परियोजनामा लगानी बढाउन भारतसँग चेम्बरको आग्रह

ठूला परियोजनामा लगानी बढाउन भारतसँग चेम्बरको आग्रह

 साउन २, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई भारत सरकारसँग विभिन्न समयमा बिप्पा, पीडीए, पीटीएलगायतका सम्झौता भएका आयोजनालाई छिटो सम्पन्न गर्न आग्रह गरेको छ । राजदूत पुरीको स्वागतमा चेम्बरले सोमवार राजधानीमा आयोजना गरेको कार्यक्रममा दुई देशको सम्बन्ध आर्थिक विकासका बारेमा छलफल गरिएको थियो ।

चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले राजदूत पुरी समक्ष नेपाल भारत सम्बन्ध र व्यापार क्षेत्रको बारेमा जानकारी गराउँदै नेपालका जलविद्युत, पर्यटन र पूर्वाधार विकासमा लगानी बढाउन आग्रह गरेका छन् । उनले भारत सरकारले नेपालसँग गरेका सम्झौता कार्यान्वयनमा ढिलाइ हुने गरेको भन्दै ठूला र मेगा परियोजनाका काम अगाडि बढाउन आग्रह गरेका हुन् ।

नेपाल–भारत व्यापार विस्तारका लागि सीमाक्षेत्रको सडक तथा रेल सञ्जाल विस्तारमा विशेष ध्यान दिनुपर्नेमा चेम्बर पदाधिकारीले जोड दिएका छन् । उनीहरुले भारतसँग नेपालको सीमा जोडिएका उत्तरप्रदेश, उत्तराखण्ड, विहार, पश्चिमबङ्गालबाट सडक र रेल सञ्जाल विस्तार गर्नमा ध्यान दिनुपर्ने बताए । भारतबाट नेपाल आयात हुने मालवाहक ट्रकहरुको सीमापारी लामो लाइन लागेको भन्दै सीमा क्षेत्रको भौतिक पूर्वाधार निर्माण गरिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

कार्यक्रममा चेम्बर अध्यक्ष श्रेष्ठले भारतमा हालै लागू भएको वस्तु तथा सेवा कर (जीएसटी)को स्वागत गर्दै भारतीय मुद्रामा हुने नेपालको आयात–निर्यातबारे जीएसटीले गर्ने व्यवस्था स्पष्ट हुनुपर्ने बताएका छन् ।

चेम्बरले गरेको स्वागत र नेपाल भारत सम्बन्ध मजबुतीका लागि खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत पुरीले नेपालको आर्थिक विकासका लागि भारतको सधैं सहयोग रहने बताए । उनले भारतले नेपालका ठूला आयोजनामा लगानी गरिरहेको र पूराना आयोजनाका काम पनि अगाडि बढ्ने विश्वास दिलाएका थिए । भारतबाट आयात गरिने सामानका लागि जगनगरदेखि जनकपुरसम्मको रेसञ्चालनको काम अगाडि बढेको र अन्य क्षेत्रबाट रेल सञ्चालन गर्ने विषयमा काम अगाडि बढाउने तयारी भएको उनको भनाई थियो ।

नेपाल भारतवीच सदियौं देखिको सम्बन्ध र चेम्बरले खेलेको भुमिका सकारात्मक रहेको बताउँदै राजदूत पुरीले ठूला परियोजनाका लागि आफूहरु काम गर्न तयार रहको बताए । चेम्बरले चीनले अगाडि बढाएको ओबर परियोजनामा नेपाल सहभागि भएको भन्दै भारतले अगाडि बढाएको जापान हुंदै अफ्रिका जोड्ने परियोजनामा पनि सहयोगी हुन तयार रहेको बताइएको थियो । जवाफमा राजदूत पुरीले चीनले अघि सारेको पाकिस्तानको बाटो भएर जाने ओबरको अवधारणामा असुरक्षा रहेकाले भारत त्यसमा सहमत हुन नसकेको भन्दै भारतका लागि ओबरभन्दा एशिया अफ्रिका व्यापार मार्ग उपयुक्त रहने बताए ।

नेपालसँग उद्योग, पर्यटन, जलविद्युत र पूर्वाधार विकासमा भारतको सधैं साथ र सहयोग रहने र मिलेर अगाडि बढ्नेमा राजदूत पुरीले विश्वास दिलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.