सालीको छोरो

लघु कथा / चूडा निर्भीक

रामबहादुरले भतिज सुरजीतलाई बाटोमा हिँड्दै गर्दा उनको घरतर्फ बोलाए । बुढाले खुईय्य सुस्केरा हाल्दै भने यो वीर बहादुर तेरै भाइ हो बाबु । अब तेरो भाइलाई तैंले नै लिएर जा तेरो घर । मैले वाइस वर्षको लाठे बनाएर पढाईमा पनि स्नातक बनाइदिएको छु । तिमीहरू तीन भाइ र एक वहिनी सुखपूर्वक रहनु । म जीवनबाट सन्यास लिएर भारततिर लाग्छु र उसको जिम्मेवारीबाट स्वतन्त्र हुन चाहन्छु ।

हैन सानो बुवा के भन्दै हुनुहुन्छ । मैले केही वुझिन । अनि हजुरको र सानीमाको छोरा मेरो भाइ नभएर अरु के हुन्छ त ? बरु खुलस्त भन्नुहोस् न के भन्न खोज्नुभएको हो हजुरले ?

तैंले अँझै वुझिनस् र बाबु यो तेरो बाबुको खून हो यसलाई उतै लगेर घरमासँगै राख्नु भनेको हो मैले । अब त बुझिस् होला नि ।

सुरजित अँझ अन्यमनस्क बन्दै भन्छ हैन सानोबुवा के भन्दै हुनुहुन्छ भन्या ? कतै वहुलाउन त थाल्नुभएन हँ ?

म बहुलाएको हैन बरु जवानीमा तेरो बाबु वहुलाएर तेरी कुमारी सानीमालाई गर्भ बोकाएर मेरो गरिबीमाथि खेलवाड गरी मेरो जिम्मा लगाएको नि ।

कसरी नि सानोबुबा ?

मेरो सन्तान जन्माउने शक्ति गुमेको थियो जुन कुरो म समाजमा उजागर गर्न चाहन्नथें । साथै मेरो गरीवीले मलाई मजाक गरेको थियो । तर अब मैले यो कुराबाट पार पाउने बेला आएको छ ।

अनि सानीमा कसरी बित्नुभएको नि ?

ऊ त्यो सिस्नेखोलाको किनारमा रहेको खनियाको रुखमा घाँस लिन गएका बखत रुखबाट लडेर उर्लदों सिस्नेको भेलमा परिन् । वीर बहादुरको माया र कर्तव्यले मैले जीवन फाल्न सकिन ।

त्यसो भए हजुरले मेरो बुबाको गर्भ सकारेर वीर बहादुरलाई पालेर ठूलो बनाउनु भएकै हो त ? कतै सानीमाको मृत्युमा पनि ….?

हैन के भन्छ उनी त मेरो जीवनकी आशा र खुशीको दीप थिइन् । परमात्माले चाँडै चुँडेर लग्यो ।

धन्य सानोबुबा हजुर त कलियुगको देवता पो हुनुहुँदोरहेछ । यति भन्दै फरक्क फर्किएर डाँडागाऊँ तर्फ आफ्नो घर गयो र हुक्का तान्दै गरेका जिम्मावाल बाबुलाई भन्यो तपाईंका कतिजना छोराछोरी ?

तँलाई थाह छैन तँ तेरो भाइ अनि बहिनी जम्मा ३ जना ।

अनि वीर बहादुर ? मेरी आमाबाट तपाईंको यौन प्यास मेटिएन ? बुढा कालोनिलो भए र बोले उ…उ…ऊ… त सालीको छोरो ।

अनि एकैछिन् सन्नाटा छायो र जिम्मावालले परलोकको बाटो तताए ।

चूडा निर्भीक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.