नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा आज प्रस्तुत गर्दैछ । अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

अर्थमन्त्री खतिवडाले बजेटलाई उत्पादनमुखी बनाउने लक्ष्य लिएपछि सरकारले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन लागेको हो । सरकारले निर्वाचन घोषणा पत्रमा समावेश भएका कार्यक्रमलाई प्राथमिकता दिने बताएको छ ।

५ वर्षे स्थिर सरकारसँगै आर्थिक सम्बृद्धिको रटान लगाईरहेको सरकारले भौतिक पूर्वाधार विकास, राजगारी सृजना र उर्जालाई पहिलो प्राथमिकतामा राखेको छ । घोषणा पत्रमा राखिएको महत्वकांक्षी बृद्ध भत्ता सम्बन्धी योजना भने वार्षिक नीति तथा कार्यक्रममा समावेश नहुने अर्थमन्त्रालयले जनाएको छ ।

यसअघि चुनावी घोषणा पत्रमा प्रत्येक महिना ५ हजार रुपैयाँ बृद्धभत्ता दिने आश्वासन दिएका थिए । वितरणमुखी सो कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाको प्राथमिकतामा नपरेपछि सो महत्वकांक्षी योजना पुरा नहुने भएको हो ।

संघीय संसद सचिवालयले सरकारको नीति तथा कार्यक्रममाथि तीन दिन छलफलको समय छुट्याएको सहप्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो । सरकारले आज प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा आधारित भएर जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *