वर्ल्डकप फिभर

विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । त्यसैले ‘वर्ल्डकप फिभर’ पनि ह्वात्तै बढेकाे छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् ।

भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५ हजार किलोमिटर टाढा भए पनि विश्वकपको रौनकले नेपाललाई पूरै छोएको छ । त्यहाँ बर्सिने गोलले विश्वका दूरदराजसम्मका दर्शकको मुटुको धड्कन बढाउँछ । प्रतियोगिताको पूर्वसन्ध्यामा संसारभरका कैयौँ दर्शक आ–आफ्ना देशको समर्थनका लागि रुस पुग्ने तरखरमा छन् ।

उनीहरूले एक महिनाअघि नै आफ्नो सिट सुरक्षित गरिसकेका छन् । अन्य करोडौँ दर्शक घर–टोलमै रहेर टेलिभिजनको पर्दामा आफूलाई मन पर्ने टिमको समर्थनमा हुटिङ गर्ने तयारीमा छन् । विश्वकपमा कसले जित्छ भन्दै बाजी लगाउनेको संख्या पनि विश्वमा कम छैैन ।

नेपालमा विशेष गरी काठमाडौंलगायत सहरी क्षेत्रमा मन पर्ने टिमको जर्सी किन्नेको भिडभाड देखिन्छ । विश्वकपकै लागि नयाँ टेलिभिजन किन्ने पनि भेटिन्छन् । विश्वकपले सबै क्षेत्रका व्यक्तिको ध्यान मस्कोतिर तोनेको छ । विभिन्न क्षेत्रका सेलेब्रिटीले नयाँ पत्रिकासँग विश्वकप योजना सुनाएका छन् :

विद्यार्थीदेखि पाका नेतासम्ममा फुटबल क्रेज

विश्वकपले पाका नेतादेखि स्कुले विद्यार्थीसम्मलाई छोएको छ । कलाकारदेखि व्यापारीसम्मका बीचमा विश्वकपका नतिजाबारे अड्कलबाजी सुरु भएका छन् । सामाजिक सञ्जालमा विश्वकपकै बहस छ ।

विश्वकप लाइभको आनन्द लिन कतिपयले घरमै प्रोजेक्टर जोड्ने तयारी पनि गरेका छन् । नेकपाका नेता झलनाथ खना, कांग्रेस नेता रामचन्द्र पौडेलले घरकै टिभीमा विश्वकप हेर्ने योजना बनाएका छन् ।

राप्रपा नेता कमल थापाले भने नकआउट चरणका खेल प्रोजेक्टरमा हेर्ने तयारी गरेका छन् । गायक राजेशपायल राईले पनि केही दिनमै घरमै प्रोजेक्टर जोडेर विश्वकपको आनन्द लिने योजना बनाएका छन् ।

बढ्यो जर्सीको व्यापार

विश्वकप प्रतियोगिता नजिकिदै गर्दा नेपालमा ब्रान्डेड पसलदेखि फुटपाथसम्म जर्सीको व्यापार फस्टाएको छ । साहस स्पोर्टस्का सञ्चालक जनक न्यौपानेले पछिल्ला चार विश्वकपयता विभिन्न टिमका जर्सी व्यापार गर्दै आएका छन् ।

अघिल्लो विश्वकपमा सर्वाधिक जर्सी बिकेको उनको अनुभव छ । यसपटक पनि व्यापार कम छैन । अहिले जर्सी बेच्ने पसल बढेकाले एउटै पसलमा व्यापार कम भएको, तर समग्रमा पहिलेभन्दा बढेको उनको बुझाइ छ ।

यसपटक जर्मनीको जर्सी सबैभन्दा बढी बिकेको छ । दोस्रोमा अर्जेन्टिना र तेस्रोमा ब्राजिलको जर्सी बिकेका छन् । एसियाली देशको हकमा जापानको जर्सी बढी बिकेको न्यौपानेले बताए ।

नेता

मेरो मन पर्ने टिम ब्राजिल : झलनाथ खनाल, वरिष्ठ नेता, नेकपा

विश्वकपमा विश्वव्यापी रूपमा धेरै महत्वपूर्ण टिमहरूबीच प्रतिस्पर्धा हुन्छ । धेरै विशेषज्ञ चर्चित खेलाडीहरू प्रतियोगितामा सहभागी हुन्छन् । त्यसैले, विशेष महत्व दिएर हेर्छु । तर, अरू राजनीतिक काममा पनि व्यस्त हुनुपर्ने भएकाले सबै खेल हेर्न नभ्याउन सकिन्छ ।

विशष–विशेष म्याच भने जसरी पनि हेर्छु भन्ने योजना छ । खासगरी रसिया, जर्मनी, बेल्जियम, अर्जेन्टिना, ब्राजिलको खेल नछुटाई हेर्ने योजनामा छु । मन पर्ने टिम ब्राजिल हो, उसैले जितोस् भन्ने लागेको छ । खेलाडी भने धेरै चिन्दिनँ, त्यसैले, मेरो रोजाइका खास खेलाडी छैनन् ।

रोजाइको टिम अर्जेन्टिना, खेलाडी मेसी : सुवास नेम्बाङ, उपनेता, नेकपा

सदाझैँ विश्वकप घरमै परिवारसँग बसेर हेर्ने योजना छ । मेरो पहिलो रोजाइको टिम अर्जेन्टिना हो । अर्जेन्टिना, क्याप्टेन लियोनल मेसीको नेतृत्वमा प्रतिस्पर्धामा उत्रिँदै छ ।

त्यसैले, टिममा अर्जेन्टिना र खेलाडीमा मेसीप्रति मेरो पहिलो समर्थन छ । दोस्रो रोजाइको टिम ब्राजिल हो । तेस्रो स्पेन हो । यिनैलाई समर्थन गर्दै यसपटकको वल्र्डकपको ‘इन्जोय’ लिन्छु । यी टिममध्ये उपाधिचाहिँ अर्जेन्टिनाले नै जितोस् भन्ने मेरो चाहना छ ।

नयाँ देश उदाओस्, नयाँ पेले जन्मियोस् : ठाकुर गैर, युवा नेता, नेकपा

विश्वकपमा भाग लिने सबै टिमलाई जितका लागि नेपाल र मेरो तर्फबाट शुभकामना छ । दोस्रो, पुराना च्याम्पियनहरूको पक्ष/विपक्षमा समाज विभाजित हुने कुरा स्वभाविक छ । तर, यसपटकको विश्वकपमा कुनै नयाँ टिम च्याम्पियनको रूपमा उदाओस्, नयाँ परिस्थिति खडा होस् भन्ने मेरो चाहना छ ।

त्यसैले, म आजै फलानो देशको टिम भन्दिनँ । कम्तीमा सेमिफाइनअघि कुनै नयाँ देशको टिमले नयाँ तरिका देखाएर विश्वकपमा हलचल मच्चिने स्थिति बन्यो भने अरू देशका लागि प्रेरणा बन्नेछ । विश्वकपलाई नजिकबाट नियालिरहेको छु ।

स्टेडियममा रुसमै गएर हेर्न पाए हुन्थ्यो भन्ने चाहना छ, तर यसपटकको विश्वकप घरमै हेर्छु र पहिलो चरणको खेल हेरिसकेपछि रोजाइको टिमबारे धारणा बनाउने सोच छ । यसपटक नयाँ पेले जन्मियोस् भन्ने चाहना छ ।

टिममा जर्मनी, खेलाडीमा मेसी र रोनाल्डो मन पर्छ : कमल थापा, अध्यक्ष, राप्रपा

म पहिलेदेखि नै जर्मनीको समर्थक हुँ । त्यसैले, योपटक पनि जर्मनीलाई नै समर्थन गर्दै छु । मैले जर्मनीको प्रत्यक्ष खेल हेरेको छु । सन् १९८२ मा स्पेनमा भएको विश्वकप फाइनल प्रत्यक्ष रूपमा हेरेको थिएँ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षको हैसियतमा गएको थिएँ । फाइनलमा इटालीले जर्मनीलाई हराउँदै विश्वकप जित्यो । जर्मनी हार्दा दुःख लाग्यो ।

टिमको रूपमा जर्मनी मन पर्ने र उसैको सपोर्ट गर्ने भए पनि खेलाडी भने अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो मन पर्छन् । योपटकको विश्वकपका समूह चरणका खेलहरू घरमै हेर्ने प्लान छ । तर, नकआउट चरण आएपछि भने प्रोजेक्टरमा हेर्ने मन छ ।

छोरो रोनाल्डो, म मेसीको फ्यान : जनार्दन शर्मा, नेता, नेकपा

सानैदेखि फुटबल मन पथ्र्यो । स्कुल पढ्दा भलिबल खुब खेलिन्थ्यो । तर, फुटबलमा भने चासो भए पनि खेल्न सम्भव थिएन । विश्वकप आयो भनेपछि मेरो पनि ध्यान त्यतैतिर तानिएको छ । अर्जेन्टिना मनपर्छ, खेलाडी मेसी ।

मन परेको टिमको खेल छुटाउँदिनँ । घरका परिवार र साथीभाइसँग बसेर हेर्ने योजना छ । छोरो (प्रकाश) रोनाल्डोको फ्यान हो । त्यसैले, उनी पोर्चुगलको फ्यान हुन् । फुटबलमा रुचि भएकै कारण नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको स्टेडियम बनाउनुपर्छ भन्ने सोचेको छु ।

म्याराडोनाले फुटबल हेर्ने बनाए : पम्फा भुसाल, नेत्री, नेकपा

मलाई सबैभन्दा मन पर्ने खेल नै फुटबल हो । अर्जेन्टिनाका म्याराडोनाले खेलेको देखेर फुटबलप्रति क्रेजी भएकी हुँ । उनकै उत्ताराधिकारीजस्तै बनेर अहिले मेसी आएका छन् । म अर्जेन्टिनाको फ्यान नै हुँ । तर, जर्मनीको पनि नराम्रो छैन ।

आयोजक राष्ट्र रसिया एसियामा पर्ने भएकाले रसियाले जित्दा पनि दुःख मान्दिनँ । विश्वकपमा तेस्रो विश्वका राष्ट्र पनि सहभागी भएका छन् । फुटबलका तेस्रो मुलुक जापान, दक्षिण कोरियाले जित्दा पनि खुसी हुन्छु । भौगोलिक निकटताले पनि जित्दा खुसी नै हुन्छु । परिवार र छिमेकी परिवारसँग बसेर हेर्ने योजना छ ।

मेसीले खेलेको देख्दा लोभ लाग्छ : देवेन्द्र पौडेल, नेता, नेकपा

स्कुल पढ्दा भलिबल धेरै खेलियो । उतिवेला गाउँतिर फुटबल खासै चलेको थिएन । पछि फुटबलको क्रेज बढ्दै गएपछि हेर्न थालियो । भलिबलपछि फुटबल नै बढी मनपर्छ । वल्र्डकपमा मैले मन पराउने खेलाडी मेसी हुन् । उनको खेल प्रस्तुति असाध्यै मन पर्छ । खेलेको हेर्दाहेर्दै लोभ लागेर आउँछ । परिवार र मिल्ने साथीहरूसँग बसेर हेर्नुपर्ला ।

राम्रो खेल्नेलाई समर्थन गर्छु : रामचन्द्र पौडेल, नेता, कांग्रेस

फुटबलमा रुचि छ । योपटक पनि केही खेल हेर्छु । विश्वकप चल्दै गएपछि कुन टिमको खेलाडी मनपर्छ उसैलाई समर्थन गर्छु । यसअघि पनि आफूलाई मन परेको टोलीको खेल घरमै बसेर हेरेको थिएँ । योपटक पनि घरमै परिवारसँग बसेर हेर्ने योजनामा छु ।

सेमिफाइनपछि छुटाउँदिनँ : प्रदीप पौडेल, नेता, कांग्रेस

मलाई विश्वकप लागिसकेको छैन । योपटक सेमिफाइलनपछि मात्रै सबै खेल हेर्छु । चर्चितबाहेकका म्याच हेर्दिनँ । कुन टिमलाई समर्थन गर्ने भन्ने सोच पनि अहिलेसम्म छैन ।

सेमिफाइनलसम्म पुग्दा उत्कृष्ट खेल्ने देश र खेलाडी पनि आउँनेछन्, त्यसपछि कुन टिमको समर्थन गर्ने भन्ने सोच्नुपर्ला । २०१४ को विश्वकपमा ब्राजिललाई समर्थन थियो । तर, सेमिफाइनमा जर्मनीसँग ७–१ पराजित भएपछि फाइनलमा अर्जेन्टिनालाई समर्थन गर्दै बाजी पनि राखेको थिएँ ।

जर्मनी र अर्जेन्टिना भिड्दा १८–२० जनाबीचको दुई–तीन हजार रुपैयाँको सामूहिक बाजी खाजा खाएर सकायौँ ।

पहिले जिनेदिन जिदान हुँदा फ्रान्सको समर्थन गरेँ । तर, पछि अर्जेन्टिना, ब्राजिलतिर लागियो । योपटक सेमिफाइनलपछि छिट्टै हुँदा होटेलमा र राति अबेरसम्म हुँदा साथीहरूसँग मिलेर घरमै विश्वकप हेर्ने तयारीमा छु ।

फुटबलमा ब्राजिल भनेको ब्राजिल नै हो : उदयशमशेर राणा, नेता, कांग्रेस

म इंग्ल्यान्डको समर्थक थिएँ । इंग्ल्यान्डको इपिल पनि बढी हेरिन्थ्यो । लिभरपुलको पनि फ्यान पनि हुँ । लिभरपुलका सलाहको टिम इजिप्ट पनि मन पर्छ । तर, यो टिम अलि कमजोर छ । इंग्ल्यान्डको चान्स कम देखेर यसपटक ब्राजिललाई समर्थन गर्छु ।

किनभने ब्राजिलमा नेयमार, कोटिन्होजस्ता राम्रा खेलाडी पनि छन् । फुटबलमा ब्राजिल भनेको ब्राजिल नै हो । मध्यरातबाहेक योपटक लिग चरणदेखि नकआउट चरणका खेलहरू सकेसम्म छुटाउँदिनँ । घरमै, होटल, बार, रेस्टुराँ, साथीहरूको घर जहाँ मिल्छ त्यहीँ योपटक विश्वकप फुटबल हेर्छु ।

ब्राजिलको समर्थन फिर्ता लिएको छैन : नैनसिंह महर, अध्यक्ष नेविसंघ

म परम्परागत रूपमै ब्राजिलको समर्थक हुँ । किनभने, ब्राजिलमा पेलेदेखि पछि रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो हुँदै अहिले पनि नेयमार, काउटिन्होजस्ता राम्रा खेलाडी छन् ।

त्यसैले, यो विश्वकपमा पनि ब्राजिलकै समर्थन गर्छु । पहिले–पहिलेजस्तै योपटक पनि साथीहरूसँग होटल, रेस्टुराँमा गएर फुटबल हेर्ने योजनामा छु ।

विश्वकप चलिरहँदा नेपालले पनि कहिले विश्वकप खेल्ला, ब्राजिल र अर्जेन्टिनाजस्तो कहिले बन्ला भन्ने लाग्छ । हाम्रो देश विश्वकपमा भएको भए अलग्गै गौरव हुन्थ्यो । देशको अन्तर्राष्ट्रियकरण पनि हुन्थ्यो, तर हामी अरू देशको समर्थन गर्न बाध्य छौँ ।

मन पर्ने टिम ब्राजिल, खेलाडी मेसी र रोनाल्डो : केशव झा, नेता राजपा

मलाई पहिलेदेखि नै मन पर्ने टिम ब्राजिल हो । पेले निकै मन पर्थे । पछि रोनाल्डो, रोनाल्डिन्हो मन परे, अहिले नेयमार छन् । त्यसैले, टिमको रूपमा ब्राजिलले विश्वकप जितिदिए हुन्थ्यो भन्ने लाग्छ ।

खेलाडीका रूपमा अर्जेन्टिनाका मेसी र पोर्चुगलका रोनाल्डो मन पर्छन् । यी दुवैको खेल्ने शैली असाध्यै मन पर्छ । ब्राजिलले नजित्दा यी दुईमध्ये एक टिमले जिते पनि खुसी नै हुन्छु ।

कलाकार

कमजोर टिमलाई मेरो समर्थन : करिस्मा मानन्धर, अभिनेत्री

हुन त म फुटबलको त्यति ठूलो फ्यान होइन । खासमा क्रिकेट मनपर्छ । जे होस् विश्वकप फुटबल पनि साथीहरूसँग बसेर हेरिन्छ । यसपटक सबैभन्दा कमजोर टिमलाई समर्थन गर्छु । कमजोर पनि अगाडि आउनुपर्छ भन्ने मेरो मान्यता हो ।

कसैले उपहार दिए अर्जेन्टिनाका जर्सी लगाउँछु : राजेश पायल राई, गायक

मेरो समर्थन अजेन्टिनालाई हो । पहिले–पहिले नजानेर समर्थन गरियो, अहिले धेरै बुझेर नै फ्यान भएको छु । पहिले बाटिस्टुटाहरू थिए, अहिले मेसीहरू छन् । टिमवर्क राम्रो छ, ट्रफी उचाल्न सक्ने सम्भावना देख्छु । अर्जेन्टिनाको ड्रेस किनेरै त लगाउँदिनँ, कसैले उपहार दिए लगाउँछु ।

केही दिनभित्रै घरमै प्रोजेक्टर जोड्छु होला, साथीभाइसँग बसेर घरमै हेरिन्छ । २००२ मा सिंगापुरमा थिएँ, त्यहाँ पनि साथीहरूसँगै बसेर हेरियो । सर्त थियो, जसको टिमले हार्छ, उसले बिल तिर्ने । त्यतिवेला मैले नाइजेरियाको समर्थन गरेको थिएँ र अचम्म तरिकाले नाइजेरियाले जितेको थियो । बिल तिर्नु परेन ।

ब्राजिललाई समर्थन गर्छु : दिपाश्री निरौला, निर्देशक/अभिनेत्री

अहिले मेरो टार्गेट छक्का पञ्जा–३’ मै छ । म त्यसैको विश्वकपमा छु अहिले । तर, मेरो समर्थन ब्राजिललाई हुन्छ । अर्जेन्टिना र ब्राजिलमा दुईवटा राजाहरू छन्, नेयमार र मेसी । त्यस्ता ठूला खेलाडी भएको राष्ट्रले विश्वकप जित्नुपर्छ भन्ने लाग्छ । त्यसो त नेपाल नै विश्वकपमा पुगेको हेर्ने रहर छ । त्यो दिन आयो भने चाहिँ मजाले हेर्नेछु ।

अनि, आधा तलब हारेँ : पल शाह, अभिनेता

म रोबिनको ठूलो फ्यान हुँ । त्यसैले, मनपर्ने टिम नेदरल्यान्ड हो । तर, दुर्भाग्य अहिले विश्वकपमा नेदरल्यान्ड छैन । अब यसपटक एसियाली राष्ट्रलाई समर्थन गर्छु, विशेष गरी कोरिया र जापानलाई । हार्न त हार्लान् तर, एसियाली राष्ट्रलाई नै समर्थन हुनेछ ।

मनपर्ने खेलाडी भने मेसी हो । उनले गोल्डेन बुट जितून् । २०१० को विश्वकपमा म साथीहरूसँग दशरथ रंगशालामा खेल हेर्न गएको थिएँ । त्यतिवेला साथीहरू ब्राजिलको समर्थनमा थिए, ब्राजिलले हारेपछि स्पेनतिर लागेँ ।

मैले भने नेदरल्यान्डको समर्थन गरिरहेँ । त्यतिवेला मेरो तलब २० हजार थियो । साथीहरूलाई भनेको थिएँ, नेदरल्यान्डले हा-यो भने मेरो आधा तलबले तिमीहरूलाई खुवाउँछु । नभन्दै हा-यो, आधा तलब साथीहरूको नाममा खर्च गरियो ।

अर्जेन्टिना पनि मनपर्छ, तर ब्राजिलले जितोस् : शम्भुजित बाँस्कोटा, संगीतकार

ब्राजिल र अर्नेन्टिना मलाई मनपर्ने टिम हुन् । अहिले ब्राजिललाई साथ दिने हो । पाँचपटक विश्वकप जितेको इतिहास ब्राजिलको छ । अर्जेन्टिनी टिमको अनुशासनबाट धेरै प्रभावित छु । खेलाडीको हकमा भने खेल हेरेपछि समर्थन गरौँला ।

त्यसो त एसियाली देशहरूलाई पनि मेरो समर्थन हुन्छ । नेपाली पनि विश्वकपमा पुगेको हेर्न मन छ । एसियाली देशहरूलाई पनि मेरो समर्थन रहनेछ । मेरै जीवनमा यो दिन आओस् । विश्वकप सधैँ साथीभाइसँग बसेर हेर्छु, तर बाजी कहिल्यै लगाउँदिनँ ।

अर्जेन्टिनाको फ्यान हुँ : भुवन केसी, अभिनेता

पहिलेदेखि नै अर्जेन्टिनाको समर्थन गर्दै आएँ । म्याराडोनाको ठूलो फ्यान थिएँ, अहिले मेसीको खेल्ने तरिका पनि खुब मनपर्छ । उसको बल छल्ने, स्कोरिङ गर्ने तरिका मन पर्छ । उसले खुट्टामा आइपुगेको बललाई कहिल्यै मिस गर्दैन ।

अरू खेलाडीजस्तो एग्रेसिभ पनि छैन । र यसपटकको विश्वकप राम्रो टिम भएकाले अर्जेन्टिनाले जित्न सक्छ । अघिल्लोपटक पनि फाइनलमा पुगेको कारणले जित्न सक्छ । त्यसो त एसियाली राष्ट्र सहभागी म्याच हुँदा, उसलाई समर्थन गर्छु । नेपालले पनि एकदिन विश्वकप जित्नुपर्छ भन्ने चाहना छ ।

जर्मनीको सदाबहार समर्थक : ऋचा शर्मा, अभिनेत्री

यसपटक मात्रै होइन, विगतदेखि मेरो समर्थन जर्मनीलाई रहँदै आयो । पहिले लहलहैमा लागेर हेरियो र अहिले बुझेर हेर्छु । मेरो जर्मनीलाई यो कारणले पनि समर्थन हुन्छ कि मेरो पहिलो विदेश भ्रमण पनि जर्मनी नै हो । जर्मनीको मिरोस्लाभ क्लोज, मारियो गोट्जेको फ्यान हुँ ।

खेलाडीको हकमा भने पोर्चुगल मनपर्छ, रोनाल्डोको फ्यान हुँ । उसको पर्सनालिटी, गुड लुकिङ र खेल्ने तरिका पनि मन पर्छ । एक किसिमको चार्म छ, ऊसँग । अट्याकिङ पनि राम्रो छ । सामाजिक काममा पनि सक्रिय छ ।

विश्वकपको ओपनिङ म जहाँ रहे पनि हेर्छु । अन्य खेलहरूमा अपडेट हुनेछु । जर्मनीको खेल छुटाउँदिनँ । विश्वकप हेर्दाको गजबको अनुभव पनि छ । २०१० मा हामी एउटा रेस्टुरेन्टमा खेल हेरिरहेका थियौँ । आफ्नो टिमले हार्दा रुवाबासी नै चलेको थियो ।

खेल क्षेत्र

नेपालमा विश्वकप रौनक

विश्वकप फुटबल विश्वभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् ।

भौगोलिक दुरीमा नेपालबाट झन्डै ५ हजार किलोमिटर टाढा हुने विश्वकपको रौनकले नेपाललाई पनि कम छुँदैन । त्यहाँ बर्सिने गोलले विश्वका दूरदराजसम्मका दर्शकको मुटुको धड्कन बढाउँछ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा संसारभरका कैयौँ दर्शक आ–आफ्ना देशको समर्थनका लागि रुस पुग्ने तरखरमा छन् । उनीहरूले एक महिनाअघि नै आफ्नो सिट सुरक्षित गरिसकेका छन् ।

अन्य करोडौँ दर्शक घर टोलमै रहेर टेलिभिजन हेर्दै आफूलाई मन पर्ने टिमको समर्थनमा हुटिङ गर्ने तयारीमा छन् । विश्वकपमा कसले जित्छ भन्दै बाजी लगाउनेको संख्या पनि विश्वमा कम हुँदैन ।

नेपालमा विशेष गरी काठमाडौंलगायत सहरी क्षेत्रमा मन पर्ने टिमको जर्सी किन्नेहरूको भिडभाड देखिन्छ । विश्वकपकै लागि नयाँ टेलिभिजन किन्नेहरू पनि भेटिन्छन् । विश्वकपले सबै क्षेत्रका व्यक्तिलाई मस्कोतिर आकर्षित गरेको छ । नेपालका विभिन्न क्षेत्रका सेलेब्रिटीले नयाँ पत्रिकासँग विश्वकप योजना सुनाएका छन् :

खेल क्षेत्र

नयाँ टिभी किनेँ : हरिबहादुर रोकाया, ओलम्पियन

अरूलाई जस्तै मलाई पनि विश्वकप रौनकले छोपेको छ । मजाले हेर्ने भनेर नयाँ एलइडी टिभी किनिसकेँ । अर्जेन्टिनाको फ्यान हुँ, तर कसले जित्छ भन्ने अनुमान लगाउन सक्ने अवस्था भने छैन ।

मेरो समर्थन ब्राजिललाई : ज्ञानेन्द्र मल्ल, उपकप्तान, राष्ट्रिय क्रिकेट टिम

विश्वकप सुरु हुन्छ, अनि हेर्दै जाँदा योजना बनाउँदै जानुपर्ला । योपटक क्रिकेट टिमको कुनै प्रतियोगिता नभएकाले पनि विश्वकप फुटबलका धेरै म्याच हेर्ने सोच छ । मेरो समर्थन ब्राजिललाई छ, जित्ने विश्वास पनि छ । राम्रा खेलाडी भएकाले सर्वाधिक दाबेदार छ ।

मेसीको फ्यान हुँ : दीपक श्रेष्ठ, कराते प्रशिक्षक

अर्जेन्टिनालाई विगतदेखि नै समर्थन गर्दै आएको छु । म्याराडोनाबाट प्रभावित भएर अर्जेन्टिनालाई समर्थन गर्दै आएँ, अहिले मेसीको फ्यान हुँ । तर, एसियन टिमले फाइनलसम्मको यात्रा तय गरोस् भन्ने कामना पनि छ । मुख्य खेलहरू लाइभ हेर्ने सोच छ । हुन त, एसियन खेलको क्लोज क्याम्पका लागि पोखरामा छु, त्यसैले यता पनि असर नपर्ने गरी म्याचहरू मिलाएर हेर्नुपर्नेछ ।

जर्मनको झन्डा घरमै फहराउँछौँ : कान्छीमाया कोजू, एथलेटिक्स खेलाडी

मैले फुटबल बुझ्न थालेपछि नै जर्मनको सपोर्टर हुँ । मेरो परिवार नै जर्मनको पक्षमा हुन्छ । हामी त घरको दुई तला ढाक्ने गरी जर्मनको झन्डा टाँग्छौँ, जर्सी नलगाउने त कुरै भएन । घरका सबै सदस्य सँगै बसेर एलइडी टिभीमा मजा लिइन्छ । म त टोलै थर्किने गरी हुटिङ गर्छु । विश्वास छ, योपटक पनि उपाधि जित्छ ।

अर्जेन्टिनाले जितिदिए हुन्थ्यो : इमबहादुर मगर , कप्तान, राष्ट्रिय भलिबल टिम

फुटबल मन पर्ने खेल हो । पहिलेदेखि नै विश्वकप हेर्दै आएको हो । खासगरी अर्जेन्टिना र ब्राजिलको खेल छुटाउँदिनँँ । गत सिजनमा फाइनलमा पुगेर हारेकाले यसपटक अर्जेन्टिनाले नै उपाधि जितिदेओस् भन्ने लागेको छ । अर्जेन्टिनाको सर्ट पास मनपर्छ ।


नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *