दाहाललार्इ द्वन्द्वका घाइतेको प्रश्न : ‘नयाँ पार्टीले के गर्छ?’

काठमाडौं : मकवानपुर बगैया -८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।

माओवादीले घोषणा गरेको आमहड्ताल सफल बनाउने योजनामा लाग्दा सुरक्षाकर्मीको बमको छर्रा लागेर उनी घाइते भए। त्यसपछि उनी प्रक्राउ परे। सुरक्षाकर्मीले चितवनस्थित भरतपुरस्थित मेडिकल कलेजमा ल्याएर उनको उपचार गराएको थियो।

त्यस घटनामा उनका दुवै हात गुमे, दुवै आँखा गुमे। अहिले उनी सहयोगीको सहारामा हिंड्ने, डुल्ने गर्नुपर्छ। शनिबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पनि छोरीको सहारामा पुगेका थिए।

नेकपा अध्यक्ष पुष्पकमल दाहालसँगको भेटघाटका लागि पेरिसडाँडा पुगेका न्याचोरले आफूजस्तै युद्ध-घाइतेहरूसँगै बसेर आप्mना पीडा सुनाए, ‘अध्यक्षज्यू, हामीले जीवन कसरी निर्वाह गर्ने ? ’

उमेरले उनी अहिले ४१ वर्ष भए। काठमाडौं भीमसेन गोलामा उनी श्रीमती, चार छोरीहरूसहित भाडाको कोठामा बसेका छन्। दाहालसँगको भेटमा आफूले राखेका गुनासो सुनाउँदै उनले अन्नपूर्णसँग भने, ‘नक्कली घाइतेहरूले विभिन्न विश्वविद्यालय र स्कुलमा आप्mना छोराछोरी पढाउन छात्रवृत्ति पाएका छन्। मेरा पनि चार छोरी छन्, कहींकतै छात्रवृत्ति पाएको छैन। खर्च जुटाउन नसकेर पढाइ छुटाउनु परेको छ। तर हामीजस्तो वास्तविक घाइतेहरूको बेहाल छ, यसमा पार्टीले के सोचेको छ ? ’

दाहालले विगतमा घाइते, अपांग तथा बेपत्ता र सहिद परिवारका सदस्यलाई प्रमाणपत्र दिने योजना सुनाएका थिए। न्याचोरले दाहालका अगाडि त्यही प्रसंग उठाए, ‘तपाईंले बेपत्ता, सहिद परिवार र घाइते अपांगलाई विशिष्ट प्रकारको प्रमाणपत्रको व्यवस्था गरी जीवन निर्वाहको बाटो बनाइदिने बताउनुभएको थियो, त्यो योजना कहाँ पुग्यो ? ’

जयबहादुर तात्कालीन माओवादी युद्धका त्यस्ता पात्र हुन्, जसलाई घाइते अवस्थामा पक्राउ परेपछि पानी माग्दा सुरक्षाकर्मीले पिसाब खुवाएका थिए। अहिले उनलाई राज्यले जीवन निर्वाह भत्ता भनेर ६२ सय र उनका सहयोगी लाई थप ६२ सय गरी १२ हजार ४ सय रूपैयाँ उपलब्ध गराउँदै आएको छ। तर उनको परिवार त्यो पैसाले जीवन निर्वाह गर्ने अवस्थामा छैन।

अभावै-अभावको जिन्दगी उनको परिवारले काठमाडौंको महगीसँग अहिले साटिरहेको छ। फुटपाथको व्यापार समेत उनको परिवारले बाँच्नकै लागि गरिरहेको छ। तर अहिले उनलाई त्यसको पनि चिन्ता थपिएको छ। ‘महागनरपालिकाले फुटपाथ हटाउने भन्दैछ, त्यो भयो भने हाम्रो झन् बेहाल हुन्छ,’ अध्यक्ष दाहालसँग उनले भने, ‘फुटपाथ पसल पनि हट्यो भने हाम्रो गुजारा चल्दैन।’

उनी अहिले राजनीति फटाही गर्नेहरूका लागि मात्र भएको ठान्छन्। ‘म आजीत नै भइसकें, कति धाउनु ? ’ उनले भने,-‘सरकार फेरिएपिच्छे हामीले आप्mना समस्याबारेमा ज्ञापनपत्र बुझाउँदै आएका छौं, सबैले तपाईंहरूको मागमा हामी संवेदनशील छौं भन्नुहुन्छ। तर केही हुँदैन, आश्वासन मात्र हामीले पाउँछौं।’

उनी मात्रै होइन, अन्य घाइतेहरूको अवस्था पनि उस्तै छ। शनिबार झण्डै ६ दर्जन युद्ध-घाइते तथा अपांगहरू नेकपा अध्यक्ष दाहाललाई भेट्न पेरिसडाँडा पुगेका थिए। दाहाल युद्धको नेतृत्व गरेको तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष समेत हुन्।

घाइते-अपांगका प्रतिनिधिहरूले पूर्वप्रधानमन्त्री समेत रहेका दाहालसँग पार्टीले आफूहरूलाई युद्धमा उपयोग गरेको र सत्तामा पुगेपछि मिल्काइदिएको गुनासो पोखेका थिए।

संखुवासभा मादी नगरपालिका-४ का अर्का घाइते निमा नोर्बु शेर्पाले भने, ‘आप्mनै भन्ने पार्टीले हामीलाई बेवास्ता गर्‍यो।’ शेर्पा भोजपुरको रिपिटर टावर आक्रमणका क्रममा घाइते भएका थिए। ०५९ साल फागुन १९ मा भएको घटनामा उनको हात नचल्ने भएको हो।

अहिले उनी बौद्धमा आफन्तसँगको सहारामा छन्। ‘सेवासुविधा पाएकाले निरन्तरता पाउनुपर्ने, नपाएकाहरूको हकमा पुनर्मूल्यांकन हुने गरी निर्देशिका बनाउन हामीले अध्यक्षलाई आग्रह गर्‍यौं,’ उनले अन्नपूर्णसँग भने।

तत्कालीन माओवादी युद्धका कमान्डर रहेका दाहाल गणतन्त्रपछि दुई पटकसम्म प्रधानमन्त्री पनि बने। तत्कालीन माओवादी पार्टी पटकपटक सरकारमा सहभागी भयो। दाहालले तत्कालीन एमालेसँग चुनाबी गठबन्धनसँगै पार्टी एकता समेतको नेतृत्व गरे। अहिले इतिहासमै शक्तिशाली भनिएको पार्टीका उनी एक अध्यक्ष छन् र अर्का अध्यक्ष केपी ओलीको नेतृत्वमा नेकपाकै सरकार छ।

पेरिसडाँडा पुगेका घाइते-अपांगले भने युद्धमा आफूहरू पार्टीको निर्देशनमा मर्न-मार्न तयार भएको तर पार्टी सरकारमा पुगेपछि आफ्ना पीडाहरू सुन्न तयार नभएको दुःख व्यक्त गरे।

काभ्रे नमोबुद्ध नगरपालिका- २ का घाइते भोला अर्यालले भने, ‘हिजो पार्टीकै निर्देशनमा हामी लडेका हौं, आज पार्टीले हाम्रो चित्त दुःखाएको छ। अहिले त हामीले गुनासो मात्रै पोख्न पाउछौं, हाम्रा समस्या समाधान हुँदैनन्।’

भोला अर्यालको युद्धकै बेलामा दायाँ हात मात्र गुमेन, दायाँ खुट्टा पनि नचल्ने भयो। २०५४ सालदेखि तत्कालीन माओवादी युद्धमा हिंडेका उनी २०५८ को सोलखुम्बुको सल्लेरी आक्रमणमा घाइते भए। घाइते उनलाई रेडक्रस र स्थानीयको सहयोगमा उपचार गरियो। तर उनलाई प्रहरीले प्रक्राउ गर्‍यो। त्यसपछिका १८ महिना उनले कालकोठरीमा बिताए। राज्यले भोलालाई एकमुष्ठ १ लाख रूपैयाँ दियो। अहिले उनले प्रतिमहिना मासिक ७ हजार रूपैयाँ पाइरहेका छन्। उनी काभ्रेको साविक माओवादी जिल्ला कमिटिको सचिवालय सदस्य पनि हुन्। घाइतेहरूले आफ्ना पीडा प्रस्तुत गरिरहेका बेलामा अध्यक्ष दाहाल पनि भावुक भएको सहभागीले बताए। ‘अध्यक्ष पनि स्तब्ध हुनुहुन्थ्यो,’ नोर्बुले भने, ‘उहाँले घैला भरेर पानी बोक्न नसक्दा घाइते÷अपांगको अवस्था दयनीय हुन पुगेको भन्दै समस्या समाधान गर्न अब आफू लाग्ने बताउनुभयो।’

पूर्व एमाले र पूर्व माओवादी मिलेर शक्तिशाली नेकपा बनेपछि घाइते-अपांगका समस्या पनि समाधान हुने भन्दै अध्यक्ष दाहालले उनीहरूलाई आश्वस्त हुन आग्रह गरे।

‘हामीले आधा गाग्री पानी बोकर हिंड्दा छचल्कियो, गाग्री पूरै भरेर बोक्नै पाएनौं। त्यही हुँदा समस्या आएको हो। अब पार्टी एकता भएको छ, बलियो सरकारमा पार्टी छ। गाग्री भरिएको छ, अहिले पनि गर्न सकेनौं भने कहिल्यै सक्दैनौं’, दाहालको भनाइ उद्धृत गदै नोर्बुले भने।

सर्लाही हरिपुर नगरपालिका-१ का केदार खत्री अर्का घाइते हुन्। काभ्रेको पनौती आक्रमणमा २०६१ पुसमा उनी घाइते भए। उनलाई गोली लागेको थियो। त्यस घटनामा खुट्टाको नसा छिनेको उनको खुट्टा लुलो छ। बैशाखीको सहारामा हिंड्नुपर्ने अवस्थामा उनी छन्। खत्रीले जनमुक्ति सेनाबाट बहिर्गमनमा जाँदा पाएको रकमबाहेक कुनै सुविधा पाएका छैनन्।

उनी तात्कालीन सर्लाही जिल्लाको सहइन्चार्ज थिए। निर्वाचनमा बागी उम्मेदवार दिएका कारण अहिले पार्टीले उनलाई कारवाही गरेको छ। ‘पार्टीमा पैसावालहरूको बोलाबोल हुन थाल्यो, निरन्तर लागेकाहरू ओझेलमा परे, त्यो सहन नसकी बागी उम्मेदवारी दिएँ’, उनले भने, ‘तर पार्टीले कारवाही गर्‍यो, त्यसपछि निरन्तरता दिन सकिन।’

प्रतिनिधि घाइते-अपांगका कुरा सुनेपछि अध्यक्ष दाहालले उनीहरूलाई सांगठानिक रूपमा मजबुत भएर आउन आग्रह गरे। ‘सांगठनिक रूपमा एकजुट हुनुभयो भने तपाईंहरूका माग सम्बोधन गर्न दबाब पर्छ, नीतिगत काम गर्न पनि सकिन्छ,’ दाहालको भनाइ उद्धृत गर्दै एक सहभागीले भने, ‘गृह मन्त्रालयमाफर्त अब समस्या समाधानका लागि पहलकदमी लिन्छु।’

तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रबीच पार्टी एकता भएपछि पहिलोपटक दाहालले पूर्वमाओवादी सम्बद्ध घाइते-अपांगलाई भेटेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *