सुदुरपश्चिमको प्रमुख चाड गौरा पर्व

तारादत्त भट्ट

काठमाडाै भदाै २०।   सुदूरपश्चिमेलीहरुको बिशेष गौरापर्व बिधिवत रुपमा शुरु भएको छ । घर आगँन रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएका छन् । झण्डै एक महिना पहिले देखी महिला, पुरुषहरुले डेउडा खेलको गाउँ गाउँमा रौनक छाएको छ । दमाह, झ्याली लगायत पञ्चेबाजाको धुन गाउँ गाउँ, बस्ती बस्तीमा गुञ्जयमान भएको छ । पञ्चमीको दिन घर घरमा पञ्चगेडा भिजाएर तामाको भाडोमा ( बिरुडा ) राखिएको छ । परापुर्व कालमा भगवान शिवलाई पाउनका लागि गौरा देवी अथवा पार्वतीले निराहार आध्यात्मिक नित्य आराधाना गरेको विश्वासका आधारमा गौरापर्व मनाइन्छ । परापुर्व कालमा भएको गौरा र महेश्वरको विवाहको सम्झनाका रुपमा धुमधामको साथ यो पर्व सुदूरपश्चिम भरी मनाउने परम्परा चल्दै आएको छ । महिलाले आफ्नो अटल सौभाग्य समृद्घि सन्तान र परिवारमा सुख शान्तिका लागि ब्रत बसी गौरा देवीको पुजा आजा गर्ने गर्दछन । ब्रत बसी शिव र गौरीको पुजा आजा गर्नाले सुख शान्ति प्राप्त हुने, इष्टकुल देवता प्रसन्न भई मनोकाङ्क्षा पुरा हुने जनविश्वास रहेको पाईन्छ ।

पञ्च बिरुडा राखिने परम्परा अनुसार पञ्च अन्न तयार पार्ने काम गरिन्छ । पञ्चमीका दिन गाउँ टोल भरीका महिलाहरु भेला भै पाँच प्रकारका अन्नगेडा ( केराउ, गुरुस, गहत, मास र गँहु ) मिसाएर तामाको भाडोमा राखी कतै मन्दिरमा गएर, कहि गाउँकै एक घरमा नै सगुन र फाग गाउदै भिजाएका बिरुडा षष्ठिका दिन पानिको मुहानमा लगि धुने गरीन्छ । सप्तमीका दिन गाउँकै चेलीबेटीहरुले आधा बाटोमा गएर गौरा देवीलाई माईत बोलाएर ल्याउने र बिबाहित महिलाहरुले भित्राउने प्रचलन छ । षष्ठिका दिन धोएका बिरुडा सप्तमीका दिन गौरा संगै मन्दिरमा राख्ने र अष्टमी ( अठवाली )का दिन भरी नाच गान गर्ने, दामाहा, झ्याली लगायतका पञ्चेवाजाहरु बजाउँने र महिलाहरुले गौरा खेलाउँदै सगुन र फाग गाउँदै नजिकका मन्दिरहरुमा गौरा लाई ल्याई सोही बिरुडाले पुजा गर्दै गौरा खेल्ने गरिन्छ । सप्तमीका दिन विधिवत् रुपमा बाटिएका दुब्धागो र सप्तमी गौराको आचलमा बाधिदिने र अष्टमीको दिन सबै ब्रतालु महिलाले गौरा देवीको प्रसादका रुपमा बर्ष भरीका लागी गलामा बाध्ने गर्दछन । सो धागो अर्को बर्षको गौरा अष्टमीकै दिन फुकालेर पानी मुलमा या कुनै पवित्र स्थानमा लगेर सेलाउने गरिन्छ । पुजा गरी बाँकी रहेका बिरुडा सबै ब्रतालु र अन्य टोल भरी प्रसादका रुपमा बाड्ने र सो बिरुडा ब्रतालुहरुले आ आफ्ना आफन्तहरु र सन्तानहरुको टाउको पुज्ने र आशीर्वाद दिने चलन समेत रहेको छ ।

बैतडी जिल्ला सुर्नया गाउँपालिकामा रहेको रौलाकेदार भाराण, सुरुपाल, सन्शेर खाला लगायत सबै गाउँपालिका र नगरपालिकाहरुको मन्दिरहरुमा गौरापर्वको बिशेष चहलपहल हुने गर्दछ । यो बाहेक दार्चुला जिल्लामा रहेका लेकम, मार्मा क्षेत्रका लटिनाथ, हुनैनाथ, गलैनाथ भगवति लगायतका बिभिन्न शक्तिपिँठहरुमा गौरापर्वको अवसरमा मेला लाग्दै आएको छ । गौरापर्वको मुख्य दिन अष्टमी ( अठवाली ) परेपनि एक हप्तासम्म खेडी, धोडी, लमधोडी लगायतका पर्वहरु बिभिन्न स्थानमा मेला लगाएर रमाईलो गर्ने, पञ्चेबाजाहरु बजाउने, डेउडा खेल्ने लगायतका गतिबिधिहरु हुने गर्दछन । गौरापर्व लाई धार्मिक महत्वका साथै आफन्तजन, घरपरिवार सबैसंग भेटघाट हुने सुख दुःख साटासाट गर्ने अवसरका रुपमा समेत लिने गरिन्छ । गौरापर्वकै पुर्व सन्ध्यामा दार्चुलाको लेकम क्षेत्रमा महिला पुरुषहरुले ठाडो खेल, डेउडा खेल, ढुस्कु लगायतका खेलहरु खेलेर रमाइलो गर्ने गर्दछन ।

सुदूरपश्चिम क्षेत्रमा गौरापर्वको अवसरमा एक हप्ता सम्म विद्यालय, सरकारी कार्यालय, संघ संस्थाहरुमा सार्वजनिक र स्थानिय विदा समेत दिने गरिन्छ । गौरापर्वको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको समेत आयोजना हुने गर्दछन् । गौरापर्व बिशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र भारतको कुमाउँमा पनि भब्यताका साथ एक हप्ता सम्म मनाईने गरिन्छ । सुदूरपश्चिममा गौरापर्व भाद्र शुक्ल पञ्चमी देखि अष्टमी सम्म मनाईने गरेकोमा गौरापर्वको बिशेष दिन अष्टमी (अठवाली) को अवसरमा काठमाण्डौको टुडीखेल लगायत देशका बिभिन्न सहरहरुमा समेत डेउडा खेल्ने लगायतका बिभिन्न कार्यक्रमको आयोजना गरी गौरापर्व मनाउन थालेको पाईन्छ । गौरापर्व सुरु भएसंगै ७ नम्बर प्रदेशका पहाडी जिल्लाहरु बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्लाहरुमा गौरापर्वको चहलपहल निकै बढेको छ । अहिले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका कफलकोट लगायत सबै गाउँ घर तिर घरहरु रातो माटोले लिपपोत गर्ने, सरसफाई गर्ने, बजारबाट नयाँ नयाँ लुगाहरु र बिभिन्न सामाग्रीहरुको किनमेल गर्ने क्रम बढेको छ ।

आफुले खानु भन्दा अगाडी नयाँ अन्न मन्दिरमा चडाउने दिन हेरेर घरघरको ढोकाहरुमा धानको वाला लगाएर स्थानिय भाषमा ( नौकलई ) पर्व मनाइएको छ । ( नौकलई ) कै दिनदेखी घरहरु लिपपोत गर्ने क्रम शुरु भएर पञ्चमीका दिन गौरापर्वको पञ्च बिरुडा भिजाइएको हो । बैतडी र दार्चुला लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा भब्यताका साथ मनाइने गौरापर्वमा कामको शिलशिलामा घरबाहिर रहेकाहरु घर आउने क्रम बढेको छ । बिदेशीएका युवाहरु गाउँमा आएपछि घरघरमा खुसीको सञ्चार भएको छ ।

बैतडी, दार्चुला, कञ्चनपुर लगायत जिल्लाको भारतसंग सिमा जोडिएका स्थानहरुबाट घर आउनेहरुको संख्या बढेको हो । दार्चुलाको खलंगा, तिग्रम, उकु, जौलजीबि लगायतका झोलुङगे पुलहरु तथा बिभिन्न ठाउँमा तुईन र ट्युबको प्रयोग गरेर समेत गौरापर्वको लागि स्थानियहरु भारतबाट स्वदेश आउने गरेका छन । यस्तै बैतडी र दार्चुला जिल्लाको सीमावर्ती क्षेत्र भारतीय बजार झुलाघाट, धार्चुला, पिथौरागढमा मजदुरी गर्ने नेपालीहरु पनि गौरापर्वका लागि घर फर्कन थालेका छन । सुदुरपश्चिमका पहाडी जिल्लामा बिशेष रुपमा मनाईने गौरापर्वका लागि कामको शिलशिलामा घर बाहिर रहेकाहरु पनि घर फर्कने चलन रहेको छ । गौरापर्वको सबैमा शुभकामना

                  लेखक

                  तारादत्त भट्ट
                 अध्यक्ष
        बैतडी–काठमाण्डौ संघीय जनसम्पर्क मञ्च 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.