पठाएको छ । पत्रमा मन्त्रालयमा हाजिर गर्दै आएका उनीहरुलाई प्रधान कार्यालयमा हाजिर गराएर जिम्मेवारी तोक्न निर्देशन दिइएको थियो । सोही अनुसार चारैजना बिहीबारबाट प्रधान कार्यालयमा हाजिर हुँदैछन् ।
तीन वर्षअघि डिआईजीबाट एआईजीमा भएको बढुवा विवादमा तानिएपछि चारैजना डिआईजी सर्वोच्चमा रिट बोकेर गएका थिए । सुशील कोइराला नेतृत्वको सरकारले रिक्त सात पदको स्थानमा विशेष दुई पद बढाएर नौ जनाको बढुवा गरेको थियो ।

बढुवा सिफारिस समितिमै विवाद भएपछि लोकसेवा आयोगको नेतृत्वमा रहेको पुनरावलोकन समितिमा विवाद पुगेको थियो । समितिले बढुवा सिफारिस समितिले गरेको सिफारिस संशोधन गर्दै छुटेका गणेश राईसहितको बढुवा गर्न संशोधन सूची पठाएको थियो ।

पुनरावलोकन समितिको सूचीअनुसार बढुवा गर्दा राजनीतिक भागबन्डा नमिलेपछि दुई पद थपेर नौ जनाको बढुवा गरे पनि संशोधित सूचीमा अगाडि रहेका अधिकारीसहितका डिआईजी बढुवामा नपरेपछि सर्वोच्च गएका थिए । सर्वोच्चले उनीको पक्षमा फैसला गरे पनि करिब साढे २ वर्षपछि मात्रै उनीहरुको बढुवा भएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *