स्पेनलाई पेनाल्टीमा हराउँदै रसियाले रच्यो इतिहास

काठमाडौँ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै विश्वकपको अन्तिम १६ बाट बाहिरिएको छ ।

गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रुस पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित भएको हो ।

सन् २००२ मा पनि स्पेन आयोजक दक्षिण कोरियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो । विश्वकपमा स्पेनले चारमध्ये एक मात्र पेनाल्टी सुटआउट जितेको छ ।

यसअघि निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा सकिएको थियो ।

सर्जी इग्नासेभिचले आत्मघाती गोल गरेपछि खेलको १२ औँ मिनेटमा नै स्पेनले अग्रता लिएको थियो ।

तर, त्यसपछि रुसले केही सुधारिएको खेल प्रदर्शन गर्यो । पहिलो हाफ सकिन लाग्दा जेरार्ड पिकेले डि–एरियामा बल हातले छोएपछि रुसले पेनाल्टी पायो ।

अर्टेम जुबाले पेनाल्टीमा गोलकिपर डेभिड डि गेयालाई झुक्याउँदै गोल गरेर खेल बराबरी भए ।

खेलको दोस्रो हाफमा स्पेनले आफ्नो पोजेसन गेम जारी राख्यो भने रुसले काउन्टर अट्याकमा स्पेनमा दबाब बनाइराख्यो ।

खेलको अन्त्यतिर स्पेनका इनियेस्टाको प्रयास रुसका गोलकिपरले सुन्दर बचाउ गरेका थिए ।

तर, दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गर्यो ।

अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

रुसले अब डेनमार्क र क्रोएसियाबीचको विजेतासँग क्वाटरफाइनलमा भिड्नेछ ।

आजको खेलअघि स्पेन पछिल्लो २३ खेलमा अपराजित रहेको थियो ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *