अंगीकृत नागरिकतादेखि हिन्दी भाषाबारे गृहमन्त्रीको यस्तो कडा अभिव्यक्ति

काठमाडौं, ४ मंसिर  । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनसँग जोडिएका विषयमा फैलाइएका हल्लाका बारेमा कडा अभिव्यक्ति दिएका छन् ।

सरकारी धारणा व्यक्त गदै गृहमन्त्रीले हिन्दी भाषालाई राष्ट्र भाषा बनाउने विवाद अनावश्यक भएको बताए ।

“यहाँ एकजनाले भर्खरै हिन्दीमा कविता सुनाउनुभयो, के उहाँलाई राष्ट्रघाती भन्ने ? हिन्दी भाषाको प्रयोग त भइरहेको छ, तर राष्ट्रिय भाषा हुँदैन ।” उनले भने । उपप्रधानमन्त्री निधिले हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने हल्लामा कुनै सत्यता नभएको बताए । “हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउने सरकारको कुनै योजना छैन,’ उनले भने ।

अंगीकृत नागरिकका बारेमा चलेको हल्लाको समेत निधिले खण्डन गरे । शनिबार नेपाल औषधि व्यवसायी संघको केन्द्रीय वार्षिक साधारणसभालाई सम्बोधन गर्दै निधिले संविधान संशोधन नचाहनेहरुले अंगीकृतका बारेमा अनावश्यक हल्ला चलाएको टिप्पणी गरे । उनले भने, “अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउने कुरा कहाँबाट आयो ? अंगीकृतलाई उच्च पद दिने कुरै भएको छैन ।’ निधिले संविधान संशोधनको आवश्यकता बिथोल्न सुनियोजित हल्ला चलाइएको भन्दै सचेत रहन आग्रह गरे । ‘संविधान संशोधनको खिलाफमा जो छ, उ संविधानको कार्यान्वयनको पक्षमा पनि छैन भन्ने बुझ्नुपर्दछ,’ उनको भनाइ थियो ।

संविधान कार्यान्वयन गराउन ०७४ माघ ७ गतेभित्रमा तीनवटा चुनाव गराउनैपर्ने बताउँदै निधिले त्यसो नभए संविधान धरापमा पर्ने उल्लेख गरे । उनले सरकारले सिमांकन, भाषासम्बन्धि विषय, राष्ट्रिय सभाको गठन, नागरिकतासम्बन्धिको विषयलाई समेटेर संविधान संशोधनको तयारी भइरहेको जानकारी दिए । एभरेष्ट दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *