नयाँ बीमा कम्पनी : धमाधम सञ्चालन अनुमति

काठमाडौं । जीवन बीमा कम्पनीको लाइसेन्सका लागि अर्थ मन्त्रालयबाट स्वीकृति पाएका १० मध्ये तीनओटा कम्पनीलाई बीमा समितिले सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) दिएको छ । अर्को एक कम्पनीको पनि प्रक्रिया अगाडि बढेको छ ।

बीमा समितिमा सोमवार अपरेटिङ लाइसेन्सका लागि सन नेपाल लाइफ इन्स्योरेन्सले फाइल दर्ता गरेको हो । उक्त कम्पनीको चुक्तापूँजीको अवस्था र कागजात छानबिन गरेर समितिको बोर्ड बैठकले लाइसेन्सबारे निर्णय गर्नेछ । यसअघि आईएमई लाइफ, ज्योति लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले तोकिएको २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याएर असार २० मा लाइसेन्स पाएका थिए ।

लाइसेन्स लिएका कम्पनीहरूले ६ महीनाभित्र आवश्यक पूर्वाधार निर्माण, कर्मचारी व्यवस्थापन, पुनर्बीमा करार, बीमाङ्कीको नियुक्तिलगायत शर्त पूरा गरेपछि मात्र व्यवसाय शुरू गर्ने प्रमाणपत्र पाउने समितिको नियमन विभाग प्रमुखका शम्भुराज लामिछानेले जानकारी दिए ।

‘लाइसेन्स पाएका कम्पनीले पुस २० सम्म व्यवसाय शुरू गर्ने अन्तिम स्वीकृति पाउने समय छ । तर, दशैंलगत्तै सबै शर्त पूरा गरेर काम थाल्ने बताएका छन्,’ लामिछानेले भने, ‘बाँकी कम्पनीले चुक्तापूँजी पुर्‍याएर समितिबाट लाइसेन्स लिनुपर्छ । सीईओको स्वीकृति पनि समितिले नै गर्छ ।’

६ ओटा कम्पनीले लाइसेन्सको प्रक्रिया अगाडि बढाउन बाँकी छ, जसमा  रिलायबल लाइफ, सिटिजन लाइफ, स्टार लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स पर्छन् ।

लाइसेन्सप्राप्तले गर्नुपर्ने काम

  • ६ महीनाभित्र मुख्य कार्यालयको स्थान र भौतिक संरचना
  • जोखीम मूल्याङ्कन र दाबी विभागमा तोकिएको योग्यता पुगेका व्यक्ति नियुक्ति
  • कर्मचारी सेवा र आर्थिक प्रशासन विनियमावली
  • बजार प्रवर्द्धन र पुनर्बीमासम्बन्धी कार्यविधि
  • सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी नियन्त्रण कार्यविधि
  • बीमा ऐन, नियमावली र समितिबाट जारी भएका सम्पूर्ण निर्देशन पालना गर्ने कबुलियतनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *