५ दिनभित्र देशभर मनसुन सक्रिय हुने, औसत वर्षा हुने प्रक्षेपण

काठमाडौं । नेपालमा मनसुन भित्रिइसके पनि देशभर सक्रिय हुन अझै केही दिन लाग्ने भएको छ । मौसमविद समीर श्रेष्ठका अनुसार जुन १५ तारिखभित्र मनसुन देशभर सक्रिय हुने बताए ।

जेठ २५ गते अर्थात ८ जुनदेखि पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरेको थियो । नेपालमा सामान्यतया १० जुनमा प्रवेश गर्ने गर्दछ । तर वर्षको मनसुन दुई दिनअघि नै शुरू भएको छ ।

मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ विस्तार हुने क्रममा छ । मनसुन सुरु भएको एक साताभित्र देशभर सक्रिय हुन्छ ।’

मनसुनमा सामान्य वर्षा हुने अनुमान

नेपालमा साधारणतया जुन महिनादेखि सेप्टेम्बर महिनासम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ ।

यस वर्षको मनसुनमा नेपालको अधिकांश भूभागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताए । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको करिब ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।

सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ । सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *