तनहुँका चार नगरमा त्रिपक्षीय प्रतिस्पर्धा

तनहुँ – स्थानीय तह निर्वाचनको चटारोले तनहुँका राजनीतिक दललाई छोइसकेको छ । तनहुँका व्यास, शुक्लागण्डकी, भिमाद र भानु नगरपालिकामा चुनावी कार्यक्रमसँगै राजनीतिक दलका नेतामा कसरी टिकट आफ्नो हातमा पार्ने भन्ने दौडधुप पनि चलिरहेको छ । तनहुँका स्थानीय निकायमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । त्यसैले तीनै पार्टीका जिल्लास्तरीय नेता केन्द्र, क्षेत्र र जिल्लाका प्रभावशाली नेतालाई प्रभावित पारी टिकट सुरक्षित गर्न लागिपरेका छन् । जिल्लामा रहेका चार नगरपालिकामध्ये सदरमुकाममा रहेको व्यास नगरपालिकामा आकांक्षी धेरै देखिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

व्यास नगरपालिका
कांग्रेसमा आकांक्षीको बाढी
कांग्रेस किल्लाको रूपमा रहँदै आएको व्यास नगरपालिकाकोको मेयरमा इच्छा प्रकट गर्नेमा युवादेखि पार्टी राजनीतिमा केश फुलाएकासम्म छन् । उनीहरू सबै आआफ्ना शक्तिकेन्द्रमार्फत आफ्नो बलियो उपस्थिति जनाइरहेका छन् । मेयरको उम्मेदवार बन्न वैकुण्ठ न्यौपाने, उर्मिला थापा, शान्तिरमण वाग्ले, समुद्र गोदार, अशोककुमार श्रेष्ठ र विश्व बाँस्तोला आकांक्षी देखिएका छन् । उपमेयरमा सरिता गुरुङ, मीरा जोशी, पवित्रा पौडेल र लक्ष्मीभक्त खनालको चर्चा छ । कांग्रेस जिल्ला सभापति वैकुष्ठ न्यौपानेले ठूलो पार्टी भएकाले आकांक्षीको संख्या धेरै देखिनु स्वाभाविक भएको बताउँदै सबैलाई चित्त बुझाएर सर्वसम्मत रूपमा उम्मेदवार चयन गरिने बताए ।

एमालेबाट कार्की, अधिकारी र श्रेष्ठको चर्चा
एमालेबाट मेयरमा श्रीराम कार्की, प्रदीप अधिकारी र मंगलप्रसाद श्रेष्ठको नाम अग्रपंक्तिमा छ । अन्य केहीले पनि आकांक्षा देखाएका छन् । तर, कार्की, अधिकार र श्रेष्ठमध्ये नै एकले मेयरको टिकट पाउने जिल्ला नेताहरूको भनाइ छ । धेरै अघिदेखि स्थानीय तह निर्वाचनको माग गर्दै आएको एमालेमा निर्वाचनको मिति घोषणासँगै चुनावी चहलपहल सुरु भएको हो । एमाले नेता–कार्यकर्ता जनताको घरदैलोमा पुगिसकेका छन् । अरूवेला कमै देखिने नेता–कार्यकर्ताको भीड एमाले पार्टी कार्यालयमा दिनहुँ देखिन्छ । निर्णय तहमा बसेका नेतालाई प्रभावमा पारी टिकट हात पार्न दौड लगाउनेको संख्या पनि ठूलै छ ।

 माओवादीबाट न्यौपानेद्वय आकांक्षी
सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्रबाट व्यास नगरपालिकाकाको मेयरको उम्मेदवार बन्न दुईजनाले आकांक्षा देखाएका छन् । अतिन्द्रकेशरी न्यौपाने र राजेन्द्रकेशरी न्यौपानेको नाम कार्यकर्ताको चर्चा माओवादी केन्द्र वृत्तमा सुनिएको छ । दुवैले आआफूलाई मेयरको बलियो दाबेदार देखाउन कार्यकर्ताबीच भेटघाटलाई बाक्लो बनाएका छन् । जिल्ला पार्टीका नेताहरूले भने अहिले आन्तरिक छलफल चलिरहेकाले निर्णय भइनसकेको भन्दै भित्री गृहकार्य चलिरहेको जानकारी दिएका छन् ।

शुक्लागण्डकी नगरपालिका
शुक्लागण्डकी नगरपालिकामा पनि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्दबीच नै मुख्य प्रतिस्पर्धाको सम्भावना देखिएको छ । शुक्लागण्डकीमा माओवादी केन्द्रबाट दिनेश गौतम, थुमबहादुर विक, बुद्धिसागर रिमाल, मुक्ति सिग्देल र विष्णु खत्रीको चर्चा छ । कांग्रेसका तर्फबाट कृष्णराज पण्डित, महेश भट्टराई र किसान गुरुङले मेयरको टिकट पाउन दौड लगाइरहेका छन् । एमालेबाट शेषमणि आचार्य, रामचन्द्र उपाध्याय, मुक्ति तिमल्सेना, रेखा थापा आकांक्षी छन् ।
 भिमाद नगरपालिका
भिमाद नगरपालिकामा एमालेका केदार सिग्देल र काजीमान श्रेष्ठको नाम चर्चामा छ । उनीहरूले पनि पार्टीभित्र लबिङ बढाएका छन् । कांग्रेसतर्पmबाट पुष्प पराजुली, चूडामणि खनाल र इन्दिरा खनालले मेयरमा आकांक्षा देखाएका छन् । उनीहरू कार्यकर्ताबीच पुगिरहेका पनि छन् । यस्तै, माओवादी केन्द्रबाट रामबहादुर थापा, अमृत सिग्देल, ध्रुव सुवेदी, कृष्णलाल विक र पदमराज सुवेदी मेयरको उम्मेदवार बन्न अग्रपंक्तिमा छन् । तर, कसलाई टिकट दिने भन्ने टुंगो लागिसकेको छैन ।
भानु नगरपालिका
भानु नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरको पदमा पाँचजना आकांक्षी देखिएका छन् । रघुनाथ पौडेल, उदयराज गौली, लक्ष्मी आचार्य, आनन्द त्रिपाठी र श्रीभद्र आचार्यको चर्चा कार्यकर्ताबीच छ । एमालेको तर्फका आकांक्षीमा एकबहादुर राना, विद्या ढकाल र भगवती न्यौपाने छन् । माओवादी केन्द्रबाट भने गीता शाही, सीताराम अधिकारी र कृष्णकुमार श्रेष्ठको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *