वरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

वरिष्ठ संगीतकार चन्द्रराज शर्माको आज बिहान निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी ७९ वर्षिय शर्माको राजधानीको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

झण्डै ९ सय गीतमा संगीत दिनुभएका शर्मा संगीत शिरोमणी यज्ञराज शर्मा र आमा हेमकुमारीको कोखबाट माइलो सन्तानको रुपमा जन्मिनुभएको थियो ।

उहाँलाई २०२२ मा रेडियो नेपालमा भएको शास्त्रीय संगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रले नेपाल कलाभूषण उपाधि प्रदान गर्नुभएको थियो । उहाँले २०३६ सालदेखि सँस्कृति विभागमा संगीत निर्देशकको रुपमा काम गर्नुभएको थियो । नेपालको पहिलो रंगिन चलचित्र कुमारीमा संगीत निर्देशन गर्नु भएका शर्माले श्रीस्वस्थानी र महाकवि देवकोटासहित चलचित्रमा पनि संगीत दिनुभएको छ ।

यसैगरी लक्ष्मण लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’, सुदेशराज शर्माले गाएको ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ’ बोलको कालजयी गीतका संगीतकार पनि चन्द्रराज शर्मा नै हुन् ।

‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा पनि संगीत निर्देशन गरेका छन् उनले । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा शर्माले त्यहाँ प्रदर्शित नाटक ‘नाम नभएको मान्छे र क्रशमा टाँगिएको जिन्दगी’ मा संगीत दिएका थिए ।

समिक्षक एवं लेखक प्रकाश सायमीका अनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनले संगीत दिएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *