को हुन् आज मन्त्री बन्न लागेका खड्का र सिंह

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथोपटक आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। प्रधानमन्त्री दाहाल अखण्ड पार्टी नेपालका अध्यक्ष कुमार खड्का र समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई मन्त्री बनाउँदै मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन्।

खड्काले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय र सिंहले खानेपानी मन्त्रालयको जिम्मेवारी पाउँदै छन्। यी दुवै मन्त्रालय प्रधानमन्त्री आफैँले सम्हाल्दै आएका छन्।

पटकपटक मन्त्री भएका सिंह यसअघिका दुवै सरकारमा थिए भने खड्का पहिलोपटक मन्त्री हुँदै छन्। राष्ट्रपति कार्यालयमा बिहीबार दिउँसो २ बजे खड्का र सिंहको शपथ कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।

को हुन् मन्त्री हुन लागेका सिंह र खड्का

प्रेमबहादुर सिंह

बिहिबार  हुन लागेका समाजवादी जनता पार्टीका सांसद प्रेमबहादुर सिंह नेपाली राजनीतिमा यस्ता पात्र हुन जो नयाँ सरकार बनेपछि सधैजसो मन्त्रीका लागि चर्चामा रहन्छन्। नेपाल मजदुर किसान पार्टीबाट राजनीतिक यात्रा थालेका उनी नेकपा एमाले, माले हुँदै समाजवादी जनता पार्टीमा आएका हुन्। पञ्चायत कालमा नै नेपाल मजदुर किसान पार्टी छोडेका सिंह एमालेका तर्फबाट राष्ट्रिय सभाको सांसद बनेका थिए। त्यतिबेलासमेत उनी मन्त्री भएका थिए। अहिले उनको पार्टीमा उनी बाहेक नाम सुनिएका नेता समेत छैनन्। पहिलो संविधानसभामा उनको पार्टीको एक सिट मात्रै थियो त्यो पनि समानुपातिक तर्फबाट। तर पनि उनी कानुन मन्त्री बनेका थिए। माधव नेपाल नेतृत्वको सरकारमा एक सिटेलाई समेत मन्त्री बनाइएको भन्दै त्यतीबेला सरकारको आलोचनासमेत भएको थियो। तिनै सिंहको पार्टीले दोस्रो संविधानसभाबाट पनि एक सिट जित्यो। त्यतीबेला उनी बिपक्षी मोर्चामा रहेका पुष्पकमल दाहालको साथ लागे। दाहाल नेतृत्वको मोर्चा र एमाले अध्यक्ष केपी ओलीबीचको झगडा उत्कर्षमा पुगेको बेला सिंहले ओलीलाई मानसिक सन्तुलन बिग्रिएको नेता भनेर प्रतिक्रियासमेत दिएका थिए। तिनै सिंह ओली नेतृत्वको सरकारमा समेत खानेपानी तथा सरसफाई मन्त्री बनेका थिए। सिंह दाहाल नेतृत्वको सरकारमा समेत फेरि मन्त्री बन्दैछन्। यसपटक पनि उनलाई खानेपानी तथा सरसफाईकै जिम्मा दिइन लागेको हो। एक सिट मात्रै भएर पनि तेस्रो पटक मन्त्री बन्न पाउने उनी एक्ला भाग्यमानी नेता हुन्।

पहिलो संविधानसभापछि बनेका ७ वटा दलीय सरकारमा उनी तेस्रो पटक मन्त्री बन्दैछन्।

कुमार खड्का

जातीय राज्य हुनु हुँदैन भन्दै क्षेत्री बाहुनको जातीय नारा बोकेर सांसद बन्न सफल भएका ब्यक्ति हुन् कुमार खड्का। दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक रूपमा अखण्ड नेपाल पार्टीका तर्फबाट उनी एक्ला सांसद हुन्। अध्यापन क्षेत्रबाट राजनीतिमा आएका खड्का हिन्दु धर्मका पक्षपाती हुन्। संघीय संरचनामा मुलुकलाई लैजादा जातीय राज्य हुनुहुँदैन भन्ने स्पष्ट अडान खड्काको पार्टीको छ। पहिलो संविधानसभामा अखण्ड नेपाल पार्टी दर्ता नै भएको थिएन। यो पार्टी २०७० साल जेठ ९ गते निर्वाचन आयोगमा दर्ता भएको हो। अखण्ड नेपाल पार्टीले अहिले सरकारले ल्याएको संविधान संशोधनको समेत बिरोद गर्दे आएको छ। ७ प्रदेश निर्माण गर्दा नै दुई नम्बर प्रदेशप्रती उसको असहमति रहदै आएको थियो। यीनै पार्टीका नेता खड्का आज पहिलो पटक मुलुकमा मन्त्री बनेर सिंहदरबार छिर्दैछन्। उनलाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मा दिन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *