काल्पनिक कथा होइन, साउदी जेल भोगाइको वास्तविक पीडा जब प्रचण्डले सुने…

काठमाडौ – साउदी अरबको जेद्दास्थित जेलमा सात वर्ष विनाकारण कैद सजाय भोगेर फर्किएका १० युवाले मंगलबार बालुवाटरमा पीडा सुनाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भावुक बने । उनीहरूले खेप्नुपरेको दुःख–कष्ट र शारीरिक यातनाको फेहरिस्त सुन्दै गर्दा प्रचण्डले उनीहरूलाई आश्वस्त बनाउन खोजे । तर, उपयुक्त शब्द फेला पार्न सकेनन् । केहीबेर अड्किँदै उनले भने, ‘अब म तपाईंहरूलाई के भनौँ, सम्झनुस् तपाईंहरूको माग पूरा गर्न म गम्भीर छु ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

एक भारतीय नागरिकको हत्या गरेको झुटो आरोपमा साउदीको जेद्दास्थित अदालतले विराटनगरका भीमप्रसाद चिमोरिया, भक्तबहादुर दर्जी, नवलपरासीका कृष्णबहादुर दर्जी, रसुवाका सोमबहादुर तामाङ, सुनसरीका चक्रबहादुर गुरुङ, तनहुँका केशबहादुर नेपाली, ओखलढुंगाका वीरबहादुर बुढाथोकी, नुवाकोटका रामबहादुर तामाङ, भोजपुरका श्रीकुमार राई, झापाका दीपेन्द्र शेर्मा र सुनसरीका उमेश श्रेष्ठलाई जेल सजाय सुनाएको थियो । जसमध्ये श्रेष्ठको चरम यातनाका कारण जेलमै मृत्यु भएको छ । उनको शव अझै बेपत्ता छ । उनीहरूलाई अदालतले सन् २०१० को फेब्रुअरीमा कैद सजाय सुनाएको थियो । तर, पछि उनीहरूमध्ये कोही पनि हत्यामा संलग्न नभएको पुष्टि भएको थियो । वैदेशिक रोजगारका क्रममा उनीहरू साउदीस्थित जेद्दा सहर पुगेका थिए ।

क्षतिपूर्तिका लागि पहल गरिदिन माग
मंगलबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका उनीहरूले सात वर्षसम्म विनाकारण शारीरिक तथा मानसिक यातना दिने साउदी सरकारसँग क्षतिपूर्तिका लागि पहल गरिदिन माग गरे । उनीहरू साउदी जेलबाट डेढ महिनाअघि मात्रै छुटेका हुन् ।

नेपाली दूतावासले पहल नगर्दा झुटो मुद्दामा जेल सजाय भोग्नुपर्‍यो
विराटनगर–५ का चिमोरियाले साउदीस्थित नेपाली दूतावासले पहल नगर्दा आफूहरूले झुटो मुद्दामा जेल सजाय भोग्नुपरेको गुनासो गरे । ‘हामीमाथि नामै नसुनेको व्यक्तिको हत्या आरोप लाग्यो । प्रहरीले पक्राउ गर्ना साथ अदालतले कैद सजाय सुनायो । हामी निर्दोष भएकाले दूतावाससमक्ष सहयोग माग्यौँ । तर, दूतावासले कुनै पहल गरेन । दूतावासले सहयोग गरेको भए हामीले कैद सजाय भोग्नै पर्दैैनथ्यो,’ उनले भने । चिमोरियाका अनुसार हत्या आरोपमा झन्डै चार सय नेपाली युवालाई पक्राउ गरिएको थियो । ‘बयानपछि अरू छुटे । हामी ११ भाइलाई हिरासतमा लिइयो । अदालतले तीनजनालाई दुई, दुईजनालाई तीन, अर्का दुईजनालाई चार र मसहित तीनजनालाई पाँच वर्ष कैद सजाय तोक्यो । तर, साउदी प्रशासनले सबैलाई सात वर्षसम्म जेलमै राख्यो,’ उनले भने

पहल गर्ने प्रधानमन्त्रीको आश्वासन
प्रधानमन्त्री प्रचण्डले घटना सम्बन्धमा अध्ययन गरी साउदी सरकारसमक्ष क्षतिपूर्तिको माग गरिने बताए । ‘तपाईंहरूले विनाकारण सात वर्ष कैद सजाय भोग्नुभयो । यो दुःखद् विषय हो । यस सम्बन्धमा अध्ययन गरिनेछ । क्षतिपूर्तिका लागि साउदी सरकारसमक्ष तुरुन्तै पहल गरिनेछ,’ प्रधानमन्त्रीले भने । प्रचण्डले यस घटनामा दूतावासका कर्मचारी दोषी देखिए उनीहरूलाई कारबाही गरिने बताए । ‘घटना सर्सर्ती सुन्दा दूतावासले पहल नगरेको देखियो । त्यसवेला को–को कर्मचारी त्यहाँ खटिएका थिए ? त्यसको फाइल मगाएर अध्ययन गरिनेछ । दोषी देखिएका कर्मचारीलाई कारबाही गरिनेछ,’ उनले भने ।

यातनाबाटै साथीको मृत्यु भयो (भीमप्रसाद चिमोरिया, पीडित)
म २०६० सालमा साउदी पुगेको हुँ । कुन मेनपावरबाट गएँ नाम बिर्सिएँ । अफिस सेक्रेटरी भनेर मलाई साउदी लगियो । तर, काम भने लेबरको गर्नुपर्‍यो । काम मन परेन । कम्पनी छाडेँ । अर्कैमा काम सुरु गरेँ । तलब राम्रै थियो । काम पनि ठीकै थियो । दुई वर्ष काम गरेँ । ऋण सबै तिरेँ । अलिअलि पैसा जोगिएको पनि थियो । घर फर्कन मन लागेपछि त्यसैको तयारीमा जुटेँ । २०१० को फेबु्रअरी महिना हो । दिन मैले बिर्सिएँ । म साथीको कोठामा थिएँ । रातको ११ बजे प्रहरीले छापा मार्‍यो । म पक्राउ परेँ । प्रहरीले हिरासत कक्षमा लग्यो । सोधपुछ गर्‍यो । कागजातमा हस्ताक्षर गर्न लगायो । अब छोड्ला भन्ने लागेको थियो । तर, जेलमा पो लगेर गयो ।

त्यसपछि बल्ल पो थाहा भयो, मलाई कसैको हत्या गरेको आरोप लागेको रहेछ । प्रहरीले बयान लियो । मैले घटना अस्वीकार गरेँ । उसले यातना दिन सुरु गर्‍यो । पैताला फर्काएर कुट्न थाल्यो । करेन्ट लगाउन सुरु गर्‍यो । म बेहोस भएँ । होस खुल्दा म कुनै अञ्जान कोठामा हुन्थेँ । यातना फेरि सुरु हुन्थ्यो । यसरी यातना भोग्ने मजस्तै अरू १० नेपाली पनि थिए । उनीहरू र मलाई लगाइएको आरोप एउटै थियो । त्यसमध्ये एकजनाको यातनाकै कारण मृत्यु भयो । उनको लास अझै पनि बेपत्ता छ ।

अदालतले पाँच वर्ष कैद सजाय तोकेछ । अदालतको फैसला विनाकसुर थियो । मैले दूतावासमा सम्पर्क गरेँ । तर, कुनै सहयोग भएन । दिन बित्दै गए । अदालतले फैसला गरेको कैद सजाय अवधि पनि सकियो । तर, प्रशासनले छाडेन । दूतावासमा खबर गर्‍यौँ, तर कोही भेट्न आएनन् । हामीलाई लाग्यो– जीवन अब यति नै रहेछ । यसरी सात वर्ष बित्यो । दूतावासको सम्पर्क भने टुटेको थिएन । पछिल्लोपटक भने दूतावासको संरचना फेरिएछ । हामीलाई छुटाउन पहल गर्‍यो । उसैको पहलमा डेढ महिनाअघि हामी नेपाल फर्कन सफल भयौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *