डिभी बन्द गर्ने बिधेयक अमेरिकी स‌ंसदमा पेश

एजेन्सी । अमेरिकाका दुई सिनेटरले संसदमा डाइभर्सिटी भिसा (डिभी चिठ्ठा) बन्द गर्ने विधेयक अमेरिकी संसदमा पेश गरेका छन् । सिनेटर टम कटन र डेविड पेरड्युले अमेरीकामा रहेको आप्रवासीको संख्या पचास प्रतिशतले कटौती गर्ने उदेश्यले यो विधेयक पेश गरेका हुन् ।

अहिले हरेक वर्ष १० लाखले बैधानिक रुपमा अमेरीकामा बसोबास गर्न पाएका छन् । अमेरिकी कंग्रेसको दुवै सदनबाट यो विधेयक पास भयो भने  बैधानिक रुपमा अमेरीका पुग्नेको संख्या घटेर ५ लाखमा झर्नेछ। यसबाट नेपालीहरु पनि प्रत्यक्ष रुपमा प्रभावित हुने देखिएको छ । डीभीमार्फत हरेक वर्ष नेपालबाट ६ हजारको संख्यामा अमेरीका प्रवेश गर्ने गरेका छन् ।

यो विधेयकको नाम अमेरीकी रोजगारलाई सशक्त पार्ने रहेको छ । जसअन्र्तगत डाइभर्सिटी भिसा (डिभी) बन्द गर्ने र पारिवारिक कोटा अन्तर्गत आफन्तलाई अमेरिकी बसोबासको वैधता दिने नियम रोक्नुपर्ने माग गरिएको छ ।

यसअघि सन् २०१२ मा रिपब्लिकन पार्टी नियन्त्रित तल्लो सदन, हाउसले डिभी बन्द गर्ने पक्षमा मतदान गरेको थियो । राष्ट्रपति ट्रम्पले पनि बिभिन्न कार्यक्रममा डिभी चिठ्ठा कार्यक्रम यसै वर्षदेखि बन्द गर्ने बताएका थिए ।

हृवाइट हाउसका प्रवक्ताले यो विषय तत्काल कुनै प्रतिक्रिया दिएका छैनन । यसबारे सदनमा छलफल भएपछि मात्र उनले बोल्ने बताएका छन् । राष्ट्रपति ट्रम्पको नीति पनि अमेरीकामा आप्रावासीको संख्या घटाउने भएकाले यो विधेयक पास हुने आंकलन गरिएको छ । जसबाट विश्वभरका देशका मानिसलाई  बैधानिक रुपमा अमेरीका प्रवेशमा अप्ठेरो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *